६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

होटल व्यवसायीको चिन्ता : सुविधा बढ्यो तर मूल्य बढेन

क्याप्शन

व्यवसायीका अनुसार पोखरामा मात्र करिब सात सय पर्यटकस्तरीय होटल छन्। ती होटलमा झन्डै ४० हजार बेड संख्या छन्। यतिधेरै होटल भएको पर्यटकीय क्षेत्रमा व्यावसायिक प्रतिष्पर्धा पनि उत्तिकै छ। कतिपय होटल अझै निर्माणाधीन छन्। निर्माणाधीन होटल सञ्चालनमा आएसँगै कोठा संख्या अझै थपिनेछन्।  

व्यावसायिक प्रतिस्पर्धा अधिक भएको तर पाहुना आगमनमा सोचेजस्तो सुधार नहँुदा पोखराको पर्यटन क्षेत्रले आम्दानी गर्न नसकेको गुनासो यहाँका व्यवसायीले गर्ने गरेका छन्। पाहुना आगमनको उतारचढावले व्यवसायमा लाभ नपाएको उनीहरूको भनाइ छ।

पाहुनाको माग बढी तर आगमन कम हुँदा प्रतिष्पर्धा बढ्दै गएकाले वर्षाैं अघिदेखिकै मूल्यमा होटलहरूले कोठा उपलब्ध गराउनु परेको व्यवसायीको भनाइ छ। होटलको कोठाको मूल्यसमेत बढाउन सक्ने अवस्था नरहेको उनीहरूको भनाइ छ। पोखरा भित्रिएका सीमित पाहुनालाई होटलमा तान्न सस्तो मूल्यमा सेवा दिनुपरेको व्यवसायीको भनाइ छ।

‘झन्डै एकदशक भयो होटलको कोठाको मूल्य बढाउन सक्ने अवस्था छैन,’ क्विन्सपार्क होटलका म्यानेजर तुलसी लामिछाने भन्छन्, ‘पाहुनाको आगमन सोचेजति उकालो लाग्न सकेन। पाहुना आगमन कमजोर हुँदा व्यवसाय चलाउन हम्मेहम्मे परेको छ।’ उनका अनुसार पाहुना कम कोठा संख्या अधिक हुँदा पोखराले पर्यटनबाट अपेक्षा बमोजिमको आम्दानी लिन सकेको छैन।

‘धेरै होटल भएकाले सस्तोमा पाहुना राख्न पोखरा बाध्य छ,’ लामिछानेले भने, ‘राम्रो मूल्य लिनसक्ने अवस्था नै छैन। होटलको संख्या धेरै हुँदा अहिले पाहुना तान्ने प्रतिष्पर्धा चलिरहँदा पोखरा नै सस्तो गन्तव्य बनेको छ।’ ‘बेस्ट’ गन्तव्यमा सस्तो दरमा व्यापार गर्न बाध्य भएको उनले बताए।

व्यवसायीका अनुसार पोखराका केही होटल मात्र छन्, जसले सिजन होस वा अफसिजन बाह्रैमास राम्रो आम्दानी गरिरहेका छन्। मध्यस्तरका अधिकांश होटलले भने निकै नै कम मूल्यमा पाहुना राखिरहेका छन्। होटलको मूल्यमा अधिक बार्गेनिङ हुने गरेको छ।

‘सस्तोमा पाहुना तान्ने प्रतिष्पर्धा चलिरहँदा व्यवसायीले कमाउने अवस्था नै रहेन,’ उनले भने, आन्तरिक प्रतिष्पर्धाले गर्दा होटलले मूल्य बढाउन सकेका छैनन्।’ उनका अनुसार होटलको मूल्यमा प्रतिस्पर्धा धेरै भएकाले एकसय रूपैयाँ पनि बढाउन सक्ने अवस्था छैन। ‘सबैतिर महँगी छ, कर्मचारीको तलब बढेको छ, खाद्यान्नदेखि इन्धनको मूल्य अकासिएको छ तर होटलको मूल्य जहाँको त्यहीं छ,’ उनले भने, ‘सञ्चालन खर्च बढ्दै जाने तर आम्दानी नबढ्दा सकस छ।’

सस्तोमा कोठा पाउने अवस्था भए पनि एजेन्टले होटलसँग गर्ने बार्गेनिङ पनि बढेको उनले बताए। ‘खाने कुराको मूल्य अकासियो, कर्मचारीको तलब पनि थपियो, अरू सामग्रीको मूल्यले आकाश छोइसक्यो तर होटलको आम्दानी भने बढेको छैन’, उनले भने, ‘होटलले दिएको सेवा अनुसारको मूल्य कम छ। यो मूल्यका भरमा पर्यटन व्यवसायमा टिक्न समस्या छ। मध्यमस्तरका होटलले कमाउन नपाएको वर्षाैं भइसक्यो।’

अर्का एकजना व्यवसायी पनि ‘प्रडक्ट’ राम्रो हुँदैमा मूल्य लिन सक्ने अवस्था नरहेको बताउँछन्। ‘राम्रो मूल्य पाउन सहज छैन। होटलको मूल्यमा अपग्रेड हुन सकेन। लामो समयदेखि व्यवसायीले मूल्य बढाउन सकेका छैनन्,’ ती व्यावसायीले भने, ‘एक दिनका लागि राम्रो मूल्य लिएर भएन, सधैंका लागि लिन सक्ने आधार बनेन।’

राम्रो मूल्य पाउन पाहुनाको ‘क्वालिटी’ पनि हुनुपर्ने उनले बताए। ‘पाहुना नै सस्तो खालका आएपछि उनीहरूसँग राम्रो मूल्यको अपेक्षा गर्न सकिन्न। सेवा राम्रो भए पनि पाहुना नै सस्ता छन्। सस्ता पाहुनाबाट महँगो शुल्कको अपेक्षा गर्नु नै कमजोरी हो,’ उनले भने।

अर्का एकजना व्यवसायीले होटलको कोठाको मूल्य बढाउन नपाएको लामो समय भएको बताए। २०५० सालदेखि होटल व्यावसाय थालेका ती व्यवसायीले भने, ‘२०५० को तुलनामा अहिले गुणस्तरमा धेरै सुधार भएको छ तर मूल्य उही बेलाकै हो,’ ती व्यवसायीले भने, ‘कोठाको देखाउने मूल्य त पक्कै बढी छ तर लिने मूल्य भने २०५० सालकै हाराहारीमा छ।

 ती व्यवसायीले चलाएको होटल अहिले निकै आधुनिक बनिसकेको छ तर कोठाको मूल्य भने पुरानै छ। जसोतसो आएका सीमित पाहुना पनि प्रतिष्पर्धाले बाडिँदा मूल्यमा गिरावट आएको उनले सुनाए।

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली पनि होटलको मूल्यका कारण पोखरा सबैभन्दा सस्तो पर्यटकीय गन्तव्य बनेको बताउँछन्। पराजुलीका अनुसार सीमित होटल छाडेर धेरैले अहिले वर्षमा चार दिन मात्र आफ्नो मूल्य पाउँछन्। बाँकी समय घट्दो मूल्यमा पाहुना राख्नुको विकल्प नरहेको उनले बताए।

पराजुलीका अनुसार व्यवसायीले पूरा मूल्य पाउने समय भनेको नेपाली र अंग्रेजी नयाँ वर्षका बेला मात्र हो। नेपाली र अंग्रेजी नयाँ वर्षमा बढीमा २–२ दिन मात्र व्यवसायीले पूरै मूल्यमा पाहुना पाउने उनको भनाइ छ।

‘तोकिएको मूल्य पाउने भनेको वर्षमा चार दिन (नेपाली र अंग्रेजी नर्यावर्षका २–२ दिन) मात्र हो। अरू सबै दिन छुट नदिई होटलमा पाहुना पाउने अवस्था छैन। अरूबेला सस्तोमा बसेका पाहुनाले पनि नयाँ वर्षका चार दिन भने पूरै मूल्य तिर्न बाध्य हुन्छन्,’ उनले भने, ‘त्यसले गर्दा आलोचना पनि हुने गरेको छ।

कतिपय व्यवसायीले नयाँ वर्षका दिनमा मूल्य दोब्बर लिँदा पनि आलोचना खेप्नुपरेको छ।’ दीर्घकालीन लाभ नहेरी छोटो समयमा कमाउन खोजेर नयाँ वर्षका बेला बढी मूल्य लिँदा त्यसको मार अरू होटलले पनि खेप्नुपरेको उनले सुनाए।

‘प्रतिरात चारहजार रूपैयाँ पर्ने कोठालाई तीनहजार रूपैयाँमा नदिई सुख छैन। आफ्नो मूल्य पाउने त अंग्रेजी र नेपाली नयाँ वर्षका २–२ दिन मात्र हो,’ पराजुलीले भने, ‘अरूबेला घटाएर चलाउनुको विकल्प छैन।’

पराजुलीका अनुसार सिजनका बेला पनि ८० प्रतिशत भन्दा माथि मूल्य कहिल्यै पाउँदैनन्। ‘दसैंपछिको सिजनको केही समयसम्म ८० प्रतिशत मूल्य पाउँछौ। अरूबेला ५० प्रतिशतसम्म मात्र मूल्य लिने हुन्,’ उनले भने, ‘वर्षमा चारदिन महँगो हुन्छ, अरू दिन सस्तो। मूल्य लिन नसक्दा पोखरा सस्तो गन्तव्य बनेको छ।’

होटल संघ पोखराका पूर्व अध्यक्ष समेत रहेका पराजुलीले पोखराभित्रै सात सय होटल र ती होटलमा ४० हजार बेड हुँदा पाहुना अपुग भएको बताए। ‘होटलमा रुम बढी भए। त्यहाँ बस्ने मान्छे नै छैनन्। चाहिने भन्दा बढी कोठा बनाएका छौं। पर्यटक धेरै आउँछन् भनेर बनायौं,’ उनले भने, ‘तर मूल्य लिन सकिएन।’ उनका अनुसार विभिन्न अवसरले पोखरालाई होटलका कोठा थप्न बाध्य बनाएको छ।

व्यवसायीका अनुसार सन् २०२० को नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै पोखरामा धेरै होटल बनाइए। त्यसपछि कोरोनाकालमा पनि पोखरामा होटल थपिए। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आउने र त्यसले विदेशी पाहुना बढाउने लोभमा पनि होटल थपिएका थिए।

‘अहिले भन्दा दोब्बर संख्यामा पाहुना आउने हो भने मात्र पर्यटन क्षेत्र चलायमान हुनेछ,’ पराजुलीले भने, ‘अहिलेकै आकार पर्याप्त होइन। अहिले आइरहेको पाहुनाको संख्याले हाम्रो मागको सम्बोधन हुँदैन।

प्रकाशित: ३० फाल्गुन २०८० ०८:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App