६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

सशस्त्रको गोदाम आगलागी घटना: डिएसपीसहित ७ जनालाई सोधपुछका लागि झिकाइयो

यही चैत्र २६ गते सोमबार सशस्त्र प्रहरी बलको बलम्बुस्थित केन्द्रीय स्टोरमा भएको आगलागी घटनाबारे छानबिन गर्न गठित आन्तरिक समितिले काम सुरु गरेको छ।

आगलागीको घटनापछि कार्य विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालको अध्यक्षतामा ९ सदस्यीय छानबिन समिति गठन गरिएको थियो। सो समितिले मंगलबार बिहानै देखि घटनास्थललाई सिल गरेको छ भने सुरक्षाको लागि नयाँ टोली राखिएको छ।

यसका साथै आगलागीबाट क्षति भएका सामानको विवरण संकलन गर्ने कार्य समेत तीव्र रुपमा अघि बढाइएको छ भने प्रयोगमा ल्याउन मिल्ने सामान छुट्याई सिल गरी सुरक्षित स्थानमा राखिएको छ। समितिले भण्डार महाशाखामा रहेको सम्पूर्ण सक्कल अभिलेखहरूको अध्ययन गरी के–कति सामान रहको र कति क्षति भएको भन्ने विवरण समेत संकलन गरिरहेको छ।

यसका साथै भण्डार महाशाखामा कार्यरत सशस्त्र प्रहरी उपरीक्षकसहित ७ जनालाई समेत भण्डारण गरिएको सामानको विवरण र अवस्थाबारे सोधपुछका लागि झिकाइएको छ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनीबाट सुरक्षा जिम्मेवारीमा रहेका र त्यस दिनको ड्युटीमा रहेका सशस्त्र प्रहरी उपरीक्षकसहित ११ जना र नेपाल एपीएफ अस्पतालको सुरक्षा टोलीबाट मेन गेटमा खटिएका २ जनालाई समेत सोधपुछका लागि मुख्यालय झिकाइएको छ।

सो स्टोरको सुरक्षार्थ राखिएको सिसी क्यामेराको फुटेज समेत समितिले अध्ययन गरिरहेको छ। सो फुटेजमा भवनको  बिचमा रहेको कोठाबाट सानो मात्रामा धुवाँ आएको केही सेकेण्ड भित्र नै ठुलो मुस्लो देखिएको र बाहिनीभित्र रहेका सुरक्षाकर्मी तत्काल घटनास्थल पुगेको देखिएको छ। सो आगलागीबाट फ्रि स्केलका सामान, विपद् उद्धारका सामान समेत जलेर नष्ट भएका छन्।

सशस्त्र प्रहरी बलको मुख्य स्टोर हल चोकमा रहेकोमा केही बर्ष अघिदेखि शाखा स्टोरको रुपमा सो ठाउँमा जिन्सी सामान भण्डारण गरिएको थियो। केही फ्रि स्केलका सामान भण्डारण गरिएको र त्यसको पूर्ण प्रक्रिया समाप्त नभएकोले मातहत कार्यालयमा पठाउने तयारीको अवस्थामा अचानक आगलागी भएकोले कर्मचारीको लागि वितरण गर्ने सामान जलेर नष्ट भएका छन्।

प्रकाशित: २८ चैत्र २०८० १७:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App