६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

अझै छापिएनन् लाइसेन्स

झन्डै एक महिनाअघि जर्मनीबाट आएका ६ लाख लाइसेन्स कार्ड (चालक अनुमतिपत्र) अझै छापिएका छैनन्। कार्ड छाप्न प्राविधिक समस्या उत्पन्न भएको यातायात व्यवस्था विभाग स्रोतको भनाइ छ। यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले दुई/तीन दिनभित्रै जर्मनबाट आएका लाइसेन्स कार्ड छापिने दाबी गरे। उनका अनुसार अहिले कार्ड छाप्ने प्राविधिक काम भइरहेको छ।

गत पुस २६ गते जर्मनीको मुलबार कम्पनीले पहिलो चरणमा ६ लाख कार्ड काठमाडौं पठाएको थियो। कार्ड आउनेबित्तिकै माघको पहिलो साताबाटै कार्ड छाप्न सुरु गर्ने विभागको तयारी थियो। तर त्यसमा प्राविधिक समस्या आएको छ।

विभागका एक प्राविधिक कर्मचारीका अनुसार अझै पनि जर्मनीबाट आएको कार्ड र नेपालको कार्ड छपाउने मेसिनको ‘साँचो’ मिलेको छैन। साँचो मिलाउने काम भइरहेको ती कर्मचारीले बताए। साँचो नमिले जर्मनीबाट आएका ६ लाख लाइसेन्स कार्ड खेर जाने अवस्था छ। तर महानिर्देशक रिजालले भने जर्मनीबाट आएका कार्ड खेर नजाने दाबी गरे। ‘कार्ड खेर जाँदैनन्, एउटा नभए अर्को मेसिन छ।

एउटा प्राविधिक कर्मचारीले सिस्टम मिलाउन सकेनन् भने अरू पनि छन्,’ रिजालले भने, ‘अहिले सिस्टम मिलाउने काम भइरहेको छ।’

जर्मनीबाट आएका कार्डको ‘पर्सनलाइजेसन’ गर्ने जिम्मा भारतको मद्रास सेक्युरिटी प्रिन्टर्सले पाएको छ। लाइसेन्स कार्ड जर्मनीको मुलबार कम्पनीले पठाएको हो। कार्डको ल्याब टेस्ट गर्ने जिम्मा जर्मनीको फोरगा टेस्ट कम्पनीले पाएको छ।

मद्रास कम्पनीले अझै कार्डको पर्सनलाइजेसन गरेको छैन। विगत ८ वर्षदेखि नेपालको लाइेसन्सको सिस्टमको नियन्त्रण उक्त कम्पनीले गर्दै आएको छ। कार्डको पर्सनलाइजेसन नभएकाले जर्मनको फोरगा कम्पनीलाई अझै ल्याब टेस्ट गर्न नपठाएको विभाग स्रोतको भनाइ छ।

स्रोतका अनुसार ल्याब टेस्ट नभएकाले जर्मनीबाट आएका कार्डलाई छाप्ने काम अझै सुरु भएको छैन। विभागले जर्मनीको फोरगा कम्पनीलाई ७५ वटा छापेका कार्ड र ७५ वटा खाली कार्ड पठाउने तयारी विभागले गरेको छ।

यसअघि माघको पहिलो साताबाट कार्ड छाप्ने र कार्ड छाप्नेबित्तिकै सेवाग्राहीलाई वितरण गर्ने तयारी विभागले गरेको थियो। मुलबर कम्पनीले १२ लाख कार्ड पठाउने ठेक्का विभागबाट पाएको छ। जसमध्ये ६ लाख कार्ड पहिलो चरणमा पठाइएको छ। बाँकी ६ लाख कार्ड ४५ दिनभित्र अर्को चरणमा पठाउने भएको छ।

कार्डको प्रतीक्षामा अहिलेसम्म १४ लाख ५८ हजार सवारीचालक अनुमतिपत्र पास भएका तथा नवीकरण गरेका सवारीचालक छन्। पछिल्लो ६ महिनादेखि लाइसेन्स छाप्ने काम ठप्प भएको छ। अहिले दैनिक चारदेखि पाँच हजारसम्म व्यक्तिले लाइसेन्स पास तथा नवीकरण गर्ने गरेका छन्।

प्रकाशित: २३ माघ २०८० ०६:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App