१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

रसुवामा ७० प्रतिशत घर बन्दै

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–३ गत्लाङमा निर्माण हुँदै गरेका घर । तस्बिर : नागरिक

रसुवा – रसुवामा करिब ७० प्रतिशत भूकम्पपीडितले घर निर्माण थालेका छन् । पहिलो किस्ता ५० हजार बुझेका १० हजार ४ सय ६१ लाभग्राहीमध्ये ७ हजार लाभग्राहीले निजी आवास पुनर्निर्माण थालेका हुन् । सरकारले आगामी असार मसान्तसम्ममा तेस्रो किस्ता लिइसक्नुपर्ने समयसीमा तोकेपछि जिल्लामा पुनर्निर्माणले गति लिएको हो। 

सडक नपुगेको स्थानमा हेलिकप्टर तथा खच्चड प्रयोग गरेर निर्माण सामग्री लगिएको छ । चैत मसान्तसम्ममा दोस्रो किस्ता बुझिसक्नुपर्ने भएकाले भूकम्पपीडित घर बनाउन हतारिएका हुन् । गाउँमा बाटो नपुगेका कारण खच्चडबाट निर्माण सामग्री गाउँमा पु¥याएर घर निर्माण गरिरहेको हाकुका याङ्जेन तामाङले बताइन्।

भूकम्पपीडितले पुनर्निर्माण तीव्र बनाउन पर्म गरेर घर बनाउने, बाहिरी जिल्लाबाट कामदार ल्याउने, स्थानीय स्रोतसाधनको प्रयोग गर्नेलगायतका कार्य गरेका छन् । जिल्ला आयोजना कार्यान्वन एकाइ रसुवाका अनुसार जिल्लाका पाँचवटा गाउँपालिकामध्ये सबैभन्दा कम आमाछोदिङ्मोमा र सबैभन्दा बढी कालिकामा घर निर्माण भएको छ । 
घर निर्माणका लागि जग राख्ने लाभग्राहीको संख्या बढ्दै गएको र तथ्यांक लिने कार्य भइरहेको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय रसुवाका निमित्त डिभिजन प्रमुख धीर फडेराले बताए।  

अहिले करिब ५७ प्रतिशत लाभग्राहीको दोस्रो किस्ताका लागि सिफारिस भइसकेको निमित्त डिभिजन प्रमुख फडेराको भनाइ छ । पाँच हजार ९ सय ९४ कोे दोस्रो किस्ता र दुई हजार तीन सय ४३ लाभग्राहीको तेस्रो किस्ताका लागि सिफारिस भएको कार्यालयले जनाएको छ । 

गैससको सहयोगमा ५२९ घर निर्माण 
निजी आवास पुनर्निर्माणका लागि जिल्ला भित्रिएका ४ वटा गैरसरकारी संस्थाले पाँच सय २९ निजी घर निर्माण सम्पन्न गरेका छन्। 

चारवटा गैरसरकारी संस्थाले जिल्लामा एक हजार ५९ घर निर्माण गर्ने जिम्मेवारी पाएका थिए । बतास फाउन्डेसनले जिम्मेवारी पाएको एक सय ५२ वटै घर निर्माण सम्पन्न गरेको छ। 

नेपाल रेडक्रस सोसाइटीले जिम्मेवारी पाएको ४५५ घरमध्ये ७१, लुमन्थीले जिम्मेवारी पाएको ३५१ घरमध्ये २१५ र एलडब्लुएफले जिम्मेवारी पाएको १०१ घरमध्ये ९१ वटा घर निर्माण सम्पन्न गरेको छ। 

प्रकाशित: २० फाल्गुन २०७४ ०२:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App