६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

हराएका व्यक्ति खोजी गर्न सेती नदीको बाँध अबको केहीबेरमा खोलिने

माछा मार्न नदीमा डुबेर हराएका व्यक्ति खोज्न सेती नदीको बाँध अबको केहीबेरमा खोलिँदै छ। कास्की प्रहरीले आज बिहान ८ बजे पोखरा महानगरपालिका–१६ दिपस्थित ड्याम खोल्ने बताएपनि अबको केही बेर पछि ड्याम खोलिने छ।

कास्की प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक सूर्य रानाका अनुसार पोखरा महानगरपालिका–१ सिम्पानीका मानबहादुर तामाङ (रक्से) माछा मार्न जाने क्रममा चिप्लेर सेतीमा खस्दा बेपत्ता भएका थिए। तीन दिनदेखि खोजी गर्दा पनि नभेटिएपछि नदीको बाँध खोलेर उनको खोजी गर्न ड्याम खोल्न लागिएको रानाले बताए।

नेपाल प्रहरी, सशस्त्र प्रहरी समेतको टोलीले खोजतलास गर्दा फेला नपरेको र सेती नदिको ड्याम खोली खोजतलास गरी दिनु हुन भन्ने अनुरोध भएपछि आज ड्याम खोल्ने तयारी भएको उनले बताए।

दीपस्थित ड्याम खोली सेती नदीमा पानीको बहाव बढाई खोजतलास गर्नुपर्ने अवस्था आएको उनले बताए। सेती नदिको दीपमा बाँध बाँधेर विद्युत् निकालिएको छ।

ड्याम खोलेको समयमा सेती नदीमा पानीको बहाब बढ्न सक्ने हुँदा नदी वरिपरि काम गर्ने तथा आवतजावत गर्ने मानिस चनाखो भई कार्य गर्नु हुन, नदिको किनारमा नजानु हुन र सुरक्षा सतर्कता अपनाउनु प्रहरीले आग्रह गरेको छ।

गत आइतबार राती करिब १० बजेतिर पोखरा महानगरपालिका–१७ महतगौडास्थित सेतीनदीमा माछा मार्न गएका ५ जनामध्ये २ जना चिप्लिएर नदीमा खसेका थिए। डुबेकामध्ये पोखरा–१ कसेरीका ४० वर्षिय मंगा तामाङको शव सोमबार बिहान भेटिएको थियो।

कालिका गण कास्कीको गोताखोर टोली र विपद् उद्धार टिमले तामाङको शव फेला पारेको थियो। बेपत्ता भएका मानबहादुर तामाङ भने फेला परेका थिएनन्। माछा मार्न गएका पाँच जनामध्ये तीन जना भने सकुशल रहेको प्रहरीको भनाइ छ।

प्रकाशित: १७ फाल्गुन २०८० ०८:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App