६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

तालबाराही मन्दिर पुर्ननिर्माण गर्न राखियो जग

२०७२ सालको बैशाखमा दुईपटक भूकम्प गयो। बैशाख १२ गते गएको भूकम्पले त्रासदी फैलायो। बैशाख २९ गते नै गएको अर्को भूकम्पले पुरातात्विक सम्पदा नै भत्कने संघारमा पुग्यो। दुई पटकको भूकम्पले कमजोर बनेको फेवाताल बीचमा रहेको तालबाराही मन्दिर पुनर्निर्माण शुरु गरिएको छ। लामो समयदेखि जीर्ण अवस्थामा रहेको मन्दिरलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पुनर्निर्माणको शिलान्यास गरेका छन्।

भूकम्पका कारण भूइँतलासहित तीन तले मन्दिर तीन इञ्च दक्षिणतर्फ ढल्किएको थियो। मन्दिर ढल्किएको जनाउँदै पुनर्निर्माण गर्नुपर्ने आवाज उठ्दै आएको थियो। धार्मिक पर्यटनको आस्थाको केन्द्रविन्दु रहेको मन्दिरमा वर्षेनी लाखौं पर्यटकले दर्शन गर्दै आएको तथ्यांक छ। भूकम्पले कमजोर बनेको मन्दिरलाई वडा दशैंको अवसरमा दुई अघि मात्रै पुनर्निर्माण गर्न शिलान्यास गरिएको हो। ताल बाराहीमन्दिर गुठी व्यवस्थापन समिति पुनःनिर्माण थालेको हो। मन्दिर निर्माणको लागि एक करोड ४४ लाख रुपैयाँको लागत अनुमान गरिएको समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले बताए।

मन्दिर २०१७ सालमा निर्माण गरिएको थियो। तत्कालिन राजा महेन्द्रको निर्देशनमा मन्दिर निर्माण पुरा गरिएको समितिले जनाएको छ। पुनर्निर्माण गरिने मन्दिर पुरानै शैलीमा बनाइने छ। त्यसको लागि आवश्यक ढुंगा कुँदने काम भइरहेको छ। पुरानो मन्दिर भत्काएसँगै अर्को चाँदीको मूर्तिमा प्राणप्रतिष्ठा गरी नजिकैको हवनकुण्ड रहेको ठाउँमा पूजाआजा गरिँदै आइएको छ’ समितिका अध्यक्ष कुँवरले भने,‘एकवर्षभित्रमा मन्दिर निर्माण गर्छौ।’ मन्दिरमा खासगरी पूर्णिमाको दिनमा मन्दिर दर्शन गर्ने दशनार्थीको भीड लाग्ने गरेको छ।

मन्दिरको गुरुयोजना नै बनाइएको छ। गुरुयोजना अनुसार निर्माण पुरा गर्न दुईवर्षको समय लाग्ने उनको भनाइ थियो। गुरुयोजना अनुसार चार रोपनी क्षेत्रफलमा अण्डरग्राउण्डसहित मुख्य मन्दिर,  गणेश मन्दिर, हवन कुण्ड बनाइने छ। अण्डर ग्राउण्डमा फुल पसल राखिने छ। २०१७ सालमा निर्माण गरिएको मन्दिरको पुराना काठहरु समेत कुहिएको अवस्थामा रहेको थियो। ‘जमिन मुनि पानीले काठहरु सबै कुहिएको अवस्थामा थियो’ उनले भने,‘अब जमिनमुनिका फाउण्डेशन कंक्रिटको बनाइने छ। माथि कुँदिएको ढुंगा राखेर जडान गरिने छ। पहिला २८ इन्चको पर्खाल थियो। नयाँ १८ इन्चको पर्खाल लगाइने छ।

मन्दिर व्यवस्थापन समितिले मन्दिरमा तीन वटा ढोका राख्ने योजना बनाएको छ। तर समितिको योजनामा पुरातत्व विभागले असमति जनाएको छ। ‘हामीले तीनवटा ढोका राख्ने योजनामा छौं’ उनले भने,‘तर पुरातत्व विभागले मानिरहेको अवस्था छैन्।’ उनका अनुसार मन्दिर पहिला ९ फिटको घेरो थियो भने अब चक्ल्याएर १३ फिटको घेरो बनाइने छ। समितिका अध्यक्ष कुँवरले गुरुयोजना कार्यान्वयन गर्न ९ करोड रुपैयाँ खर्च हुने जानकारी दिए। ‘मन्दिर बनाउन पुरातत्व विभागले २५ लाख रुपैयाँ दिने छ। जसमध्ये ९ लाख रुपैयाँ खातामा आइसकेको छ’ उनले भने–‘व्यवस्थापन समितिसँग पनि केही बजेट छ। भक्तजनले पनि सहयोग गर्नुभएको छ।’ उनका अनुसार पोखरा महानगरपालिका, प्रदेश सरकार तथा संघ सरकारसँग पनि आवश्यक बजेटको लागि पहल गरिने छ। बजेट अभाव भएको अवस्थामा महायज्ञ लगाएर भएपनि गुरुयोजना पुरा गरिने उनको अठोट छ।

पोखरा महानगरपालिकाले पनि मन्दिर पुनर्निर्माणको लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता गरेको छ। ‘पोखरा महानगरपालिकाले आवश्यक सहयोग गर्छ।’ महानगर प्रमुख धनराज आचार्यले भने। समितिले बनाएको गुरुयोजना अनुसार अण्डर ग्राउण्ड छ। यद्यपी महानगरले भने अण्डर ग्राउण्ड बनाउने विषयमा कुनै ठोस निर्णय गरिसकेको छैन्। ‘मन्दिर पुरातत्व विभागको समन्वय र स्वीकृतिमा बन्छ ’ उनले भने,‘अन्य पूर्वाधारलाई प्राविधिक अध्ययनपछि मात्रै निर्णय गर्न सकिन्छ।’

पोखराको गहनाको रुपमा चिनिएको फेवाताल र तालबाराही मन्दिरको संरक्षण गर्ने जिम्मेवारी पोखरेली र तीनै तहका सरकारको भएको महानगर प्रमुख आचार्यको भनाई थियो। तालबाराही मन्दिर पुनःनिर्माण परियोजनाका प्राविधिक संयोजक प्रा डा भरत पहारीले पुरानै कलात्मक शैलीमा मन्दिर पुनर्निर्माण हुने बताए। मन्दिर पुनःनिर्माणका लागि तालबाराही मन्दिर गुठी व्यवस्थापन समिति र पुरातत्व विभागबीच समन्वय गरी आवश्यक काम गरिने उनले सुनाए। उनले पुरानै स्वरुपमा मन्दिर पुनःनिर्माण गरी मन्दिरका बारेमा भावी पुस्ताले समेत अध्ययन गर्ने थलो बनाउनु पर्नेमा जोड दिदैं आएका छन्।  

प्रकाशित: १० कार्तिक २०८० ०८:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App