६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

डढेलोले पाइप जलाएपछि गाउँभर खानेपानीको हाहाकार

गाउँ छिर्न लागेको आगो निभाउँदै स्थानीय बालबालिका। तस्बिर: महेश्वर/नागरिक

केही दिनअघि आगलागीमा परेर ध्वस्त बनेको उदयपुरको लिमचुङबुङ गाउँपालिका-५ जाँतेमा खानेपानीको हाहाकार मच्चिएको छ।

जङ्गलको डढेलोबाट फैलिएको आगोले स्थानीय २६ घरधुरी पीडित परिवारको घर गोठ मात्र नभई पानीको पाइप समेत जलाएपछि गाउँमा खानेपानीको हाहाकार मच्चिएको हो।

वैशाख ८ देखि १८ गतेसम्मको निरन्तरकाे आगलागीले जङ्गल भएर ल्याइएको पाइप लाइन सबै जलाएपछि गाउँमा खानेपानी अभाव भएको वडाध्यक्ष कविचन्द्र राईले जानकारी दिए।

उनका अनुसार डढेलोले स्थानीय गोगने खोला, खकिङ खोला र अन्य सिममा मुहान थापेर गाउँसम्म ल्याइएको पाइपलाई जलाएको छ। पाइप जलेपछि हिम्मा, धुकुर्थुम, लोख्रिम, डाङ्सिन्टार, भार्केका अग्नि पीडितहरु खानेपानीबाट वञ्चित हुन पुगेका छन्।

दोस्रो पटक गत १७ गते बिहानदेखि फैलिएको डढेलो गाउँ पस्दा लुख्रिम, हिम्मा, भोब्लुङ, धुकुर्थम, भार्के र मिनासिखाका २२ घर, मतान, गोठ जलेर नष्ट भएको थियाे। जसमध्ये १४ परिवारको घरसहित सबै धनमाल जलेर व्यापक क्षति भयाे। बाँकी ११ परिवारको गोठ, बाख्रा र कुखुरा खोर लगायतमा क्षति पुगेको छ।

३६ घण्टाकाे अवधिभित्र डढेलोबाट सल्किएको आगोले स्थानीय हिम्माका भीमबहादुर कार्की, मदनबहादुर खड्का, वीरबहादुर खड्का तथा लोख्रिमका कटकबहादुर कार्की, नरबहादुर राई र जितबहादुर थापाको घर मतान र गोठ जलेको थियो।

त्यसैगरी धुकुर्थुमकी सरिता राई, नवराज खत्री, जसजित राई, डिगराज राई र अमृतकुमार राईको घर जलेको थियो। धुकुर्थुम लाटीटारका नरबहादुर राईको गोठ जल्दा २ बाख्रा मरेका थिए।

सोही डढेलोले छिमेकी गाउँ डाङ्सिन्टारका हिरा विकको घर र छविलाल विकको गोठ जलेको थियो। त्यही डढेलो फैलिँदै गएर टोड्केका रंगबहादुर विकको गोठ जल्दा ४ वटा खसी मरेका थिए।

उता मिनासिखाका अमृत तामाङ, मेतरमान कार्की र गम्भीरजङ कार्कीको घर पनि उक्त डढेलोले भ्याएको थियो। भार्केका तेजुमाया तामाङको मतान, मानबहादुर तामाङको मतान र गोठ, गंगाबहादुर तामाङ र रमेश तामाङको गोठ पनि सोही दिन राति जलेर नष्ट भएका थिए।

आगोले सबैभन्दा बढी मदन खड्काको २३ लाख ४५ हजार बराबरकाे क्षति भएको छ। खड्काको ३ तोला सुन, ४ लाख ५० हजार नगद, ३० तोला चाँदीसमेत जलेको जनाइएको छ।

त्यस्तै दोस्रो ठूलो क्षति भीमबहादुर कार्कीको अन्नपातसहित केही ताेला सुन, ५० हजार नगद, १० तोला चाँदी र कटकबहादुर कार्कीको २ वटा बाख्रा र १७ हजार नगदसहित घरभित्रका सम्पूर्ण धनमाल जलेको वडाध्यक्ष राईले बताए।

अग्नि पीडितहरूको १ लाखदेखि १२ लाखसम्मको क्षति पुगेको गाउँपालिकाले जनाएको छ। गाउँपालिका उपाध्यक्ष पुष्पलाल राईले आगलागीबाट सो वडामा ५ करोडभन्दा बढीको क्षति पुगेको बताएका छन्।

त्यसअघि वैशाख ८ गते मात्र सोही वडाको चौलानेमा पनि डढेलोकै आगो फैलिएर बदरलक्षी राई, वयानसिंह राई र कुमार राईको घर, मतान, गोठ र खोर जलेर नष्ट भएको थियो।

गाउँपालिकाले प्रारम्भिक राहत प्रदान गरेको जनाएको छ। सामान्य १ बोरा चामल र एउटा त्रिपाल तथा थाल बटुका राहत दिइए पनि खानेपानी नै नभएका कारण अग्निपीडितहरू अत्यन्त कष्टपूर्ण जीवन बाँच्न बाध्य भएको स्थानीयले बताएका छन्।

डढेलोले जताततै उराठ र उजाड अवस्थामा खुल्ला आकाशमुनि चर्को घाम सहेर भोक भोकै बस्न बाध्य पीडितहरु खानेपानी पनि नपाउँदा जीवन मरणको स्थिति सिर्जना भएको पीडित कटक कार्कीले बताए।

पीडितहरूलाई रेडक्रस सोसाइटी र जिल्ला दैवी प्रकोप उद्धार कोषबाट सामान्य राहत उपलब्ध भएको छ। तर, यत्ति राहतले कुनै अर्थ नराख्ने भएकाले गाउँपालिकाले ‘शंकटग्रस्त वडा’ घोषणा गरेर थप राहतका लागि सार्वजनिक आव्हान गरेको छ।

उपाध्यक्ष राईका अनुसार थप राहतका लागि सरोकारवाला सबै पक्षसँग औपचारिक आग्रह गरिएकाे छ। गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा विनियोजित चालु वर्षको रकम सबै वितरण भइसकेकाले सहयोग माग्नुको विकल्प नरहेको पनि उपाध्यक्ष राईले बताए।

प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले विपत् कोषमा रकम नभएका कारण खाद्यान्न लगायत प्रारम्भिक चरणको राहत सामग्री सबै उधारो लिएर पीडितहरूलाई वितरण गरिएको बताए। उनले थप राहत व्यवस्थापन गर्न कर्मचारी, जनप्रतिनिधि र सहयोगदाताहरुसँग आग्रह गर्ने काम भइरहेको सुनाए।

डढेलो जताततै फैलिएर अन्यत्र पनि क्षति गरिरहेको छ। १९ गतेका दिन ४ नं. वडा बलम्ताका २ ठाउँमा ४ घर परिवारको घर गोठ नष्ट भएको वडाध्यक्ष छत्रबहादुर राईले जानकारी दिए।

उनका अनुसार बलम्ता नारुङ्काका धनकुमार राई, जयराम राई र हर्कसेर राईको घर, गोठ नष्ट भएको छ भने लाकुका चेक्सन राईको गोठ जलेर क्षति पुगेको छ। सो घट्नाको भने आइतबार मात्र सर्जमिन मुचुल्का गर्नेगरी प्रहरी बोलाइएको वडाध्यक्ष राईले बताए।

चारतिर डढेलोले गाउँबस्ती जोखिममा पारेपछि गाउँपालिकाले स्थानीयवासीलाई परिचालन गर्दै प्रहरीसमेतको सहयोग लिएर आगो नियन्त्रणको काम गरिरहेको छ।

आगो निभाउन स्थानीय युवा, महिला, विद्यार्थी बालबालिका, शिक्षक, कर्मचारी, जनप्रतिनिधिलगायत सबै तह र तप्कालाई जुटेर गाउँ बचाउने काम भइरहेको हाकिम गुरुङले बताए।

प्रकाशित: २३ वैशाख २०८१ १८:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App