१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्राविधिक बिषय सञ्चालनमा खर्च जुटाउन धार्मिक महोत्सव

डोटी– प्रसिद्ध शैलेश्वरी मन्दिरमा ‘शैलेश्वरी धार्मिक महोत्सव, ज्ञान महायज्ञ’ शुरु भएको छ। आइतबार लक्ष्मीनाराण मन्दिर धनगढीका धर्मगुरु श्री १००८ देबराज आचार्यले पानसमा बत्ती बालेर महोत्सवको उद्घाटन गरेका छन्। सुदूरपश्चिमकै पुरानो डोटी बहुमुखी क्याम्पसमा प्राबिधिक बिषयहरुको पठन–पाठन शुरु गर्न आर्थिक सहयोग जुटाउने मुल उद्देश्यले यो धार्मिक महोत्सव आयोजना गरिएको हो। 

‘धार्मिक महोत्सवबाट पुण्यप्राप्ती, धर्मको रक्षाका साथै बिकासमा समेत योगदान पु¥याउछ,’ महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै धर्मगुरु आचार्यले भने, ‘यो महोत्सवको उद्देश्य पनि निकै पबित्र छ। यसले भव्य धार्मिक अनुष्ठान मार्फत धर्मको रक्षा, नैतिक शिक्षाको प्रबर्द्धनका साथै शैक्षिक बिकासमा लगानी जुटाउने छ।’ दानबाट पुण्यप्राप्ती हुने भएको र त्यो दान झन् पबित्र कार्यमा समर्पित हुनेभएकाले मन खोलेर दान गर्न र महोत्सवका गतिबिधिमा संलग्न हुन उनले आग्रह गरे। 

डोटी क्षेत्र, त्यसमा पनि शैलेश्वरी क्षेत्र धार्मिक मान्यताको केन्द्र भएकाले यो क्षेत्रमा भएको बृहत धार्मिक अनुष्ठानजन्य कार्यमा सहभागि भएर पुण्य प्राप्ती गर्न शैलेश्वरी क्षेत्र बिकास समितिका अध्यक्ष प्रेमशंकर भट्टले बताए। उनले भने, ‘शैलेश्वरी आफै शिबशक्ति स्वरुपा शक्तिपिठ हुन्। यसबाहेक यो क्षेत्र दिब्य तथा अलौकिक धार्मिक स्थलहरुले भरिपूर्ण क्षेत्र हो। जसको धर्मग्रन्थहरुले पनि बर्णन गरेका छन्। त्यसैले यस्तोमा आयोजना हुने धार्मिक अनुष्ठानको दर्शनले ठुलै पुण्यप्राप्ती गर्छ।’ महोत्सवबाट स्थानीय धार्मिक स्थलहरुको प्रबर्द्धन र प्रचार–प्रसार पनि हुने पनि उनले बताए। ‘यसले  धार्मिक स्थलको प्रचारप्रसार भएर धार्मिक पर्यटन भित्र्याउनमा पनि मद्दत गर्नेछ,’ अध्यक्ष भट्टले भने,‘जसबाट यहाँका अन्य समुदायले पनि फाईदा लिन सक्छन्।’

महायज्ञ आयोजक मुल समितिका संयोजक पुर्णराज जोशीले महायज्ञको दर्शनले तिर्थयात्रा जत्तिको पुण्यप्राप्तीका साथै भविष्यको बिकासका लागि सघाउ पुग्ने बताए। ‘शैलेश्वरी जस्तो पबित्र तिर्थस्थलमा गरिएको महायज्ञको दर्शनले धार्मिक फाइदा त पु-याउछ नै,’ उनले भने, ‘थप भनेको यहाँको शैक्षिक बिकासमा लगानी जुट्नेछ। जसले भविष्यमा हाम्रा नानीबाबुहरुको भविष्य निर्माणको काम गर्नेछ।’ 

डोटी बहुमुखी क्याम्पसका प्रमूख कृष्ण बहादुर कठायतले पछिल्लो समय समुदायमा मौलाउदै गएका बिकृति, बिसंगतीहरु, नैतिक मुल्य मान्यताहरुको ह्रास जस्ता समस्याहरु पनि घट्ने आशा रहेको बताए।

११ गतेसम्म चल्ने महोत्सबमा धार्मिक प्रवचन श्री भागवत आश्रम गैँडाकोट नवलपरासीकी बिदुषी श्री यशोदादेबी कौण्डिन्यले गर्ने जनाइएको छ। महोत्सवमा बिहान योग शिबिर, १००८ शालीग्राम पुजन,  श्रीमदभागवत महापुराण, सप्तचण्डी, दैनिक पुजाआजा, धर्मिक प्रवचन तथा भजनकिर्तन, दार्शनिक प्रवचन, बालसंस्कार बृहत भगवत चर्चा राष्ट्रिय गीत तथा दिब्य झाँकी लगायतका कार्यक्रमहरु गरिनेछन्। 

डोटी क्याम्पसमा प्राबिधिक शिक्षा

बि.स. २०१६ सालमा डोटी ईन्टर कलेजको नामबाट सुदूरपश्चिमकै पहिलो क्याम्पसको रुपमा डोटी क्याम्पसको स्थापना भएको थियो। त्यसक्रममा सुदूरपश्चिमका बिद्यार्थीका लागि उच्चशिक्षा हासिल गर्ने एकमात्र बिकल्पको रुपमा यही क्याम्पस रहेको थियो।  

पछिल्ला केही बर्षहरुमा डोटी बहुमुखी क्याम्पसमा बिद्यार्थीहरुको संख्या घट्दो अबस्थामा छ। भौतिक पूर्बाधार लगायतका ब्यबस्थापकिय समस्याका कारण बिद्यार्थीहरुको आकर्षण घट्दो छ। क्याम्पस ब्यबस्थापन तथा प्रशासनले पछिल्ला बर्षमा बिद्यार्थीहरुको आकर्षण बढाउन प्राबिधिक शिक्षाको सोच अगाडि सारेको छ। त्यसैकारण यसै शैक्षिक सत्रबाट बिसिए (कम्प्यूटर एप्लीकेशन बिषयमा स्नातक) को पठन–पाठन शुरु गरेको छ। यस्तै लगत्तै स्नातक तहमा कृषि बिज्ञान(बिएस्सी एजी) बिषय शुरु गर्ने क्याम्पसले लक्ष्य लिएको छ।  

सोही  उद्देश्यले क्याम्पसले आर्थिक स्रोत बलियो बनाउने अभियान चलाएको छ। सोही अनुसार यो महोत्सब आयोजना गर्न लागिएको क्याम्पसका प्राध्यापक डण्डिराज ओझाले बताए। ‘पुरानो क्याम्पस हो। तर, अपेक्षा गरे अनुसार विद्यार्थी आउन सकिरहेका छैनन्,’ उनले भने, ‘यस्तोमा बिएस्सी एजी मात्रै शुरु गर्ने हो भने राम्रो बिद्यार्थी आउन सक्छन भन्ने हाम्रो बुझाई छ। त्यसैले त्यो बिषय शुरु गर्ने लक्ष्य क्याम्पसको छ।’ अहिले बर्षेनी सुदूरपश्चिमबाट मात्रै दुई सय देखी तीन सय बिद्यार्थी आईएस्सी एजी उत्पादन हुन्छन्। ‘ती बिद्यार्थीहरु मध्ये पैसा भएका चितवन, भारत पनि पुग्छन् नभएका थन्किनेगरेका छन्। उनीहरुलाई सहुलियतमा यतै पढाउने अवसर दिने हो भने बिद्यार्थी संख्या पर्याप्त हुन्छ,’ उनले भने।

यसबाहेक पनि पर्यटन, बन बिज्ञान लगायतका कक्षाहरु सञ्चालन गर्नेगरी क्याम्पसले योजना थालेको क्याम्पस प्रमुख कठायतले बताए।

प्रकाशित: ४ चैत्र २०७४ १३:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App