१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

विश्वविद्यालयका गाडीहरू रातो प्लेटमा

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ले सवारी साधनको नम्बर प्लेटको वर्गीकरण गरेको छ।

सरकारी, सार्वजनिक, निजी, पर्यटक, सङ्गठित संस्था वा संस्थान, कूटनीतिक, प्रधानमन्त्री, मन्त्री तथा राष्ट्रपति चढ्ने सवारी साधनलाई छुट्टा छुट्टै नम्बर प्लेट राख्नुपर्ने ऐनमा व्यवस्था छ।

ऐन अनुसार निजी सवारी साधनको नम्बर रातो प्लेटमा सेतो अक्षरले लेखिएको हुनुपर्छ तर चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका सबैजसो गाडीहरू रातो प्लेटमा चलिरहेका छन्।

विश्वविद्यालयका पदाधिकारी चढ्ने गाडी सहित ट्याक्टर भ्यानमा रातो प्लेट नै रहेको सामान्य प्रशासन विभागले जानकारी दिएको छ। ‘उपकुलपति, रजिस्ट्रार, परीक्षा नियन्त्रक, सेवा आयोगका सदस्य अनुसन्धान तथा प्रसार निर्देशक लगायतका पदाधिकारी चढ्ने विश्वविद्यालयका १० वटा गाडी छन्,’ प्रशासन महाशाखाका स्रोतले भन्यो ‘सबै गाडीमा रातो प्लेट नै छ।’

सरकारको पूर्ण स्वामित्वमा रहेको सवारी साधनको नम्बर सेतो प्लेटमा रातो अक्षरले लेखिएको हुन्छ। सोही अनुसार विश्वविद्यालयका सवारी साधनको नम्बर प्लेट सेतो हुनुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्मा बताउँछन्। ‘कृषि तथा वन विश्वविद्यालय पूर्ण सरकारको स्वामित्वमा रहेको छ। त्यहाँ किनिएका सवारी साधन सरकारी नै हुन्छन्,’ शर्माले भने ‘उनीहरुले सेतो प्लेट प्रयोग गर्नुपर्छ।’ उनले विशेष कारण मात्र सरकारी गाडीमा रातो प्लेट प्रयोग गर्न पाइने व्यवस्था रहेको बताए। त्यसका लागि गृह मन्त्रालयको स्वीकृत हुनुपर्ने उनले जानकारी दिए। ‘वास्तविक कुरा के हो मैले बुझ्छु,’ उनले भने ‘त्यसरी सरकारी गाडीमा रातो प्लेट राख्न नपर्ने हो।’

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले बिलबुक अनुसार सवारी साधन सञ्चालन गर्नुपर्ने बताए। ‘उनीहरुले सम्बन्धित यातायात कार्यालयको डकुमेन्ट हेर्नुपर्छ। विश्वविद्यालयको नाममा निकालेको छ कि व्यक्तिको नाममा,’ उनले भने ‘विश्वविद्यालयको नाममा भए रातो प्लेट राख्न पाइँदैन।’ सवारी चेक जाँचका क्रममा बुझ्ने उनले बताए।

सरकारी सवारीको सेतो, निजीको रातो, संस्थानको पहेँलो, कूटनीतिक नियोगको निलो, मन्त्रीको रातो र निलो नम्बर प्लेट हुनुपर्ने कानुनी प्रक्रिया रहेको यातायात व्यवस्था कार्यालय भरतपुरका प्रमुख पदमप्रसाद बजगाईले जानकारी दिए। यसरी सवारी साधन प्रयोग गर्दा सार्वजनिक सम्पतीको दुरुपयोग हुने सम्भावना बढी हुने उनले बताए। ‘रातो प्लेट भएपछि व्यक्तिगत रुपमा प्रयोग गर्न पाइयो। पास नलिई बिदाको दिनमा चलाउन पाइयो,’ उनले भने ‘व्यक्तिगत स्वार्थ बढी हुन सक्छ।’ यो विषय कानुनीभन्दा पनि नैतिक कुरा भएको उनले उल्लेख गरे।

सेतो प्लेट फेरेर रातो बनाई गाडी चढ्नेहरूमा विभिन्न संवैधानिक निकायका प्रमुख तथा सदस्य छन्। सरकारी गाडीको दुरुपयोग गर्ने सरकारी उच्च अधिकारीको संख्या ५ सयदेखि १ हजारसम्म रहेको आङ्कलन छ।

यातायात व्यवस्था कार्यालय एकान्तकुनाका सूचना अधिकारी पवित्र कुँवर विश्वविद्यालय र विद्युतका अधिकांश गाडीमा रातो प्लेट रहेको बताउँछन्। पहिले नै गल्ती भएकाले कानुन कार्यान्वयन गर्न कठिन भएको उनको भनाइ छ।

‘नियमन गर्न खोज्यो पहिले नै लगेको भनेर भन्नुहुन्छ,’ उनले भने ‘हाम्रो कार्यालयको गल्ती पहिले नै भइसकेको छ।’ नेपाल सरकारले सूचना निकालेर सेतो बनाउन अनुरोध गर्ने हो फेर्न सकिने उनले बताए। केही सवारी साधनलाई रोकेर पनि राख्यौँ। दुरुपयोग गर्ने होइन बेच्ने होइन् भन्छन्, उनले भने ‘स्थानीय तह र विश्व विद्यालयलाई स्वायत्त निकाय हो भन्छन् र पछि लैजान्छन्।’ केही सवारी साधनको परिवर्तन गरिएको उनले बताए।

अहिले सरकारले इम्बोस्ड सवारी नम्बर प्लेटको व्यवस्था छ। सो व्यवस्था अनुसार सार्वजनिक सवारी साधनमा पहेँलो प्लेटमा कालो अक्षर, निजी सवारीमा सेतो प्लेटमा कालो अक्षर, सरकारी र संस्थानका सवारीमा सेतो प्लेटमा रातो अक्षर, कूटनीतिक सवारीमा सेतो प्लेटमा निलो अक्षर र अंक हुनुपर्ने नियम बनाइएको छ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा.पुन्यप्रसाद रेग्मी चलन चल्तिका आधारमा विश्वविद्यालयका गाडीमा रातो प्लेट राखिएको बताए। ‘नेपाल सरकारको सवारीमा सेतो प्लेट हुन्छ। विश्वविद्यालयमा सरकारको पूर्ण लगानी हो। तर पूर्ण सरकारी मानिँदैन। पहिलेदेखि रातो नै विश्वविद्यालयका गाडीमा रातो प्लेट राखिन्छ,’ उनले भने, ‘दुरुपयोग नहोस् भन्नका लागि हाम्रा गाडीमा विश्वविद्यालयको नाम लेखिन्छ।’ उनले केही गाडीमा विश्वविद्यालयको नाम लेख्न बाँकी रहेको बताए। 

प्रकाशित: १३ मंसिर २०८० ०८:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App