५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

उपाध्यायको परिवार विस्थापित, प्रशासनले बेवास्ता गरेको आरोप

छात्रावास भत्कियो, विद्यार्थी कहाँ राख्ने

गत कात्तिक १७ को भूकम्पले बस्दै आएको घर चर्किएपछि जुम्लाको चन्दननाथ नगरपालिका १ का गणेशप्रसाद उपाध्यायको परिवार विस्थापित भएको छ। घरको चारैतिरको पर्खाल चर्किएर पहिलो तला नै भत्किएपछि परिवार विस्थापित बनेको हो। उनका अनुसार पूरै घर चर्किएको थियो। बस्न मिल्ने अवस्था छैन। सामान्य कम्पनमै भत्किने अवस्थामा छ। बस्ने घर खोजिरहेको उनले बताए।

गणेशप्रसादका १७ वर्षको छोरा सन्तोष उपाध्याय च्यापिएर जबर्जस्ती निस्किएका थिए। उनको तिघ्रामा चोट लागेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य उपचार गरिएको थियो। उनको चारजनाको परिवार छ। वडाध्यक्ष तिलकप्रसाद न्यौपाने, जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य र नगरप्रमुख राजुसिंह कठायतले उनको भत्किएको घरको स्थलगत अवलोकन गरिसकेका छन्।

यस्तै जुम्ला तिला ९, मालापानीका धिरबहादुर बुढाको घर पनि भूकम्पले नराम्ररी चर्किएको छ। उनको परिवार गाउँलेकहाँ बस्दै आएको छ। उनले भने, ‘घरमा बसौं त सामान्य कम्पनले भत्किने अवस्था छ। नबसौं त घरबाहिर बस्न सक्ने अवस्था छैन। चिसो हुने समय सुरु भइसकेको छ।’

क्षतिको विवरण संकलन गर्न स्थानीय सरकार र सरोकारवालाले कुनै चासो नदेखाएको उनले आरोप लगाएका छन्।

गणेशप्रसाद र धिरबहादुर उदाहरण मात्र हुन्, सो गाउँका अधिकांशका घर चर्किएका छन्। परकम्प आइरहेपछि गाउँले रातभर आगो बालेर खुला आकाशमुनि जाग्राम बसिरहेका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार भूकम्पले जुम्लामा पाँचजना घाइते भएका छन्।

गुठीचौर गाउँपालिका ४ बिगारेनिवासी रत्नप्रसाद न्यौपानेको घर भूकम्पले क्षतिग्रस्त बनाएको छ। जुम्लाको सिँजा गाउँपालिका २ विष्टवाडामा तीनवटा वटा घर भत्किएका छन्। तातोपानी गाउँपालिका ३, बाहुनवाडा निवासी सिर्जना गौतमको हातमा सामान्य चोट लागेको छ। उनको ११ महिनाको छोरा आयुष गौतमका आँखामा चोट लागेको छ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार तातोपानी गाउँपालिका ३ निवासी निराजन उपाध्यायको हातमा चोट लागेको छ। तिला गाउँपालिका ३, दानीवाडा निवासी सपना थापालाई पनि सामान्य चोट लागेको थियो। तातोपानी ४ का हरिबहादुर खत्रीको सुतेको बेला घरको पर्खाल खसेपछि भाग्न खोज्दा खुट्टामा चोट लागेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।

स्थानीय प्रशासनका अनुसार तिलाको वडा नं ३, ५ र ९ रहेका केही घर तथा विद्यालय चर्किएका छन्। चन्दननाथ नगरपालिका ८ निवासी विष्णु महतको तीनतले टिनले छाएको घरको एउटा कोठा भत्किएको र अरू कोठा चर्किएका छन्। घाइतेको घरमै प्रथामिक उपचार गरिएको र १३ महिनाको आयुश गौतमको स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। जिल्लामा ठूलो भौतिक क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले बताए। उनले भने, ‘यकिन तथ्यांकका लागि प्रहरी परिचालन गरिएको छ।

‘छात्रावास भत्कियो, विद्यार्थी कहाँ राख्ने

भूकम्पले कर्णाली प्राविधिक शिक्षालयको छात्रावास भवनमा क्षति पुगेको छ। कर्णाली प्राविधिक शिक्षालयका प्रमुख टेकेन्द्र थापाका अनुसार भूकम्पका कारण चारकोठे छात्रावास भवन भत्किएको हो।

भवनमा १६ जना विद्यार्थी बस्दै आएका थिए। दसैं–तिहार बिदामा उनीहरू घर गएकाले मानवीय क्षति हुन पाएन। बिदा मनाएर फर्किएका विद्यार्थीलाई राख्न कठिन भइरहेको प्रमुख थापाको भनाइ छ। २०३८ सालमा बनेको छात्रावास भवन जेनतेन चलिरहेको थियो।

प्रमुख थापाले तत्काल भवन मर्मत कार्य अघि बढाउन आर्थिक अभाव भएकाले समस्या भइरहेको बताए। उनले भने, ‘आएका विद्यार्थीलाई कसरी राख्ने भन्ने चिन्ता छ।’

कर्णाली प्राविधिक शिक्षालयका अधिकांश भवन जीर्ण छन्। कात्तिक १७ को भूकम्पले थर्किएका भवन सामान्य कम्पन आउनेबित्तिकै ढल्न सक्ने शिक्षालयले जनाएको छ। भवन मर्मत गर्न पहल भइरहेको प्रमुख थापाले बताए।

भूकम्पले भत्किएका भवन निर्माणका लागि सरकारी निकाय, गैरसरकारी संस्था सबैसँग सहयोगका लागि आग्रह गरेको उनले बताए।

प्रकाशित: २३ कार्तिक २०८० ०१:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App