६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

तराई मधेशमा आज जुडशीतल मनाइँदै

तराई मधेशका क्षेत्रमा आज जुडशीतल पर्व हर्षोल्लासका साथ मनाइँदैछ। प्रकृति र स्वास्थ्यसँग सम्बन्धित जुडशीतल पर्वलाई तराई मधेशमा नयाँ वर्षका रूपमा मनाइन्छ भने थारू समुदायले यसलाई सिरूवा पर्व भनेर मनाउने गर्छन्।

जुडशीतलमा रहेका दुई पद ‘जुड’ र ‘शीतल’ कल्याणसँग सम्बन्धित रहेको छ। जुडले आशीर्वादको भावमा जुराउनु र शीतलले शीतलताको अर्थ दिन्छ अर्थात् शीतलता प्रदान गर्नु नै जुडशीतल हो।

यस पर्वमा ठूलाले आफूभन्दा सानाको टाउकोमा हत्केलामा पानी लिई आशीर्वाद दिँदै शीतलता प्रदान होस् भन्ने कामना गर्दछन्। यस क्रममा एकाबिहानै उठेर आफ्ना परिवार र सामूहिकरूपले आफन्तलाई आशीर्वाद दिने चलन रहेको छ।

जुडशीतलमा शीतलताको कामना सूर्यको कडा तापविरूद्ध हुन्छ। वैशाखदेखि सूर्यको ताप वृद्धि हुने गरेका कारण यस पर्वमा मानवमात्रको कल्याण नभई रूख, बिरुवाका लागि पनि शीतलताको कामना गरिन्छ। यसका साथै घरका दैलामा तथा घरको बीचमा रहेको खम्बालाई पनि जुराउने गरिन्छ ।

यसपर्वमा जीउभरि हिलो दल्ने परम्परा पनि रहेको छ। मल र हिलोसँग मानव शरीरको सृष्टि भएको तथ्यलाई यस पर्वले निरन्तरता दिँदै आएको देखिन्छ। जीउभरि हिलो दल्नुलाई प्राकृतिक चिकित्सामा पङ्क स्नानको महत्व रहेको छ। ग्रीष्मको प्रचण्ड तापले सम्भावित रोगको निदानका सन्दर्भमा पङ्क स्नानको प्रथा शुरू भएको बताइन्छ।

जुडशीतलमा खानपानको पनि आफ्नो खास परम्परा छ। आजको दिन राति पकाइएको खाना भोलिपल्ट खाने चलन छ।

तरुवा, बरी (बेसनको व्यञ्जन) दही, सजिवनको तरकारी खाने परम्परा रहन्छ। जुडशीतलमा कुलदेवतालाई बासीभात, दही, मीठा र आँपको टिकुलाको नैवेद्य चढाइने गरिन्छ।

यस पर्वमा कतिपय स्थानमा पहलमानीको आयोजना र चङ्गा प्रतियोगिता पनि गरिने परम्परा रहेको छ।

प्रकाशित: २ वैशाख २०८१ ०७:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App