६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

एक सन्तान : रहरभन्दा बाध्यता बढी

सन्तानका साथ ललितपुरकी सन्ताेषी खड्का र श्रीमान्।

पहिला–पहिला मान्यजनले आशीर्वाद दिँदा सन्तानले डाँडाकाँडा ढाकून् भन्थे। त्यो बेला प्रायः संयुक्त परिवारमा बस्ने भएकाले घरधन्दा र खेतीपातीलगायत व्यवसाय गर्न पनि धेरै सन्तान जन्माइन्थ्यो। तर अहिले त्यस्तो छैन।

शिक्षित र कामकाजी महिलाको संख्यामा वृद्धि, बढ्दो महँगी, बेरोजगारी, एकल परिवारको अवधारण, सन्तान हुर्काउन र पढाउन धेरै खर्च लाग्नेलगायत कारण केही दशकयता दम्पति एक सन्तानमै रमाउन थालेका छन्। पहिलो सन्तान छोरा पाउने दम्पतीले त दोस्रो सन्तान नजन्माउने गरेको देखिएको छ।

काठमाडौं मरुहिटीकी सारिका शाहीले एउटा मात्र सन्तानमा चित्त बुझाएकी छन्। उनका पति र घरका अन्य सदस्यले एक्लो सन्तानको कुनै भर नहुने भएकाले दोस्रो जन्माउन दबाब नदिएका पनि होइनन्। तर उनले हुर्काउन कठिन हुने ठानेर दोस्रो सन्तान जन्माउन आँट नगरेको सुनाइन्।

पहिलो सन्तान हुर्काउन कुनै कमी नहोस् भनेर दोस्रोको योजना नगरेको उनले बताइन्। सारिका र विजयबीच विवाह भएको २२ वर्ष बितिसकेको छ। घरमा सासूससुरा र परिवारका अन्य सदस्य सहयोगी भए पनि दोस्रो सन्तान जन्माउन आफूले नचाहेको उनले बताइन्। उनी अहिले मरुहिटीस्थित माइती घरमा बस्छिन्।

‘म माइतीमा बस्दै आएकी छु। छोरा ५ महिनाको भएपछि उसलाई राम्रोसँग हुर्काउन भनेर मैले सानो कस्मेटिक पसल खोलें,’ विगत सम्झँदै ४२ वर्षीया सारिकाले भनिन्। सन्तान हुर्काउँदाको कठिन परिस्थिति सुनाउँदै उनले थपिन्, ‘सुरुमा उहाँ (पति) को जागिर थिएन, धेरै कोसिस गरेपछि काम पाउनुभयो। त्यतिबेलासम्म छोरा दुई वर्षको भइसकेको थियो।’

दोस्रो सन्तान नपाउनुको कारण खुलाउँदै उनले भनिन्, ‘एकातिर आर्थिक अवस्था कमजोर र अर्कातिर पहिलो सन्तान शल्यक्रिया गरी जन्माउँदाको दुःख बिर्सिनसक्नु छ।’ धेरै सन्तान जन्माएपछि सम्पत्तिका लागि पारिवारिक कलहसमेत हुने भएकाले एउटैमा चित्त बुझाएको उनले बताइन्। उनका छोरा अहिले २० वर्षमा हिँड्दैछन्।

भएको एउटा सन्तान पनि विदेश जान खोजेपछि सारिका दम्पती निकै चिन्तित छन्। ‘बुढेसकालको सहारा पनि बिदेसिन खोज्दैछ। उसले नेपालमा रोजगारी पाउने सम्भावना देखेको छैन,’ उनले भनिन्, ‘अहिले आएर त दोस्रो सन्तान नपाएकोमा पश्चात्ताप लाग्दैछ तर अब सम्भवनै छैन।’

लेखक अश्विनी कोइराला पनि धेरै सन्तान जन्माउनु हुँदैन भन्छन्। उनकी पनि एक छोरी छन्। उनले छोरी जन्मेपछि अर्को सन्तानको चाहना नराखेको बताए। परिवार (घर र ससुराली दुवै) बाट छोरा जन्माउन दबाब आउँदा पनि उनी एउटै सन्तानमा अडिग रहेर छोरीलाई राम्रो शिक्षादीक्षा दिएर असल बनाउनेतर्फ लागे।

अहिले १७ वर्षमा हिँडदै गरेकी उनकी छोरी कक्षा १२ मा पढ्दैछन्। विवाह न्यूनतम आवश्यक्ता पूरा गर्न गरिने भएकाले सन्तान पनि एउटै भए पुग्ने तर्क उनको छ।

‘विवाह गरेको २० वर्ष भयो। पहिलो सन्तानका रूपमा छोरी भइन्। घर र ससुरालीबाट छोरा जन्माउन दबाब आए पनि दोस्रो सन्तान जन्माउने सोच आएन,’ ४८ वर्षीय कोइरालाले भने, ‘सामान्य आम्दानीले दुई सन्तानलाई उचित स्याहारसुसार गर्न, शिक्षा दिन, स्वास्थ्यउपचार गर्न निकै मुस्किल हुने कुरा मैले सबैलाई सम्झाएँ। छोरीलाई राम्ररी हुर्काउँदै छु। एउटै छोरी भएकोमा गर्व लाग्न थालेको छ।’

कोइरालाका अनुसार पहिलापहिला खेतीकिसानीमा निर्भर हुनुपर्ने भएकाले कामका लागि पनि धेरै सन्तान जन्माउनुपर्ने बाध्यता थियो तर अहिले त्यस्तो छैन। उनी भन्छन्, ‘न्यूनतम आवश्यकता पूरा गर्न विावह गर्ने हो भने सन्तान पनि एक मात्र भए पुग्छ।’

ललितपुरकी सन्तोषी खड्का पनि बदलिँदो समयअनुसार अहिले एउटै सन्तान काफी हुने बताउँछिन्। कामकाजी महिलाले सन्तान स्याहार्ने कि काममा ध्यान दिने भन्ने प्रश्न गर्दै उनले एउटा मात्र सन्तान भए पुग्ने बताइन्। ३० वर्षीया उनले विवाह भएको पाँच वर्षभित्रमा छोरा जन्माइन्।

‘छोरा स्याहार गर्न मैले फाइनान्सको नोकरी छाडें। पतिको नोकरी छैन। हामीलाई एउटा सन्तान हुर्काउनै समस्या छ भने अर्को पाउनै कुरै भएन। घरपरिवारबाट भने दोस्रो सन्तान जन्माउन दबाब छ। एउटैलाई राम्ररी शिक्षा दिन त मुस्किल छ भने अर्को जन्माएर कसरी हुर्काउने। पहिले पो धेरै सन्तान पाए खेतीपातीलगायत काम गर्न सहयोग हुन्थ्यो। तर अहिले त्यो अवस्था छैन।’ 

उनले घरमा बच्चा हेरिदिने मान्छे नभएका कारण पनि दोस्रो सन्तान जन्माउन नचाहेको सुनाइन्। उनले भनिन्, ‘हामी ललितपुरमा एकल परिवारको रूपमा बसेका छौं। बच्चा हेरिदिने अरू कोही छैन। पति पनि कामको खोजीमा विदेश जाने तयारीमा हुनुहुन्छ। यस्तो कठिन परिस्थितिमा अर्को सन्तान कल्पना पनि गर्न सक्दिनँ।’

राष्ट्रिय जनगणना, २०७८ अनुसार मुलुकमा १५ देखि ४९ वर्ष उमेर समूहमा विवाहिता महिलाको संख्या ६१ लाख ४५ हजार ३९ छ। जसमध्ये १२ प्रतिशत महिलाले एउटा पनि जीवित शिशु जन्माएका छैनन्। त्यस्तै यही उमेर समूहमा दुई जीवित सन्तान जन्माउने महिला ३३ र एक मात्र जीवित सन्तान जन्माउने २३.१ प्रतिशत छन्। नौ वा त्योभन्दा बढी जीवित बच्चा जन्माउने महिला ०.१ प्रतिशत छन्।

जनगणना नतिजाअनुसार जनसंख्या वृद्धिदर पनि घट्दो क्रममा छ। सन् २००१ को जनणगनाअनुसार जनसंख्या वृद्धिदर २.२५ प्रतिशत थियो। सन् २०११ को जनगणनासम्म आइपुग्दा जनसंख्या वृद्धिदर १.३५ प्रतिशतमा झर्‍यो। सन् २०२१ (२०७८ साल) को जनगणना नतिजाले जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत रहेको देखाएको छ।

त्रिभुवन विश्वविद्यालय जनसंख्या केन्द्रीय विभागका सहप्राध्यापक पदमप्रसाद खतिवडाका अनुसार नेपालको जनसंख्या घट्दो क्रममा भएकाले राज्यको नीति अब जनसंख्या नियन्त्रणतिर नभएर व्यवस्थापनमा केन्द्रित हुनुपर्छ।

‘राज्यको एउटै नीति तथा कार्यक्रमले जनसंख्या व्यवस्थापन गर्न सक्दैन। त्यसैले अब सरकार जातजाति, जनसंख्या वितरण र जनसंख्याको संचरनागत विवरण अध्ययन गरी जनसंख्या व्यवस्थापनमा ठोस नीति तथा कार्यक्रम तय गरी अघि बढ्नुपर्छ,’ खतिवडाले भने, ‘हिमालमा ६ प्रतिशत, तराईमा ५४ प्रतिशत र पहाडमा ४० प्रतिशत जनसंख्या छ। त्यसैले अब जनसंख्या व्यवस्थापनमा सरकारको नीति र कार्यक्रम केन्द्रित हुनु आवश्यक छ। पुरानो नीतिले काम गर्दैन।’

प्रकाशित: २७ फाल्गुन २०८० ०७:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App