५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

यात्रुलाई चौरमै राखेर असुलिन्छ सेवा शुल्क

भवन नहुँदा मुगुको ताल्चा विमानस्थलको चौरमा बसेका यात्रुहरू। तस्बिर: गोविन्द केसी/नागरिक

दुर्गमका एयरपोर्टमा सुविधा सम्पन्न एयरपोर्ट जस्तै चर्को यात्रु सेवा शुल्क असुल्ने गरेको पाइएको छ। डेढ वर्षसम्म १० रुपैँया रहेको सेवा शुल्क अहिले ह्वातै बढेर प्रतिव्यक्ति ३ सय रुपैँया पुगेको हो। जसका कारण दुर्गमका यात्रुहरू चौरमै बसेर चर्को यात्रु सेवा शुल्क तिर्न बाध्य भएका छन्।

यात्रुहरूलाई एयरपोर्टमा सुविधा दिनका लागि यात्रु सेवा सुविधा शुल्क यात्रुले टिकट खरिद गर्दा वायुसेवा सञ्चालन कम्पनीलाई बुझाउने गर्दछन्। त्यो सेवा शुल्क नेपाल नागरिक उड्डयन प्राधिकरणलाई वायुसेवा कम्पनीले निश्चित समयमा बुझाउने गर्दछन्। तर, दुर्गमका यात्रुले शुल्क तिरे पनि सेवा पाएका छैनन्। बस्ने भवन, शौचालयदेखि खाने पानीबाट वञ्चित छन्। मुगुको ताल्चा एयरपोर्टमा खानेपानी त के बस्ने घर समेत छैन। यात्रुहरू चौरमा बस्नुपर्ने बाध्यता छ। पानी परेको बेला छाता ओढेर चौरमा विमानको प्रतीक्षा गर्नुपर्दछ।

सेवा शुल्कको नाममा यात्रुहरूलाई कुनै पनि सेवा नदिएरै नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्गमका यात्रुसँग चर्को शुल्क लिएको आरोप यात्रुहरूले लगाएका छन्। दुर्गमको एयरपोर्टहरूमा सुविधाविनै सेवा शुल्कको नाममा शुल्क असुलेर टिकट दर पनि बढेको यात्रुहरू बताउँछन्। डेढ वर्षअघि प्रतिव्यक्ति १० रुपैँया रहेको सेवा शुल्क १ सय हुँदै अहिले ३ सय रुपैँया पुगेको हो। राज्यले कर्णाली लगायत पिछाडिएको क्षेत्रमा सहुलियत दिनुपर्ने ठाउँमा सेवा शुल्कको नाममा लुट मच्चाइरहेको मुगुका स्थानीयहरू बताउँछन्।

दुर्गमका एयरपोर्टहरू हुम्ला, मुगु, डोल्पा, जुम्ला र बाजुरामा यात्रुहरूलाई सेवा नदिएरै चर्को सेवा शुल्क प्राधिकरणले लिएको हो। सुविधा सम्पन्न एयरपोर्टमा सेवा शुल्क ४ सय रुपैँया रहेको छ। तर, दुर्गमका यात्रुहरूले ३ सय रुपैँया सेवा शुल्क मार्फत तिर्नु परेको हो। सुविधाविना आफूहरूलाई मंहगो सेवा शुल्क लिने गरेको मुगुका रनबहादुर सेजुवालले बताए। विगतमा १० रुपैयाँ सेवा शुल्क भएपनि १ सय रुपैँया हुँदै अहिले नेपाली र विदेशी सबैलाई यहाँबाट ३ सय रुपैयाँ सेवा तोकिएको मुगुस्थित ताल्चा विमानस्थलका प्रमुख सन्तोष गौतमले बताए। 

प्रकाशित: ११ पुस २०८० ११:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App