५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

भक्तपुरको मार्गनिर्देशक ‘सय वर्षपछिको भक्तपुर र ५० वर्षपछिको नेपाल’

भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले ‘सय वर्षपछिको भक्तपुर र ५० वर्षपछिको नेपाल’ पुस्तकलाई आधार बनाई भक्तपुर नगरपालिकाले काम गर्दै आएको बताएका छन्।

भक्तपुर नगरपालिकाका गतिविधिहरूको स्थलगत अवलोकन तथा छलफलका लागि आएको धनुषा जिल्लाका दुई स्थानीय तहका प्रमुख र उपप्रमुखसहितको प्रतिनिधिमण्डललाई स्वागत गर्दै नगरप्रमुख प्रजापतिले यस्तो बताएका हुन्।

‘दुई दशकअघि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) द्वारा लिखित ‘सय वर्षपछिको भक्तपुर र ५० वर्षपछिको नेपाल’ पुस्तकलाई मूल मन्त्र बनाएर काम गर्दै आएका छौं, प्रजापतिले भने।

उनले भक्तपुर नगरपालिकाले घोषणापत्रलाई आधार बनाई संविधानले कल्पना गरेको समाजवाद उन्मुख कार्य गर्दै आएको पनि स्पष्ट पारे। स्वास्थ्य क्षेत्रअन्तर्गत घरदैलो नर्सिङ सेवा, वडा वडामा स्वास्थ्य केन्द्र स्थापना, सय शय्याको ख्वप अस्पताल सञ्चालन गर्दै २०–२५ मिनेटभित्र नागरिकहरूलाई स्वास्थ्य केन्द्र पुग्ने व्यवस्था गर्दै आएको उनको भनाइ थियो।

उनले भने, ‘देशका विभिन्न नगरपालिकाका जनप्रतिनिधिहरू भक्तपुरका शैक्षिक संस्था अवलोकन गर्न आउँछन् र आफ्ना पालिकामा पनि ख्वपजस्तै शैक्षिक संस्था खोल्ने प्रतिबद्धता व्यक्त गरेर जान्छन्।’

नगरपालिकाले इन्जिनियरिङका दुई, नर्सिगको एक, कानुनको एक गरी आठ कलेज सञ्चालन गर्दै आएको छ। ती कलेजमा सस्तो तथा गुणस्तरीय पढाइ भइरहेको छ।

कार्यक्रममा धनुषाको सहिदनगर नगरपालिकाका उपप्रमुख सुनिताकुमारी सिंहले भ्रमणको उद्देश्यमाथि प्रकाश पार्दै भक्तपुरले शिक्षामा गरिरहेको सकारात्मक अभ्यासको अनुशरण गर्ने बताइन्।

नगर शिक्षा शाखा, भक्तपुरका प्रमुख साधुराम फुयालले भक्तपुर नगरपालिकाभित्र सामुदायिक र संस्थागत गरी जम्मा ९२ विद्यालय रहेकामा भक्तपुर नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयको शैक्षिक गुणस्तरमा रहेको अन्तरलाई कम गर्दै लैजाने प्रयास गरिरहेको जानकारी गराए।

प्रकाशित: २६ मंसिर २०८० ०३:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App