५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

स्काभेटर पल्टिएपछि सिद्धिचरण लोकमार्ग अवरुद्ध

बीच सडकमा खसेको स्काभेटर। तस्बिर : नागरिक

बीच सडकमा स्काभेटर पल्टिएपछि सिराहा र उदयपुरलाई माथिल्लो सगरमाथासँग जोड्ने सिद्धिचरण लोकमार्ग आइतबार बिहानदेखि अवरुद्ध छ। कटारी नगरपालिका ११ स्थित  मिर्चया–कटारी–घुर्मी खण्डको ठाँटी भञ्ज्याङमा पल्टेको स्काभेटरले लोकमार्ग अवरुद्ध पारेको हो।

स्थानीय कुमार प्याकुरेलका अनुसार बिहान ७ः०० बजेजस्तो समयमा कटारीदेखि घुर्मीतर्फ लगिँदै गरेको स्काभेटर उकालोमा खसेर बीच सडकमा पल्टिएको छ। ना १ क ७३२३ नं. को मालबाहक ट्रकमा राखेर घुर्मीतर्फ लगिँदै गरेको स्काभेटर उकालोमा ट्रकबाट खस्दा बीच सडकमा परेपछि सडक अवरुद्ध भएको प्याकुरेलले बताए।

प्याकुरेलका अनुसार सोही खण्डको सडक मर्मत कार्यका लागि स्काभेटर लगिँदै थियो। चालक सुशीलराज खत्री सकुशल रहेको र स्काभेटर उठाउन अर्को स्काभेटर मगाइएको छ। स्काभेटर हटाउन नसक्दा बिहानदेखि सिराहा र कटारी हुँदै घुर्मी, ओखलढुंगातर्फ जाने र त्यताबाट यता आउने सयौँ सवारी साधन सडक जाममा परेको प्याकुरेलले बताए।

दुईतिर भिरालो क्षेत्र र बीचमा सानो गोरेटोजस्तो ठाउँ रहेको ठाँटी भञ्ज्याङमा पटकपटक यस्ता सवारी दुर्घटना हुने गरेको छ। दुवैतर्फबाट ‘रिटेनिङ वाल’ लगाएर ६ मिटर फराकिलो सडक निर्माण गरिए पनि भञ्ज्याङ आउजाउ गर्ने सवारी साधन उकालो र ओरालो गर्दा दुर्घटनामा पर्ने गरेका छन्।

दुई महिनाअघि मात्र त्यहाँ एउटा मालवाहक ट्रक पल्टिएर ६ घन्टा सवारी जाम भएको थियो। अहिले फेरि स्काभेटर पल्टेर समस्या दोहोरिएको प्याकुरेलले बताए।

प्रकाशित: २३ वैशाख २०८१ १३:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App