६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

सडक हैन, भगवान् भरोसा !

करिब ८ महिना अगाडि चन्द्रागिरि–चित्लाङ सडक खण्डमा जोखिमपूर्ण ढङ्गबाट गुड्दै गरेको सवारीसाधन। शनिवार यही सडक खण्डमा भएको दुर्घटनामा एकै परिवारका ५ जनाले ज्यान गुमाए । फाइल तस्बिरः आशीष गजुरेल

‘यो तस्बिर हेर्दा त लाग्छ कि हामी भगवान् भरोसामा यात्रा गर्दै छौ। सर !’,  यातायात विज्ञ आशीष गजुरेलले  सामाजिक सञ्जालमा पोस्ट गरेको चन्द्रागिरि–चित्लाङ सडक खण्डमा जोखिमपूर्ण ढङ्गबाट गुडिरहेको यात्रु बसको तस्बिरमा जितेन्द्र रसाइलीको प्रतिक्रिया थियो यो।  

रसाइलीले भनेजस्तै यति बेला सर्वसाधारण सडकको भरभन्दा पनि भगवान् भरोसामा यात्रा गर्न बाध्य छन्। जसले नेपाल सडक दुर्घटना बढी हुने मुलुकमध्ये एक पर्ने गरेको छ।  यहाँ बर्सेनि हजारौँ मानिसको मृत्यु हुने गर्छ। विकास देखाउनलाई हतारमा ट्र्याक खोलिदिने तर सुरक्षातर्फ ध्यान नदिने सरकारी प्रवृत्तिको सिकार सर्वसाधारण हुने गरेका छन्। राज्यको यस्तो लापरबाहीले शनिवार एउटा सिङ्गो परिवार उजाडिएको छ।  

शनिवार चन्द्रागिरि–चित्लाङ सडक खण्डको पहरामा भएको दुर्घटनामा एकै परिवारका पाँच जनाको ज्यान गएको  छ।  प्र ३–०१–२३ च ६९८५ नम्बरको फोर्ड गाडी दिउँसो १ः५५ बजे चन्द्रागिरि नगरपालिका–४ पानी घाट हिमचुली सेतो पहरामा दुर्घटनाग्रस्त हुँदा एकै परिवारका ५ जनाको मृत्यु भएको थियो। दुर्घटनामा ३८ वर्षीय डा. महेशकुमार गौतमसहित उनका छोरा चार वर्षीय प्रियांश, ६ वर्षीय छोरी स्मारिका, ६७ वर्षीय ससुरा ओमकारनिधि तिवारी र सासू कल्पना तिवारीको ज्यान गुमाउनुप¥यो ।

‘यो दुर्घटना मात्र हैन, लापरबाहीको नमुना पनि हो,’ चन्द्रागिरि–६ का गोपालप्रसाद त्रिपाठी भन्छन्, ‘सरकार र सडक विभागको लापरबाहीले सर्वसाधारणले ज्यान गुमाउँदै छन्।’ यही ठाउँमा मात्र पाँच वर्षको अवधिमा १० भन्दा बढीको मृत्यु भैसकेको बताउँदै उनले मान्छे मरेपछि मात्र सडक सुधारको कुरा उठ्ने गरेको सुनाए। ‘अब यो बाटो बन्न कति मान्छे मर्नु पर्ने हो रु’ चन्द्रागिरि–६ का गोपालप्रसाद त्रिपाठीले प्रश्न गरे, ‘मान्छे नमरी सडक नबन्ने नै हो त ?’  

यस सडकको बारेमा पटक पटक सदनमा कुरा उठेको पनि हो। तर यसमा सम्बन्धित निकायले ध्यान नदिएको  गुनासो छ। शनिवारको दुर्घटना भएको क्षेत्र काठमाडौँको थानकोट भएर मकवानपुरको थाहा नगरपालिकामा रहेको  चित्लाङ जोड्ने गणेशमान सिंह मार्गमा पर्छ। २०७३ सालमा निर्माण सुरु गरिएको यो सडकको अवस्था लामो समयदेखि दयनीय छ।  

मकवानपुर क्षेत्र नम्बर २ का सांसद महेश बर्तोलाले यस विषयमा पटक–पटक संसद्मा आवाज उठाए पनि त्यसको सुनुवाइ नभएको बताए। ‘१ अर्ब ६ करोडको डिपिआर भएको यो बाटोमा सरकारसँग ३० करोड मागेका थियौँ,’ उनले भने, ‘तर सरकारले २ करोड मात्र दियो।’ ३० करोड दिएको भए कम्तीमा पनि थानकोटदेखि चन्द्रागिरीसम्मलाई सहज बनाउन  सकिने  बर्तोलाको भनाइ छ।  

शनिवारको दुर्घटना उकालोमा गाडी चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ। अहिले दुर्घटना भएकै ठाउँमा साउनमा पनि दुर्घटना भएको थियो। जसमा दुई जनाको मृत्यु भएको थियो।  

दुर्घटनापछि सडकको बारेमा केही चर्चा हुने फेरि सामसुम हुने प्रवृत्तिका कारण यहाँको सवारी दुर्घटना बढ्दै गएको यातायात विज्ञ आशीष गजुरेल बताउँछन्। ‘न सडक राम्रो छ, न त सवारी साधन,’ उनले भने, ‘लाचार सर्वसाधारण भगवान् भरोसा यात्रा गरिरहेका छन्।’ सडक बनाए पनि सवारी चल्नुअगाडि पुर्नुपर्ने सामान्य मापदण्डको पनि ख्याल नगरिने उनले सुनाए।  निर्माणाधीन सडकमा पनि निर्धक्क  सवारी चल्न दिन गरेका कारण पनि दुर्घटना बढेको गजुरेलले सुनाए। ‘बाटो बनेकै हुँदैन, सवारी गुड्न हतारिन्छन्,’ उनी भन्छन्, ‘यसको अनुगमन गर्ने निकाय देखिँदैन।’  

दुर्घटना भएपछि समवेदना दिन सरकारदेखि विपक्षी सबै एक हुने तर निर्माणको काममा भने एकता नहुने कारणले पनि समस्या बढेको उनको बुझाइ छ। दुर्घटना टार्न नसकिए पनि सावधानी र तयारी अपनाउँदा यसबाट हुने क्षति न्यूनभन्दा न्यून तुल्याउन सकिने उनको बुझाइ छ।

गजुरेलले चन्द्रागिरि–चित्लाङजस्तै मुलुकका अन्य सडकको अवस्था पनि नाजुक देख्छन्। सडकका खाल्डाखुल्डी नपुरिनु, ट्र्याकलाई नै सडक सम्झेर यातायात पूर्ण रूपले सञ्चालन गर्न दिनु दुर्घटनाका मुख्य कारण हुन्। सिपालु नभई चालक अनुमतिपत्र लिएर सवारी चलाउनु, ट्राफिक व्यवस्थापन फितलो हुनु, भत्के/उप्केका सडक मर्मत नगरिनु पनि दुर्घटनाका कारण रहेको गजुरेल देख्छन्।  

कतिसम्म भने ट्राफिक चिह्नहरू आवश्यक सबै ठाउँमा छैनन्। त्यसमाथि थोत्रा सवारी साधन, तिनको मर्मत सम्भार नहुनु, क्षमताभन्दा धेरै यात्रु, मादक पदार्थ सेवन गरी सवारी चलाउनु, लामो दूरीमा समेत एउटै चालकलाई चलाउन बाध्य पारिनु र सर्वसाधारणले समेत आफूले प्रयोग गर्ने सवारी साधनबारे खोजखबर नगर्नु जस्ता कारण पनि दुर्घटना बढ्दै गएको उनको बुझाइ छ।  

अझ पछिल्लो समय सार्वजनिक भएको चालक अनुमतिपत्र वितरणमा देखिएको लापरबाहीजस्ता कर्म नरोकिएसम्म यस्ता दुर्घटना भइरहने उनी देख्छन्। ‘नक्कली सवारी चालक अनुमतिपत्र हातमा लिएका चालकबाट झनै बढी जोखिम छ,’ उनले भने, ‘अनुमतिपत्र दिनेलाई कारबाही मात्र हैन, त्यस्ता अनुमतिपत्र बारे पनि सरकारले अनुसन्धान गर्नु जरुरी छ।’  

प्रकाशित: ३ माघ २०८० ११:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App