६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

के खनिज इन्धन अन्तको यात्रामा कोप–२८ सफल रह्यो ?

बढ्दो जलवायु सङ्कटलाई समाधान गर्न दुई सातासम्म जारी भाषण, कैयन जलवायु वार्ता तथा सीमित रूपमा भएका प्रदर्शनीको  श्रृखला बुधवार दुबईमा टुङ्गिएको छ।

विश्वका २ सय देशका झन्डै १ लाख सहभागी रहेको संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलन (कोप–२८) ले आशा गरेअनुसार खनिज इन्धनको विस्थापन सम्बन्धि तत्काल ठोस निर्णय लिन असफल रहे पनि पहिलो पटक तेल, ग्यास तथा कोइलाको प्रयोगबाट टाढा रहने प्रतिबद्धता व्यक्त गरेको छ। यो विषयमा सहमति  हुन नसक्दा मङ्गलवार सम्पन्न हुनुपर्ने सम्मेलन १ दिनले लम्बिएको थियो।

कोप २८ सम्मेलनले गरेको पेरिस सम्झौताको विश्वव्यापी प्रगति समीक्षा९ग्लोबल स्टकटेक०को अन्तिम दस्ताबेजमा खनिज इन्धनको विस्थापन भन्ने विषय उल्लेख गरिएको छैन। तर यसबाट टाढिन ऊर्जा प्रणालीलाई खनिज इन्धनबाट रूपान्तरण गर्ने (ट्रान्जिसनिङ अवे) भनिएको छ।

‘न्यायपूर्ण, व्यवस्थित र समान हिसाबले ऊर्जा प्रणालीलाई खनिज इन्धनबाट टाढा राख्ने दिशामा यो महत्त्वपूर्ण दशकमा गर्नुपर्ने कार्यहरूलाई तीव्रता दिन र विज्ञान सम्मत हिसाबले सन २०५०सम्म खुद शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न आवश्यक छ,’ सम्मेलनले जारी गरेको ग्लोबल स्टक टेक दस्ताबेजमा भनिएको छ।

संयुक्त राष्ट्र संघले यो निर्णयलाई ‘खनिज इन्धनको अन्तको सुरुवात’ भनेको छ। कोप २८ का अध्यक्ष डा। सुल्तान अल जावेरले विश्वका राष्ट्रले ‘यथार्थतासँग जुधेर सही दिशा निर्धारण गरेको’ प्रतिक्रिया दिएका छन्।

दुई सातासम्म भएको रस्साकस्सीपछि जलवायु सम्बन्धी संयुक्त राष्ट्र संघीय महासम्धी संरचना (युएनएफसीसीसी) सदस्य राष्ट्रले पृथ्वीको तापमान वृद्धिदरलाई १.५ डिग्री सेन्टिग्रेड सीमित राख्न गहिरो, शीघ्र र दिगो प्रयासलाई महत्त्व दिएका छन्।

जलवायु सम्बन्धी पेरिस सम्झौताको भएको प्रगति समीक्षा (स्टक टेक) ले पृथ्वीको तापमान वृद्धिलाई १.५ डिग्रीमा सीमित राख्ने दिशामा विश्व ‘अफट्रयाक’मा रहेको र सन् २०१९को तहभन्दा सन् २०३०सम्म हरित गृह ग्यास उत्सर्जनलाई ४३ प्रतिशतमा झार्न विश्वले सुदृढ जलवायु कार्य गर्नुपर्ने आवश्यकतालाई महत्त्व दिएको छ।

सम्मेलनले जारी गरेको ग्लोबल स्टक टेकमा सन् २०३० सम्म नवीकरणीय ऊर्जा क्षमतालाई ३ गुणाले बढाउने भनिएको छ भने समयसारिणी नतोकीकन कोइलाको खपतलाई न्यूनीकरण गर्ने गतिलाई तीव्र पार्ने, उद्योगहरूलाई कार्बनविहीन पार्न कार्बन क्याप्चर तथा भण्डारण प्रविधिमा जोड दिइएको छ। कार्बन क्याप्चर तथा हाइड्रोजन प्रविधिले हरित गृह ग्यास उत्सर्जनलाई थोरै मात्र भूमिका खेल्ने र यो प्रविधि प्रमाणित भैनसकेको विज्ञ मान्छन्। 

यसैगरी नवीकरणीय, आणविक तथा शून्य तथा न्यून कार्बन उत्सर्जन प्रविधिको विकासमा तीव्रता दिन र खनिज इन्धनमा दिइने सहुलियतलाई सकेसम्म छिटो प्रतिस्थापन गर्नुपर्नेमा सम्मेलनले जोड दिएको छ।

सम्मेलन समाप्तिको अवसरमा बोल्दै जलवायु सम्बन्धी संयुक्त राष्ट्र संघीय महासम्धी संरचना (युएनएफसीसीसी) का कार्यकारी सचिव सिमोन स्टेलले नवीकरणीय ऊर्जा दक्षतालाई ३ गुणाले बढाउने, विश्वव्यापी अनुकूलन लक्ष्य हासिल गर्न संरचना तयार गर्ने, हानी नोक्सानी कोषलाई  सञ्चालन गर्ने लगायतका विषयमा सम्मेलनले महत्त्वपूर्ण सफलता हासिल गरेको बताएका छन्।

बेलायतका जलवायु मन्त्री ग्राहम स्टुआर्टले सम्मेलनको यो निर्णय खनिज इन्धनको अन्ततर्फको यात्राको सुरुवात भनेका छन्।

‘यो ऐतिहासिक क्षण हो र यसलाई कार्यान्वयन गर्न विश्वले आवश्यक कार्य गर्न आवश्यक छ। हामीले संयुक्त रूपमा खनिज इन्धनबाट पहिलो पटक टाढिने प्रतिबद्धता व्यक्त गरेका छौ,  मन्त्री स्टुआर्टले सञ्चारकर्मीलाई बुधवार भनेका छन्।

उता, वातावरण र जलवायु न्यायको क्षेत्रमा काम गर्दै आएका अन्तर्राष्ट्रिय संस्थाले यो निर्णय पर्याप्त नरहेको बताएका छन्। ग्रिनपिसले सहमतिको भनिएको रूपान्तरण ‘न्यायुपुर्ण र तीव्र गतिमा’ नहुने प्रतिक्रिया दिएको छ। 

यसैगरी एक्सनएड इन्टरनेशनले ‘विश्वले जलवायु कार्यको लागि चाहना व्यक्त गरेको तर खनिज इन्धनमुक्त विश्व बनाउन आवश्यक वित्तीय सहयोग जुटाउन नसकेको’ भनेको छ। जलवायुजन्य जोखिमबाट अत्यधिक प्रभावित तटीय राष्ट्र समोआले सहमति हुने बेला आफूहरू सम्मेलन स्थलमा नभएको बताएको छ। भारतका जलवायु अभियन्ता हरजित सिंहले सङ्कट समाधानमामा धनी राष्ट्रले वित्तीय जिम्मेवारी नलिएको प्रतिक्रिया दिएका छन्।

‘जलवायु सङ्कटको मूल कारक रहेको खनिज इन्धनका विषयमा कोप २८ले आशाको सञ्चार गराएको छ तर खनिज इन्धन उद्योगलाई अप्रमाणित प्रविधिको भरमा आफ्नो जिम्मेवारीबाट भाग्ने अवसर पनि दिएको छ,’ उनले नागरिकसँग भनेका छन्।

दुई सातादेखि जारी यो सम्मेलनमा खनिज इन्धन विस्थापन, अनुकूलन, जलवायु वित्त, तथा ऊर्जाको न्यायपूर्ण रूपान्तरण तथा समावेशिता जस्ता विषय  प्रमुख मुद्दा रहेका थिए। आगामी कोप २९ अजरवैजानको वाकुमा अर्को वर्षको नोभेम्बर हुने तय भएको छ भने त्यसपछिको सम्मेलन ब्राजिलमा हुनेछ। 

प्रकाशित: २८ मंसिर २०८० ०६:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App