६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

किन छाडिए अध्यागमनका उपसचिव ?

नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग साँठगाँठ देखिएका एक कर्मचारीलाई प्रहरी कार्यालय ल्याउँदाल्याउँदै बाटैबाट छाडिएको पाइएको छ। 

सुरुमा मंसिर २७ अघि नरवीर खड्कालाई पक्राउ गर्दा अध्यागमन कार्यालयमा कार्यरत उपसचिव राम थापालाई पनि प्रहरीले पक्राउ गरेको थियो। तर उनी खड्का हुन् कि थापा हुन् भन्ने चिन्न नसकेकै कारण छुटेको उच्च प्रहरी अधिकारीको दाबी छ। तर उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी कर्मचारी भने त्यसलाई स्विकार्दैनन्। 

समातेर ल्याउँदाल्याउँदै उपसचिव थापा बाटैबाट छुटेको हुन सक्ने भन्दै आन्तरिक रूपमा सूक्ष्म अनुसन्धान भइरहेको बताइएको छ। ‘कि त हाम्रो प्रहरीले चिनेन कि त कसैको दबाब पर्‍यो, उनका बारेमा थप अनुसन्धान भइरहेको छ। ढिलोचाँडो सम्पर्कमा ल्याउनेछौं,’ प्रहरीको उच्च स्रोतले भन्यो। यो विषयले प्रहरी संगठनभित्र पनि हलचल पैदा गरेको छ।

भिजिट भिसा दुरुपयोगमा थापाको संलग्नता रहेन/रहेको भन्ने विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुखसमेत रहेका सहसचिव गोगनबहादुर हमालले आफूलाई जानकारी नभएको बताए।

‘उहाँ इन्जिनियर हुनुहुन्छ। भिजिट भिसाको दुरुपयोगमा उहाँको भूमिका हुँदैन भन्ने मेरो बुझाइ हो। तर संलग्न भए/नभएको बारेमा जानकारी छैन,’ उनले भने। प्रहरीले खोजिरहेको र पक्राउ पर्ने सम्भावना देखेपछि रमाना दिएर उपसचिव थापालाई दरबन्दी नभएको ठाउँ काठमाडौं जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ।  

उनलाई पठाइएको ठाउँमा आइटी उपसचिवको दरबन्दी नै छैन। प्रहरीले नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा एयरलाइन्स र अध्यागमनकै अधिकारीको संलग्नता रहेको भन्दै अध्यागमन कार्यालयमा कार्यरत अधिकृत नरवीर खड्कालगायत ३२ जनालाई पक्राउ गरेको थियो। उनीहरूमध्ये केही छुटेका छन्। 

आइटी इन्जिनियरसमेत रहेका उपसचिव थापा भने गृह मन्त्रालयका एक विशिष्ट व्यक्तिको भनसुनबाट प्रहरी कस्टडीमा नपुगेको स्रोतको दाबी छ। 

‘उहाँलाई कोही न कोहीले जोगाएको छ। यसमा उपप्रधान र गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि चासो थियो’, स्रोतले भन्यो। प्रहरीले भने तत्काल उनको सम्पर्क र सम्बन्ध देखिएको भए पनि पक्राउ परिहाल्ने आवश्यक प्रमाण खुल्ने कागजात नभएको ब्रिफिङ गरेको थियो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरलाई पनि यो विषयमा जानकारी नगराइएको स्रोतको भनाइ छ।  

गृह मन्त्रालयका उच्च अधिकारीबाट सिधै प्रहरी प्रधान कार्यालका उच्च अधिकारीलाई फोनमार्फत ड्युटीमा रहेका प्रहरी कर्मचारीलाई उपसचिव थापाबारे जानकारी गराई पक्राउ नगर्न आदेश भएपछि खड्कासँगै रहेका थापालाई प्रहरीले नचिनेको स्रोतले जनाएको छ। ‘उहाँ (राम थापा) उपसचिवबारे मलाई कुनै ब्रिफिङ भएन । यो विषयमा बुझ्नेछु,’ एसएसपी राठौरले भने। उनले सो विषयलाई गम्भीर रूपमा लिने पनि बताए।

भिजिट भिसामा खाडी मुलुक, मलेसिया तथा जोखिम भएका अन्य मुलुकमा जाने यात्रुलाई उनीहरूको विवरण सम्बन्धित कूटनीतिक नियोग तथा अध्यागमन विभागमा तोकिएबमोजिम प्रणालीमा (सफ्टवेयर प्रणाली/अनलाइन प्रणाली) अनिवार्य रूपमा दर्ता गर्ने व्यवस्था मिलाउनुपर्ने व्यवस्थाविपरीत थापाले सफ्टवेयरबाटै मिलाउने गरेको प्रहरी स्रोतको दाबी छ। 

सफ्टवेयरबाट मिलाएपछि कहीँकतै कमजोरी नदेखिने भएकाले धेरै जसो भूमिका उनको रहने गरेको प्रहरीले जनाएको छ। ‘यो विषयमा हामी अनुसन्धान गरिरहेका छौं। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली यसमा लागिरहेको छ,’ स्रोतले भन्यो।

विभिन्न ‘म्यानपावर कन्सल्टेन्सी’ले नक्कली कागजात बनाई अध्यागमन विभाग र नेपाल एयरलाइन्स (नेपाल वायु सेवा निगम) का कर्मचारीको सहयोगबाट मानव तस्करी गर्दै आएको रहस्य केही समयअघि खुलेको थियो। उपत्यका प्रहरी अनुसन्धान कार्यालयले मंसिर २६ र २७ गते अध्यागमनमा कार्यरत अधिकृत र एयरलाइन्समा कार्यरत छैटौं तहका अधिकृतलाई पक्राउ गरेपछि यस्तो रहस्य खुलेको थियो। 

पक्राउ परेकाकै बयानका आधारमा अध्यागमन विभागमा कार्यरत अधिकृत नरवीर खड्का र निगममा कार्यरत छैटौं तहका अधिकृत होमनाथ पोखरेल पक्राउ परेपछि सरकारी कर्मचारीकै संलग्नतामा नक्कली कागजात र भिजिट भिसामा सोझासाझा नागरिकलाई विदेश पठाउने गरेको खुलासा भएको थियो।

एयरलाइन्सका कर्मचारीले अध्यागमन कार्यालयमा सेटिङ गरी भिजिट भिसामा युवालाई विदेश पठाउन सहयोग गरेको पाइएको थियो। रोलेक्स ट्राभल एजेन्टका सञ्चालक देवराज खनालसँगको मिलेमतोमा नक्कली भिजिट भिसामा विदेश पठाउने गरिएको प्रहरीको भनाइ छ।

त्यसरी मिलेमतोमा उनीहरूलाई विदेश पठाएबापत खनालबाट मात्रै २० लाख रूपैयाँ पोखरेलले लिएको जनाइएको छ। त्यसबापत अध्यामन कार्यालयमा कार्यरत कर्मचारीहरूले दिनहुँ करोडौं रुपैयाँ घुस लिने गरेको प्रहरीको दाबी छ।

प्रकाशित: १५ पुस २०८० ०१:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App