४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

सानो सहयोग, ठूलो सन्देश

स्कुले बालबालिका जसले आफूले पकाएका खानेकुरा बिक्री गरेर आएको पैसा अटिजम भएका बालबालिकाको हेरचाहका लागि खर्चिएका छन्। आफ्नै स्कुलले आयोजना गरेको ‘फुड फेस्टिभल’मा उठेको रकम उनीहरूले अटिजम बालबालिकालाई सहयोग गरेका हुन्।

चन्द्रागिरी नगरपालिका वडा नम्बर १ दहचोकमा सञ्चालित ऋचा सह–शिक्षा सदनका बालबालिकाले खानेकुरा बिक्री गरेर आएको १० हजार रुपैयाँ यही नगरपालिका वार्ड न.१२ बलम्बुमा सञ्चालित अटिजम केयर सेन्टरलाई दिएका हुन्।

ऋचा सह–शिक्षा सदनमा कक्षा ६ देखि ९ सम्म पढिरहेका विद्यार्थीले फुड फेस्टीवभलमा आफ्नै हातबाट खाना/खाजा तयार पारी बिक्री गरेर आएको रकम अटिजम भएका बालबालिकाको हेरचाहका लागि दिएका हुन। उनीहरू मंगलवार अटिजम सेन्टरमा पुगेर उक्त रकम हस्तान्तरण गरेका हुन्।

सहयोग हस्तान्तरण कार्यक्रममा विद्यार्थीले आफूहरूले आम्दानी गरेको रकम आफू जस्तै बालबालिकाको हेरचाहमा दिन पाएको भन्दै खुसी व्यक्ति गरे। ‘अतिरिक्त क्रियाकलाप अन्तर्गत गरिएको फुड फेस्टिभलबाट जम्मा गरेको पैसा हामीले दिएका हौँ। सामाजिक कार्यको क्षेत्रमा जनचेतना फैलिओस् भनेर थोरै सहयोग गरेका हौँ’, ऋचा सह–शिक्षा सदनमा कक्षा ९ मा अध्ययनरत सफलता भुषालले भनिन्, ‘हामी समाजलाई सकारात्मक सन्देश दिन चाहन्छौ।’ 

विद्यालयले यही माघ १३ गते ‘फुड फेस्टिभल’ गरेको थियो। अघिल्लो वर्ष पनि यसैगरी संकलन भएको रकम यी विद्यार्थीले वृद्धाश्रमलाई दिएका थिए।

ऋचा सह–शिक्षा सदनका सञ्चालक तथा प्रिन्सिपल नवराज खड्काले सामाजिक कार्यमा उत्प्रेरणा थपेको भन्दै विद्यालय परिवारलाई धन्यवाद दिए। ‘हाम्रा बालबालिकाले हरेक वर्ष यसैगरी परोपकारी संस्थाहरूलाई सहयोग गर्दै आएका छन्’, उनले भने, ‘सहयोग भन्दा पनि सन्देश ठुलो हो।’

महिला उत्प्रेरणा विकास मञ्चकी अध्यक्ष गिताकुमारी घिमिरेले सेन्टरलाई सक्दो सहयोग गरेकोमा विद्यार्थीहरूलाई धन्यवाद दिएकी थिइन्। ‘स–साना बालबालिकाले देखाएको मानवता र भावनाले मेरो हौसला बढेको छ’, उनले भनिन्।

सहयोग हस्तान्तरण गर्न आएका बालबालिकाले अध्यक्ष घिमिरेसँग अटिजम भएका बालबालिकाहरूको हेरचाहबारे जिज्ञासा राखेका थिए। उनले पनि विद्यार्थीहरूलाई अटिजम बालबालिकाको हेरचाह र सिकाइका माध्यमबारे जानकारी दिएकी थिइन।  

महिला उत्प्रेरणा विकास मञ्च नामक संस्थाले एक वर्षदेखि अटिजम भएका बालबालिकाहरूलाई व्यवहारिक शिक्षण सिकाई प्रक्रिया मार्फत केयर सेन्टर सञ्चालन गर्दै आएको छ। सेन्टरमा ६ जना बालबालिका छन्।

‘चन्द्रागिरी नगरपालिकामा ५७ जना अटिजम भएका बालबालिका छन्। यस्ता बालबालिकाको हेरचाहमा लागेका संस्थालाई स्थानीय तहलगायत सबै निकायको सहयोग, सुविधा र सहुलियतको खाँचो छ’, घिमिरेले नागरिकन्यूजसँग भनिन्।

उनका अनुसार सेन्टरमा भर्ना गर्नका लागि १४ जना अभिभावकले आफ्ना अटिजम भएका छोराछोरीको नाम लेखाएका छन्। ‘तर ती बालबालिकालाई यहाँसम्म ल्याउने साधन हामीसँग छैन। कसरी ल्याउने भन्ने समस्या छ?’, घिमिरेले भनिन्, ‘यसैले हामीले सबैतिरबाट सहयोगको अपेक्षा गरेका छौँ।’

उनका अनुसार अटिजम रोग होइन, यो एउटा अवस्था हो। विभिन्न थेरापी, अन्य माध्यम, खेलको सिकाई र अभ्यासबाट बालबालिकालाई तन्दुरुस्त बनाउन सकिन्छ। तर यसका लागि धेरै मेहनत गर्नुपर्छ। ‘हामी त्यही गरिरहेका छौँ’, घिमिरेले भनिन्।

‘हामीले टन्न पैसा भएर खोलेको संस्था होइन, चुरा टिकीको पैसा बचाएर खोलेको संस्था हो। त्यसैले हामीले सबैको सहयोगको अपेक्षा गरेका छौँ’, उनले भनिन्। स्थानीय ७/८ जना महिला मिलेर यो संस्था चलाइरहेको घिमिरेले जानकारी दिइन्।

अध्यक्ष घिमिरेका अनुसार  मञ्चका ९ जना महिला सदस्यहरू मिलेर अटिजम केयर सेन्टर खोलेका हुन। ती महिलाले आफैले पैसा उठाएर सेन्टर सञ्चालन गरिरहेका छन्। यी महिला सदस्य  मध्ये दुई जना महिला सदस्यका बालबालिका अटिजम भएकै कारण त्यही सेन्टरमा छन्। यस्ता बालबालिकालाई विद्यालयहरूले भर्ना लिँदैनन्। उनीहरूका लागि छुट्टै पूर्वाधारसहितको सिकाई र अभ्यास स्थलको आवश्यकता पर्दछ। 

प्रकाशित: २४ माघ २०८० १०:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App