११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

मिलेमतोमा अन्धाधुन्ध तस्करी

तस्करीका सामान बोकेर बेल्हीतर्फ आउँदै नम्बर प्लेटबिनाका ट्रयाक्टर। तस्बिर: मिथिलेश यादव/नागरिक

सप्तरीमा राजविराज मात्र आधिकारिक नाका हो। तर बेल्ही, पातो, सोभरनपट्टी, छिन्नमस्ताको सडक मुख्य भन्सारभन्दा व्यस्त छन्। खुला सीमा व्यवस्थित गर्न र अवैध ओसारपसार रोक्न नाकामा प्रहरी पोस्ट सक्रिय छन्। तर भन्सार कार्यालयमा राजस्व तिर्नेको तुलनामा छलेर कारोबार गर्नेको संख्या अधिक छ।

सुरक्षा निकायले एउटामा कडाइ गर्दा तस्करीमा संग्लनहरू अर्को नाका प्रयोग गर्छन्। नाका फेर्दै हुने तस्करी दैनिक उपभोग्य सामानमा सीमित छैन, तेस्रो मुलुकको स्याउ, मरिच, सुपारी, लसुन, सुन र प्रतिबन्धित लागुऔषधदेखि मदिरा पनि उत्तिकै छ।

यो संवाददाताको अनुभूतिलाई थप पुष्टि गर्दै राजविराज भन्सार कार्यालयका सूचना अधिकारी अजयप्रकाश भगतले भने, ‘यो नाका क्षेत्रमा ठुलो माफियाको चलखेलका कारण खतरा छ। पारिबाट हतियारधारीको पनि सघन आउजाउका कारण हाम्रा लागि पनि त्यहाँको अवैध ओसारपसार नियन्त्रण जोखिमपूर्ण छ,’ उनले भने, ‘यो ठाउँ खतरनाक छ।’

बल्हीबाट भन्सार काटेर व्यावसायिक प्रयोजनको सामान आउने कुरै भएन,’ भगत भन्छन्, ‘हामीसँग यस नाकाबाट तस्करीको सूचना त आउँछ तर हामी जाँदाजाँदै सामान सुरक्षित ठाउँसम्म पुगिसकेको हुन्छ। हाम्रो बुताले यो ठाउँमा नियन्त्रण सम्भव छैन। यो नाकामा हामी निहत्था मानिस जानु भनेको ज्यान जोखिममा पार्नु मात्र हो। बहुत खतरनाक नाका हो यो,’ उनले भने, ‘यहाँ ठुलै माफियाको चलखेलका कारण खतरा छ।’

बलान बिहुल गाउँपालिकामा पर्ने बेल्ही अवैध निकासी/पैठारीको (तस्करी) चलनचल्तीका नाका भइसकेको छ। अवैध कारोबार रोक्न भनेर यहाँ प्रहरी पोस्ट र इन्सपेक्टरको कमान्डमा सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट छ। कार्यालय सहयोगीको भरमा यहाँ छोटी भन्सार सञ्चालन गरिएको छ।

सिरहामा तस्करी व्यापक भएको सार्वजनिक भएपछि सुरक्षा अधिकारीहरू बदलिए। नयाँ सुरक्षा प्रमुख आएपछि यहाँ तस्करीको लाइन रोकिएको छ। सिरहाको बाटो रोकिएपछि कारोबारी अर्को बाटो अर्थात् सप्तरीको बेल्ही केन्द्रित भएका छन्।

भारतको लौकाहा हुँदै तस्करीका सामान बेल्ही नाका पुग्छ। लौकाहामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) तैनाथ छ। तस्करीमा संलग्नहरूले एसएसबीलाई छल्दै अघिल्तिरको बाटो भएर मालसामान बेल्ही पुर्‍याउँछन्।

लाइन नमिलेपछि सबैको आँखा पुग्ने र पक्राउ पर्ने जोखिमका कारण तस्करहरूले बेलाबेला बाटो फेर्ने गरेको लौकाहाका एक व्यापारीले बताए। अहिले सिरहाबाट लाइन दिएको छैन। त्यही भएर सप्तरीको बेल्हीबाट कारोबार व्यापक भएको ती व्यापारीले भने।

बेल्हीका स्थानीय बासिन्दाका अनुसार अहिले सुपारी र लसुन, मरिच, मदिरा, ग्यास लाइटर, स्याउ, कस्मेटिक्स सामान पारि जान्छ। पारिबाट धान, चामल, प्याज, फलफूल, तरकारी, हार्डवेयर, मोटर पार्टस, गुटखा, सुर्ती, चिनी भित्रिइरहेको स्थानीयले बताए।

यस नाकाबाट तस्करीका लागि वारिपारिका तस्करको संगठित सञ्जाल छ। एक स्थानीयले भने, ‘डर भनेको सुरक्षाकर्मीसँग हुन्छ। त्यो नै मिलिसकेपछि कसको डर? यहाँ डर भनेको हामीजस्तालाई छ।’ उनले थपे, ‘राज्यलाई गिज्याइरहेको तस्करी धन्दा न हेर्न सक्छौं न बोल्न सक्छौं। मुख खोल्न हामीले ज्यानकै जोखिम मोल्नुपर्छ।’

‘यो नाका सुनसान र बगैंचाहरू भएकाले तस्करका लागि सजिलो छ। वारिपारिका मालसामान त्यही बगैंचामा उतारिन्छ,’ एक स्थानीयले भने, ‘हामीले देखे पनि नदेखेजस्तो गर्नुपर्छ।’

अवैध कारोबार नियन्त्रणका लागि सीमामा सशस्त्र र प्रहरी तैनाथ छन्। तर दुवै निकाय आफ्नै कार्यालय अगाडिबाट दैनिक लाखौं मूल्यका अवैध सामान भित्रिँदा पनि मौन बस्ने गरेको आरोप लाग्ने गरेको छ। अहिले बेल्ही नाका मधेस प्रदेशकै तस्करीको मुख्य मार्ग बनेको छ।

 प्रहरीले आर्थिक लाभ लिएर चोरी पैठारी खुकुलो गरेकाले तस्करी मौलाएको बेल्हीको पान दुकानमा भेटिएका रामशरण यादवले बताए। प्रहरीले ‘लाइन’ दिएपछि तस्करले बोरा र पोकामा कुन सामान ओसारपसार गर्दैछ भने पनि मतलब राख्दैन। माथिको दबाब आएपछि कहिलेकाहीं देखाउनका लागि सामान जफत गर्ने गरेको उनको भनाइ छ।

मधेस प्रदेशका प्रहरी प्रमुख डिआइजी यज्ञविनोद पोखरेलले मिलेमतोमा तस्करी नभएको दाबी गर्दै तस्करीको सामान बोकेको गाडीको नम्बर दिए समात्छौं भने।

मधेस प्रदेशका सशस्त्र प्रहरी प्रमुख डिआइजी दिपेन्द्र साहले बेल्हीस्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट प्रमुख इन्स्पेक्टर महेश कार्कीले यस नाकाबाट भन्सार नकाटी कुनै पनि सामान ओसारपसार नहुने दाबी गरे। त्यसो भए पारिबाट धान र प्याज कसरी आउँछ त? उनले भन्सार काटेर आउने गरेको जिकिर गरे।

‘सप्तरीमा खाद्य क्वारेन्टाइन छैन। खाद्य क्वारेन्टाइन नभएकाले यहाँबाट धान, चामल, प्याज, आलु, फलफूल, केही पनि वैध रूपमा ल्याउन पाउँदैन,’ सूचना अधिकारी भगतले भने, ‘क्वारेन्टाइनबिना भन्सार काट्नै मिल्दैन। भन्सार राजस्व नकाटी भित्रिएको सामान अवैध ठहरिन्छ।’

बेल्ही नाकामा तस्करविरुद्ध सुरक्षा कारबाही नभएको पनि होइन। २०७९ भदौ ७ मा सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा भारतबाट तस्करी गरी ल्याएको कपडा प्रहरीले नियन्त्रणमा लिन खोज्दा सशस्त्र प्रहरी र तस्कर समूहबिच झडप भएको थियो। सो क्रममा प्रहरीले तीन राउन्ड हवाईफायर गरेको थियो भने तस्करले प्रहार गरेको ढुंगा लागेर तीन प्रहरी घाइते भएका थिए।

भारतबाट सामान तस्करी गरेर स्थानीय घुरन साहको घरमा राखिएको सूचना पाएपछि तस्करी गरी ल्याइएको सामान प्रहरीले नियन्त्रणमा लिन खोज्दा प्रहरी र तस्कर समूहबिच झडप भएको थियो।

त्यसैगरी २०८० जेठ ३ मा बलान बिहुल–४ बेल्हीस्थित सन्तोष यादवको घरमा सटरभित्र भन्सार छली भारततर्फ पठाउन तयारी अवस्थामा स्याउ राखिएको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले तीन सय ८५ कार्टुन स्याउ बरामद गरेको थियो।

सो स्याउ १५ लाख ४० हजार रूपैयाँ बराबरको थियो। बरामद गरिएका स्याउ आवश्यक कारबाहीका लागि प्रहरीले राजविराज भन्सार कार्यालय पठाएको थियो। यस नाकामा नेपालबाट बालुवा तथा गिट्टी तस्करी गरी भारततर्फ निकासी भइरहेको स्थानीयवासीले बताउँछन्।

प्रकाशित: २६ फाल्गुन २०८० ०९:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App