९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

२०८० : पत्रकारका लागि चुनौतीपूर्ण वर्ष

प्रेस स्वतन्त्रता हननका ६४ घटना : महासंघ

नेपाल पत्रकार महासंघले बितेको वर्ष नेपाली पत्रकारका लागि चुनौतीपूर्ण वर्ष रहेको टिप्पणी गरेको छ।

नयाँ वर्ष २०८१ का अवसरमा शनिबार एक विज्ञप्ति सार्वजनिक गर्दै महासंघका महासचिव रोशन पुरीले वर्ष २०८० मा समग्र पत्रकारिता क्षेत्रमा विभिन्न खालका चुनौती आइपरेको उल्लेख गरेका छन्।

‘विश्वव्यापी रूपमा देखिएको आर्थिक संकट, प्रविधि र माध्यमको विकाससँगै समग्र पत्रकारिता क्षेत्रमा नयाँ नयाँ चुनौती देखिएका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघमा दर्ता भएका श्रम समस्या विस्तारै हल हुँदै गए पनि श्रमको दीर्घकालीन समस्या समाधानमा अबका वर्षमा मुख्य ध्यान दिनुपर्ने आवश्यकता छ। सञ्चार क्षेत्रमा देखिएको गम्भीर खालको आर्थिक संकटसँग जुध्ने र प्रविधिलाई आत्मसात् गरेर अगाडि बढ्नुपर्ने चुनौती नयाँ वर्ष सँगसँगै भित्रिएको छ।’

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका घटना अघिल्लो वर्षको तुलनामा २०८० सालमा बढेको पनि महासंघले जनाएको छ। महासंघको मिडिया मनिटरिङअनुसार २०८० सालमा पत्रकारमाथि तीनवटा गिरफ्तारी, तीनवटा घटना कब्जा तथा अवरोध, १५ वटा आक्रमण, ३० वटा दुर्व्यवहार तथा धम्की, १२ पेशागत असुरक्षा, एक लैंगिक हिंसा गरी जम्मा ६४ वटा प्रेस स्वतन्त्रता हननका घटना घटेको महासंघले जनाएको छ।

महासंघले २०७९ सालमा प्रेस स्वतन्त्रता हनन्का ५१  र २०७८ मा ७४ वटा घटना भएको जनाएको छ।

यस्तै २०८० मा श्रमजीवी पत्रकारले तलब नपाएर विभिन्न सञ्चार गृहमा आन्दोलन गर्नुपरेको पनि विज्ञप्तिमा उल्लेख छ।

यस्तै आम सञ्चार नीतिलाई कार्यान्वयन गर्न बन्नुपर्ने कानुनी मस्यौदा अपेक्षाकृत अगाडि बढ्न नसकेको र तीन तहकै सरकारले बनाएका तथा बनाउनुपर्ने कानुन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री बनाउन थप दबाब दिन आवश्यक रहेको विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित: १ वैशाख २०८१ १३:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App