५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

विवेकशून्य राज्य

डा. गणेश गुरूङ, आप्रवासनविद्

अहिले नेपाली समाज निराशाले ग्रसित छ। त्यसका तमाम कारणहरू छन्। प्रभाव पनि अनेक प्रकारका देखिन थालेका छन्। दैनिक १८ जनाले त आत्महत्या नै गर्छन्। निकै गम्भीर प्रकारको डिप्रेसनको अवस्थाले मात्र त्यो परिस्थिति बन्छ।

त्यो निराशाको उपज हो। निराशा बढ्नुका मुख्य कारण बेरोजगारी, आर्थिक मन्दी, कुशासन आदि हुन्। बेरोजगारी र आर्थिक मन्दीले धनी वर्गलाई छुँदैन, मध्यम र निम्न आय भएका वर्ग भने बढी नै समस्यामा पर्छ।

समाज यसरी निराशाले ग्रसित हुँदा सरकारले अभिभावकीय भूमिका निर्वाह गरेर सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने हो तर सरकारका गतिविधिले निराशा, हतासाबाहेक केही दिन सकिरहेको छैन। यो कुरा विगतका सरकारका पालादेखि नै जारी छ।

सरकारले सकारात्मक सन्देश सिर्जना गर्न नसक्दाको रोष नागरिकले देखाउन थालेका छन्।

यस्तोमा कतिपय अवस्थामा नागरिक अराजक रूपमा पनि उत्रिन सक्छन्। सामाजिक सञ्जालदेखि सडकसम्म त्यस्तो अवस्था देखिन थालेको छ। यही रोष राजावादीका नाममा ऋण नतिर्ने नाममै देखियो।

शुक्रबारको घटना पनि राज्यको लापरबाही र विवेकशून्यताका कारण भएको हो। बेरोजगार युवाका लागि खाडी र मलेसियाभन्दा दक्षिण कोरिया आकर्षक गन्तव्य हो। त्यसैले त्यहाँ जान चाहने युवाको ठुलो संख्या छ। ती युवालाई जानाजान आन्दोलित हुने अवस्था सिर्जना गर्नु राज्यका निकायको चरम लापरबाही हो।

वैदेशिक रोजगारीका क्षेत्रमा राज्यकै निकायदेखि नै दलालीकरण छ। तर कोरियाको प्रक्रिया केही व्यवस्थित थियो। त्यसमा पनि अहिले यस्तो किसिमको अवस्था सिर्जना भयो।

अदालतले आज आवेदन लिन हुने र हिजो लिन नहुने भनी आदेश दिने अवस्था कसरी बन्यो? त्यहाँ पनि शंका गर्ने ठाउँ छ। यस्तो निराशाको अवस्थामा कसरी सहज हुने/बनाउने भनेर राज्यका निकायले पनि ध्यान दिनुपर्थ्याे।

अर्कातिर असन्तुष्ट युवाहरू आन्दोलित भएका ठाउँमा मन्त्रीले किन गाडी लिएर गएको? सुरक्षा निकायले मन्त्रीलाई किन त्यहाँ जान नरोकेको? प्रहरीले पनि स्थिति नियन्त्रणमा लिन किन हतारहतार गोली चलाउनुपरेको? यसले पनि राज्यबाट फेरि गम्भीर भूल भएको छ।

(डा. गणेश गुरुङसँग नागरिक संवाददाता अरुण बमले गरेको कुराकानीमा आधारित।)

प्रकाशित: १५ पुस २०८० ०२:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App