११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

म्याद थपिएका जर्नेललाई नै वृत्ति विकासको जिम्मेवारी

प्रधानसेनापति प्रभुराम शर्माले हालै म्याद थपि गरिएको सहायक रथी यामबहादुर अधिकारीलाई सैनिक सचिवको जिम्मेवारी दिएर तालिम विभागमा काजमा खटाएका छन्।

प्रधानमन्त्रीको पुष्पकमल दाहालको विशेष आग्रहमा माओवादी लडाकुबाट सेनामा आएकाहरूको तालिमको अवसरलगायतको वृत्ति विकासमा सहयोग पुग्नेगरी उनलाई त्यहाँ खटाइएको हो।

‘तीन वर्षका लागि विशेष पद थप गरिएका सहायक रथी अधिकारीलाई तालिम विभागजस्तो महत्वपूर्ण विभागको जिम्मेवारी दिनुले सेनाभित्रै असझदारी उत्पन्न भएको छ। हाँलाई माओवादीबाट समायोजनमा आएका लडाकुको वृत्ति विकासमा सहयोग पुगोस् भन्ने उदेश्यका साथ यो विभागमा ल्याइएको हो,’ नेपाली सेनाका एक उच्च अधिकारीले भने, ‘उहाँलाई यहाँ ल्याउनुमा राजनीतिक नेतृत्वको मुख्य हात रहेको छ।’

नेपाली सेनाको विशेष पदमा कार्यरत रहेका अधिकारीको ३१ भदौमा सुटुक्क तीन वर्ष पदावधि थप गरिएको थियो। उनको पदावधि भदौ ३१ गते सकिँदै थियो। तर, मन्त्रिपरिषद् बैठकले तीन वर्ष थप गर्दै सेवा अवधिलाई निरन्तरता दिएको थियो। माओवादीको जनमुक्ति सेना नेपाली सेनामा समायोजना हुँदा अधिकारी जनमुक्ति सेनाको तर्फबाट सेनामा समायोजन भएका थिए।

अहिले माओवादी केन्द्रका अध्यक्ष दाहाल नेतृत्वको सकारले सैनिक नियमावलीअनुसार उनको विशेष पद सिर्जना गरेर पदावधि थप गर्दै सेवालाई निरन्तरता दिएको थियो। उनको म्याद थप गरेको निर्णय नै केही समय गोप्य राखिएको थियो।

नेपाली सेनाका उच्च अधिकारीका अनुसार प्रधानसेनापति शर्माले बेलायत भ्रमणमा जानुअघि सेनाको महत्वपूर्ण विभागमा सरुवा गरेर अर्को त्यस्तै महत्व राख्ने विभागमा काज सरुवा गरेका थिए। उनी आइतबार बेलायत गएर २६ असोजमा स्वदेश फर्कनेछन्। आइतबार प्रधानसेनापति शर्मा बेलायती प्रधानसेनापति जनरल सर प्याट्रिक सान्ड्रेसको निमन्त्रणामा बेलायत भ्रमणमा निस्कन लागेका हुन्।

बेलायत जानुअघि शुक्रबार नै प्रधानसेनापति शर्माले सहायक रथी अधिकारीलाई काज सरुवा गरेर महत्वपूर्ण विभाग दिएका हुन्। सो विभागले सैनिक अधिकृतको सरुवा,बढुवा र वृत्ति विकास सम्बन्धी काम गर्छ।

त्यस्तै, उनी काजमा गएको तालिम विभागले बढुवा लागि अवसर प्राप्त हुने किसिमका तालिको अवसर सिर्जना गरी अधिकारीलाई खटाउने गरेको छ। उनलाई एकैपटक दुईवटा जिम्मेवारी दिइएको छ। यसले गर्दा नेपाली सेनामा रहेका र समायोजनमा आएका माओवादी निकट रहेका लडाकुलाई मालिल्लो तहसम्म पुर्‍याउने अवसर प्राप्त हुने सैनिक अधिकारीको दाबी छ।

सहायक रथी अधिकारीको पछिल्लो पटक थप गरिएको तीन वर्षे पदावधि विवादमा परेकै बेला प्रधानसेनापतिले सैनिक सचिव जस्तो महत्वपूर्ण जिम्मेवारी दिएपछि सेनाभित्रै तरंग उत्पन्न भएको छ। ‘उहाँले म्याद थप गर्ने विषयमा प्रधानमन्त्रीसँग अडान राख्न नसके पनि सरुवाको विषयमा भने अडान राख्नुहोला भन्ने थियो तर महत्वपूर्ण जिम्मेवारी दिएर बेलायत भ्रमण जानु लाग्नुभयो, बेलायतपछि उहाँ चीन भ्रमणमा जाँदै हुनुहुन्छ।

सैनिक सचिवको जिम्मेवारीमा उहाँ (अधिकारी) नै रहने भएकाले सेनाको परम्परागत वृत्ति विकासमा असर पर्ने सम्भावना बढेर गएको छ,’ सेनाका एक उच्च अधिकारीले भने।

तत्कालीन समयमा शिविरमा राखिएका १९ हजारभन्दा बढी लडाकुमध्ये तीन हजार एक सय ३१ जनाले सेनामा समायोजन रोजेका थिए। त्यसमध्ये एक हजार तीन सय १३ लाई मात्र समायोजनको बाटो खुलेको थियो।

सैन्य कमाण्डर यमबहादुर अधिकारीको नेतृत्वमा माओवादीले आफ्ना लडाकुलाई समायोजनमा पठाएको थियो। समायोजनमा गएका अधिकारी हाल नेपाली सेनाको सहायक रथी भएका छन्।

त्यस्तै, लडाकुबाट छिरेका १३ सेनानी, ३० सहसेनानी र २४ उपसेनानी भइसकेका छन्। सेनामा लडाकुबाट गएकामध्ये अधिकृत ७०, पदिक ५९ र जवान एक हजार एक सय ८४ जना छन्। उनीहरू सेनाको विभिन्न युनिट तथा सबयुनिटमा कार्यरत रहेको नेपाली सेनाले जनाएको छ। सेनाले समायोजमा परेका लडाकुलाई वरिष्ठता, सेवाअवधि, शिक्षालगायत आधारमा पद दिएको थियो। 

प्रकाशित: २१ आश्विन २०८० ०१:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App