६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

व्यक्ति हत्या गर्न साढे तीन लाखको सुपारी

तरुण दलका नेता विनोद गिरीमाथि गोली प्रहार गर्ने एक जना भारतीय सुटरसहित चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ। शनिबार बेलुका साढे आठ बजेतिर वीरेन्द्रनगर–१ को गैरीगाउँ नजिकै तरुण दल सुर्खेतका जिल्ला सदस्य गिरीमाथि गोली प्रहार भएको थियो। मोटरसाइकलमा आएका दुई जना मध्ये पछाडि बसेका भारतीय नागरिकले गोली हाने पनि गिरीलाई भने लागेन।

प्रहरीका अनुसार भारतको उत्तर प्रदेशको बिजनौर दादानगरगञ्जका १९ वर्षीय रोहित राजपुत, कैलालीको गौरीगंगा नगरपालिका–२ का १८ वर्षीय मोटरसाइकल चालक इन्द्र विक र १८ वर्षीय भरत भुल तथा सुर्खेतको वीरेन्द्रनगर–४ का राजन गिरी पक्राउ परेका छन्। रोहित सुटर हुन् भने गिरी सुटर र अन्य दुई जनालाई सुर्खेतमा ल्याएर होटलमा बास बसाल्ने व्यक्ति हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक रुपेश खड्काले घटनामा संलग्न देखिएका अन्यको पनि पहिचान भइसकेको बताए। ‘प्रारम्भिक अनुसन्धानबाट खुल्न आएका थप अभियुक्तको खोजीका लागि प्रहरी टोली परिचालित भएको छ,’ उनले भने, ‘अहिलेको मुख्य संकीत व्यक्ति पक्राउ परेपछि थप हत्या गर्नु पर्नाको कारणहरू थाहा होला।’

प्रहरीका अनुसार गिरीको हत्या गर्ने योजना डेढ महिनाअघि भएको थियो। प्रहरीले नाम सार्वजनिक नगरेका मुख्य व्यक्तिले गिरीको हत्याका लागि सुरुमा कैलालीका इन्द्र विकसँग सम्पर्क गरेका थिए। सुरुमा ह्वाट्स एपमार्फत कुराकानी हुँदा विक गिरीको हत्या गर्न राजी भएका थिए। अघिल्लो महिना हत्याको योजना बनाउन मुख्य व्यक्ति कैलालीको अत्तरियामा विकलाई भेट्न पुगेका थिए।

दुई हप्ता अघि इन्द्रले भरतलाई ल्याएर गौरीगंगाबाट कैलालीको लम्की आइपुगे। हत्याको योजना बनाउने मुख्य व्यक्तिले भारतबाट राजपुतलाई पनि लम्की बोलाएका थिए। 

‘हत्याको योजना बनाउने मुख्य व्यक्ति, भारतबाट बोलाइएका सुटरसहित इन्द्र र भरत बसेर हत्याको पूर्व योजना बनाएको देखिन्छ,’ एसपी खड्काले भने, ‘गिरीका गतिविधि निगरानी गर्न त्यति बेलै इन्द्र र भरत एक पटक सुर्खेत आएको देखिन्छ।’

प्रहरीका अनुसार फागुनको दुई गते हत्याको योजना बनाउने व्यक्तिले इन्द्र र भरतलाई नेपालगञ्ज बोलाएर एक नाल कटुवा पेस्तोल, दुई राउण्ड गोली र डेढ लाख रुपैयाँ दिएको अनुसन्धानबाट देखिन्छ। ‘फागुन चार गते भारतीय सुटर राजपुतसहित चारै जनाबीच थप छलफल भएको र सोही बेला इन्द्रले आफूसँग राखेको कटुवा पेस्तोल र गोली उपलब्ध गराएको पाइएको छ,’ एसपी खड्काले भने, ‘गोली हान्ने सुटरलाई थप दुई लाख रुपैयाँ दिने सहमति पनि त्यहीँ बेला भएको प्रारम्भिक बयानमा खुलेको छ।’

गिरीको हत्या योजनासहित राजपुत फागुन ७ गते सुर्खेत आइपुगेका थिए। सुर्खेतको वीरेन्द्रनगर–४ स्थित गणेश होटलमा सुटरलाई राख्ने व्यवस्था राजन गिरीले मिलाएका थिए। 

फागुन १० गते हत्यामा प्रयोग गर्ने उद्देश्यले नेपालगञ्जमै मुख्य आरोपीले भे५प ६०६१ नम्बरको मोटरसाइकल इन्द्र र भरतलाई उपलब्ध गराएका थिए। उनीहरु सोही दिन नेपालगञ्जबाट आएर राजपुतसँगै गणेश होटलमा बसेको प्रहरीको भनाई छ।

‘अर्का एक व्यक्तिले गिरीको घर, उनले प्रयोग गर्ने गरेको गाडी र हिँड्ने रुटका बारेमा तीनै जनालाई जानकारी गराएको र देखाएको पाइएको छ,’ उनले भने, ‘सबै कुराको रेकी गरिसकेपछि शनिबार बेलुका गिरीमाथि गोली प्रहार भएको अनुसन्धानले देखाएको छ।’ एसपी खड्काका अनुसार पक्राउ परेकाहरू रकम लिएर हत्या गर्न प्रयोग गरिएका व्यक्तिहरू हुन्। मुख्य अभियुक्त भने फरार छन्। 

‘अहिलेसम्म हामीले हत्यामा प्रत्यक्ष संलग्नहरूलाई पक्राउ गर्न सफल भएका छौँ,’ एसपी खड्काले भने, ‘योजना बनाउने व्यक्तिहरू खोजीकै क्रममा छौँ, एक–दुई दिनमै हामी पक्राउ गछौं।’

प्रकाशित: १३ फाल्गुन २०८० १९:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App