६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

लागुऔषध जालो तोड्दै प्रहरी

साढे तीन महिनामा ३० जना अभियुक्तसहित २९ ग्राम बढी खैरो हेरोइन बरामद

लागुऔषधको कारोबारी खैरो हेरोइनसहित कपिलवस्तुको चाकरचौडा नाका हुँदै कपिलवस्तु नगरपालिका ९ जगदीशपुर आउँदै छ भन्ने प्रहरीलाई सुराकी आयो। त्यही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पिपराका पाँचजना प्रहरी पचेहरामा कारोबारीलाई पक्राउ गर्न कुरिबसे।

पकडीबाट लु.२५ प २७०६ नम्बरको मोटरसाइकलमा सवार भई आइरहेका कपिलवस्तु नगरपालिका ११ बर्सेउलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ आठ ग्राम आठ सय ९० मिलिग्रामसहित सोही नगरपालिका ९ बुद्धचोक बस्ने युवराज थारूलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

मोटरसाइकलको टुल बक्समा दुईवटा प्लास्टिक थैलीमा लुकाइराखेको अवस्थामा खैरो हरेरोइन बरामद गरिएको थियो।

मंसिर अन्तिम साता कपिलवस्तुको बाणगंगा नगरपालिका ३ कर्महनामा चार ग्राम बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका परे। तौलिहवाबाट ४ नम्बर जितपुरतर्फ आउँदै गरेको लु १८ प ५५०८ नम्बरको मोटरसाइकललाई रोकेर जाँच गर्ने क्रममा दुईजना खैरो हेरोइनसहित पक्राउ परेका हुन्।

बाणगंगा नगरपालिका १ का विजय राई र उक्त मोटरसाइकलपछाडि सवार जिल्ला कपिलवस्तु बाणगंगा नगरपालिका २ का दिनेश घिमिरे चार ग्राम दुई सय मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका थिए। जाँच गर्ने क्रममा पोका लुकाइछिपाइ राखेको अवस्थामा सो लागुऔषध फेला पारेको थियो।

लागुऔषधको जालो तोड्न पिपरा प्रहरी चलाएको विशेष अभिायनपछि कारोबारी धमाधम पक्राउ परी रहेका छन्। साढे तीन महिनाअघि इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षक गोपाल रायमाझी आएपछि बाणगंगामा लागुऔषधविरुद्ध विशेष अभियान चलाएका थिए।

 जनगुनासो बढेपछि आफूले लागुऔषधविरुद्ध विशेष अभियान चलाएको प्रहरी निरीक्षक रायमाझीले बताए।

बाणगंगा नगरपालिकामा जिल्लामै सबैभन्दा बढी लागुऔषध कारोबार र दुव्र्यसनी रहेको नगरवासीको भनाइ छ। इप्राका पिपराले लागुऔषध दुव्र्यसनी र कारोबारी बढेपछि चलाएको विशेष अभियानमा साढे तीन महिनामा १५ मुद्दामा ३० जना पक्राउ परेको प्रहरी निरीक्षक रायमाझीले बताए। सो अवधिमा २९ ग्राम ३८० मिलिग्राम खैरो हेरोइन बरामद भएको छ।

भारतमा एक ग्रामको १० देखि २० हजार पर्ने गर्छ। दुव्र्यसनी र कारोबारी भारतीय बजारमा गएर खैरो हेरोइनसहित अन्य लागुऔषध पनि लुकाइछिपाइ ल्याउने गर्छन्। 

कारोबारीले पुरिया बनाई प्रति पुरिया पाँच सयदेखि एक हजार रुपैयाँसम्ममा बिक्री गर्ने गर्छन्। लागुऔषध कारोबारी र दुव्र्यसनीमा विशेषगरी युवा र विद्यार्थी नै फसेका छन्।  

‘हामीले बाणगंगा क्षेत्रमा लागुऔषधविरुद्ध आक्रमक अभियान चलाएका छौं’, उनले भने। बाणगंगा क्षेत्रमा लागुऔषध कारोबार र दुव्र्यसनी बढेपछि आफूले त्यस क्षेत्रमा निगरानी बढाउन निर्देशन दिएको प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए।

त्यहीअनुसार प्रहरीलाई सफलतासमेत मिलेको बताए। प्रहरीको यो अभियानलाई नागरिकले समेत साथ दिनुपर्ने उनले बताए।

बाणगंगा नगरपालिका क्षेत्रमा लागुऔषधविरुद्धको जनचेतना कार्यक्रमसमेत सञ्चालन गरिएको उनले बताए।

कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकरा घिमिरेले बाणगंगा क्षेत्रका युवा लागुआषध दुर्व्यसनमा फस्दै गएकाले प्रहरीले चलाएको अभियानको प्रशंसा गरे। अभियानलाई अझ तीव्रता दिनुपर्ने र यो अभियानमा सबैले साथ दिनुपर्नेसमेत उनले बताए।

प्रकाशित: ५ पुस २०८० ०५:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App