५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

चाडपर्व सुरु भएसँगै उदयपुरमा अपराध बढे

दसैं, तिहार लगायत चाडपर्व नजिकिँदै गर्दा आपराधिक गतिविधि पनि बढ्दै गएको उदयपुर प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयमै पत्रकार सम्मेलन आयोजना गरी बढ्दो आपराधिक गतिविधिबारे जानकारी दिइएको हो।

पत्रकार सम्मेलनमा विभिन्न आपराधिक गतिविधिमा संलग्न अभियुक्तलाई सार्वजनिक गर्दै प्रहरीले काुननी कारबाही प्रक्रिया अघि बढाइरहेको जानकारी दिएको छ।

पत्नी हत्या, व्यक्ति हत्या, बिना बिलभर्पाई औषधि खरिदबिक्री तथा लघुवित्त ठगीमा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको प्रहरीले जनाएको छ। साथै प्रहरीका अनुसार पत्नी हत्या आरोपमा पति पक्राउ, व्यक्ति हत्या आरोपमा बाउछोरा, ७३ लाख ठगी आरोपमा लघुवित्तका कर्मचारी, औषधिसहित दुईजना र अन्य प्रमाण पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको हो। जसअनुसार मंगलबार राति कुटपिट गरी पत्नीको हत्या गरेको आरोपमा पक्राउ परेका सदरमुकाम त्रियुगा नगरपालिका–५ श्रीपुरका पिटर भन्ने सन्तोष राईलाई सार्वजनिक गरिएको थियो।

साविक उदयपुरगढी गाउँपालिका–७, नागबेले स्थायी घर भई श्रीपुरमा बस्दै आएका ३१ वर्षीय सन्तोषले २९ वर्षीया पत्नी छविमाया राईलाई मंगलबार राति ९ः०० बजेको समयमा कुटपिट गरी गम्भीर घाइते बनाएकामा उपचारार्थ जिल्ला अस्पताल लाँदालाँदै बाटैमा मृत्यु भएको जानकारी दिइयो। नौ महिनाअघि भारतमा काम गर्न गएका उनीहरू असोज १४ गते मात्र दसैं मान्न नेपाल फर्केको जानकारी प्रहरीले दिएको छ।

पति–पत्नीबीच करिब तीन वर्षदेखि विवाद भइरहेको पनि खुलेको छ। श्रीपुरस्थित छविमायाको दिदीको घरमा खाना खान गएका उनीहरूबीच गत मंगलबार राति विवाद हुँदा मादक पदार्थ सेवन गरेका पिटरले छविमायालाई खाना पकाउने कुकर र भाँडाले निर्ममतापूर्वक प्रहार गरी टाउको, नाक र मुखमा गम्भीर चोट पुर्‍याएका थिए।

घटनाबारे साढे ९ बजे खबर पाएको प्रहरीले उद्धार गरी उपचारार्थ लगेकामा १०ः३० बजे अस्पताल पुगे पनि डाक्टरले मृत घोषणा गरेका थिए। घटनापछि निस्केर भारतर्फ भाग्न लागेका सन्तोषलाई त्रियुगा नगरपालिका–८ राजाबास बैरेनीबाट बुधबार मध्यरातमै पक्राउ गरी आवश्यक अनुसन्धान सुरु भएको छ।

त्यसैगरी गत साउन ११ गते राति ८ बजे त्रियुगा नगरपालिका–७, सुक्लाईका रमेशकुमार सार्कीको हत्या गरेको आरोपमा सोही ठाउँका चन्द्रकुमार सार्की र उनका छोरा तेजबहादुर पक्राउ परेका छन्।

चन्द्रबहादुरको आदेश अनुसार उनकै छोरा तेजकुमारले सोही ठाउँका रमेश सार्कीलाई चिरपट (दाउरा)ले पेट फुट्ने गरी प्रहार गर्दा गम्भीर घाइते भएपछि जाहेरीका आधारमा ज्यान मार्ने उद्योगमा चन्द्रबहादुर असोज १३ गते पक्राउ परेका थिए।

तर, घटनाको चार दिनपछि असोज १५ गते २ः३० बजे घाइते रमेशको मृत्यु भएपछि उनीमाथिको ज्यान मार्ने उद्योगको अपराध कर्तव्य ज्यान मुद्दामा परिणत भएको प्रहरीले जनाएको छ। रमेशको मृत्युपछि घटनामा संलग्न भई फरार रहेका तेजबहादुरलाई खोजतलासको क्रममा मंगलबार राति गाउँमै लुकेर बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको पनि प्रहरीले जनाएको छ। उनीहरू बाउछोरा दुवैमाथि कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु भएको पत्रकार सम्मेलनमा जनाइएको छ।

पत्रकार सम्मेलनमा ठगी अभियोगमा पक्राउ परेका लघुवित्तका कर्मचारी गौरवबहादुर अधिकारीलाई पनि पत्रकार सम्मेलनमा सार्वजनिक गरियो। २०७८ माघ २८ गते र त्यसपछिका विभिन्न मितिमा रौतामाई–७ मुर्कुचीस्थित शृजनशील लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय, मुर्कुचीमा कार्यरत तत्कालीन वरिष्ठ फिल्ड सहायक त्रियुगा नगरपालिका–५ का २७ वर्षीय अधिकारीमाथि नक्कली सदस्य र नक्कली ऋणि बनाएर लाखौं ठगेको आरोप छ।

अधिकारीले लघुवित्त संस्थाका सदस्यको फर्जी नामावली कागज बनाई नक्कली ऋणपत्र तयार गरी ५० लाख ९१ हजार पाँच सय ७७ रूपैयाँ ठगी गरेको आरोप प्रहरीमा पुगेको छ। सो सावाँ र ब्याजबापत २२ लाख ३१ हजार एक सय ६६ गरी जम्मा ७३ लाख २२ हजार सात सय ४३ रूपैयाँ ठगी गरेको भनी संस्थाबाट प्राप्त जाहेरीको आधारमा खोजी गर्ने क्रममा असोज २९ गते अधिकारी पक्राउ परेको प्रहरीले जनाएको छ।

सवा ७३ लाख ठगेर फरार रहेका अधिकारी नेपाल भारत सीमास्थल मधेस प्रदेशको महोत्तरी, बलवा नगरपालिका–९, अध्ययनपुरमा लुकीछिपी बस्दै आएको अवस्थामा पक्राउ गरी उदयपुर ल्याइएको छ। उनीमाथि ठगी नभई बैंकिङ कसुरअन्तर्गत मुद्दा चलाई कारबाही अघि बढाइएको पत्रकार सम्मेलनमा जानकारी गराइयो।

त्यसैगरी बिना बिल भर्पाई विभिन्न प्रकारका औषधि जिल्ला भिœयाउँदै गरेको अवस्थामा मंगलबार पक्राउ परेका कटारीका दुई युवा र औषधि पनि प्रहरीले सार्वजनिक गरेको छ।

 मंगलबार ११ बजे कटारी नगरपालिका–१ बेलसोत हुँदै सिन्धुली जाने भित्री सडक खण्डबाट कटारी–३ का ३१ वर्षीय चन्द्रकुमार सुनुवार र कटारी–४ का ३५ वर्षीय तेजेन्द्र सुनुवार यस्तो औषधिसहित पक्राउ परेका हुन्। उनीहरूको साथबाट प्रहरीले बिलबिनाका विभिन्न प्रकारका तीन हजार आठ सय ट्याब्लेट बरामद गरेको छ।

पत्रकार सम्मेलनमा सार्वजनिक गरिएअनुसार डिकोफ ट्याबलेट सय चक्की, टेनाग ट्याबलेट एक हजार आठ सय ९० चक्की, स्पास्मो ट्याबलेट एक हजार पाँच सय चक्की र कोफ ट्याब डी ट्याबलेट १४ चक्की रहेको प्रहरीले सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापाले पछिल्लो समय सूचना प्रविधिको विकाससँगै अपराधको प्रकृति पनि फरक फरक विकसित हुँदै गएको बताए। अपराधको प्रकृतिअनुसार अपराध नियन्त्रणमा पनि प्रहरीले प्रविधिकै उपयोग गरेर अघि बढ्ने योजना बनाएको एसपी थापाले बताए।

एसपी थापाले अपराध समाज बिथोल्ने प्रमुख समस्याको प्रहरी एक्लैले समाधान गर्न नसक्ने भएकाले त्यसको न्यूनीकरण र निदानका लागि सामूहिक प्रयासको खाँचो औंल्याए।

बर्दीवाला प्रहरीलाई बिना बर्दीका नागरिक समाज, राजनीतिक दल, पत्रकार, अधिकारकर्मी, स्थानीय सबैको साथ भए मात्र अपराध नियन्त्रणमा प्रहरीलाई सफलता मिल्ने उनको भनाइ थियो। 

प्रकाशित: ३ कार्तिक २०८० ०३:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App