५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

पशुपतिको मुख्य क्षेत्र नै भाडामा!

पशुपति क्षेत्रको बागमतीपारि हुने गंगा आरतीको प्रत्यक्ष प्रसारण गर्न दिने नाममा पशुपति क्षेत्र विकास कोषले बुढासुब्बा डिजिटल प्रालिलाई पशुपति क्षेत्रको मुख्य क्षेत्र (कोर एरिया) नै भाडा (लिज)मा दिएको पाइएको छ।

विकास कोषले २०८० भदौ ११ गते बुढा सुब्बा प्रालिसँग गरिएको सम्झौतामा बुढा सुब्बालाई पशुपति मन्दिरको मुख्य क्षेत्र रुद्रगाडेश्वर क्षेत्रमा दीप प्रज्ज्वलन गर्न सामग्री उपलब्ध गराउने तथा विकास कोषको लोगो समेत प्रयोग गर्न पाउने अधिकार दिइएको छ। यो सम्झौताअनुसार बुढा सुब्बाले अब दीप प्रज्ज्वलनका लागि सामान उपलब्ध गराउने नाममा मुख्य क्षेत्रमै आरतीनजिकै पसल राख्न पाउनेछ।

२०८० भदौ ११ गते पशुपति क्षेत्र विकास कोषका निमित्त उपनिर्देशक रेवतीरमण अधिकारी र बुढा सुब्बाका कार्यकारी प्रमुख नवराज गिरीले हस्ताक्षर गरी २४ बुँदामा सम्झौता गरेको खुलासा भएको छ।

उक्त सम्झौतालाई दुवै पक्षले गोप्य राखेका छन्। सम्झौताअनुसार बुढा सुब्बाले विकास कोषलाई प्रत्येक महिना एक लाख ६० हजार रूपैयाँ बुझाउनुपर्ने र प्रत्येक वर्ष १० प्रतिशत भाडा बढ्ने सहमति गरिएको छ। सम्झौताअनुसार प्रत्येक महिना एक लाख ६० हजार रूपैयाँ कोषलाई बुझाएर बुढासुब्बाले करोडौंको व्यापार गर्न खोजेको देखिन्छ।

विकास कोष र बुढा सुब्बाबीच भएको सम्झौतामा विकास कोषले बुढा सुब्बालाई आरतीको भिडियो खिच्ने अधिकार मात्र दिएको छैन, यसबाहेक थुप्रै सुविधा दिएको छ।

सम्झौता पत्रमा विकास कोषलाई प्रथम पक्ष र बुढा सुब्बालाई दोस्रो पक्ष भनिएको छ। जसअनुसार पहिलो पक्षले दोस्रो पक्षलाई ‘पशुपति मन्दिरको रुद्रगाडेश्वर क्षेत्रमा दीप प्रज्ज्वलनको कार्य गर्न सामग्री उपलब्ध गराउने’ भनिएको छ।

यसबाट विकास कोषले बुढा सुब्बालाई दीप प्रज्वलनका लागि सामग्री उपलब्ध गराउने नाममा कोर एरियाको केही ठाउँ नै उपलब्ध गराउने छ। जुन ठाउँमा बुढा सुब्बाले व्यापार गर्ने निश्चित छ। यसमा बुढासुब्बाको व्यावसायिक स्वार्थ देखिन्छ।

 सहमतिको १७ नम्बर बुँदामा बुढा सुब्बाले युट्युब वा सामाजिक सञ्जालमा प्रचारप्रसार गर्नुपर्दा प्रथम पक्ष (अर्थात् पशुपति क्षेत्र विकास कोषको आधिकारिक लोगो प्रयोग गर्न पाउनेछ’ भनी सहमति गरिएको छ।

उक्त सम्झौताअनुसार केही दिनअघि बुढा सुब्बाले निकालेको सूचनामा विकास कोषको लोगो प्रयोग गरिएको थियो।

बुढा सुब्बाको सूचनामा ‘श्री पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र मुख्य क्षेत्रमा हुने दीप प्रज्ज्वलनको भिडियो खिच्न सख्त मनाही छ,’ भनिएको छ।

सूचनामा भनिएको छ, ‘यहाँ खिचिएका भिडियो सामग्री फेसबुक, इन्स्टाग्राम, टिकटक तथा युट्युबमा व्यावासायिक प्रयोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपिराइट ऐनअन्तर्गत कारबाही हुने जानकारी गराउँछौं।’

बुढा सुब्बा प्रालिले निकालेको सूचनामा पशुपति क्षेत्र विकास कोषको लोगो प्रयोग गरी कोषको नामसमेत राखेर प्रकाशित गरिएकोमा कार्यकारी निर्देशक पुनले आपत्ति जनाएकी थिइन्। बुढा सुब्बाको सूचनामा कोषको कुनै पनि संलग्नता नरहेको उनको दाबी थियो।

विकास कोष र बुढासुब्बाबीच गरिएको सम्झौतामा ‘भगवान् श्रीपशुपतिनाथ र यस क्षेत्रका विषयवस्तुसम्बन्धी श्रव्यदृष्यहरू सानो पर्दाका मोबाइल एप्लिकेसन, फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जाल र भविष्यमा आउने डिजिटल प्रविधिमार्फत आधिकारिक रूपमा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा दोस्रो पक्षले बिक्री वितरण गर्न पाउने छ,’ भनी सहमति गरिएको छ।

यसैगरी, विकास कोष र बुढा सुब्बाबीच भएको सम्झौतामा ‘प्रथम पक्ष अर्थात् कोष र भगवान श्रीपशुपतिनाथबारेमा फेसबुक, युट्युब, टिकटक, मोबाइल एप्लिकेसन, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालमार्फत प्रकाशित एवं प्रसारित हुने समाचारहरूको नियमित अनुगमन गर्ने कार्य दोस्रो पक्षले गर्नुपर्नेछ,’ भनिएको छ।

यसैगरी, सहमतिमा भनिएको छ, ‘आरती एवं दीप प्रज्ज्ववलमा हुने कार्यक्रमपश्चात सेवाग्राहीलाई भिडियो उपलब्ध गराउने, युट्युबलगायतका अन्य सामाजिक सञ्जालमार्फत सञ्चार प्रविधिको प्रयोग गरी प्रचारप्रसार गर्ने कार्य दोस्रो पक्षले गर्नुपर्नेछ ।’

बुढा सुब्बासँग सम्झौता हुँदा कोषको कार्यकारी निर्देशकमा घनश्याम खतिवडा थिए। अहिले कार्यकारी निर्देशक फेरिएका छन्। बुढा सुब्बासँग गरिएको सम्झौताको विषयमा कोषका पदाधिकारी, तथा प्रवक्तासँग सम्पर्क गर्न खोज्दा औपचारिक रूपमा कोही पनि बोल्न चाहेनन् ।

प्रकाशित: २६ पुस २०८० ०२:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App