४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

मनसुन सक्रिय, बाहिरिन अझै केही दिन

मौसमविद्हरूले नेपालबाट मौसम बाहिरिन अझै केही दिन लाग्ने जनाएका छन् । अहिलेको प्रणालीअनुसार नेपालबाट मनसुन बाहिरिन अझै दुईतीन दिनभन्दा बढी समय लाग्न सक्ने अनुमान गरिएको मौसमविद् गोविन्द झाले बताए । उनका अनुसार बिहीबार पनि काठमाडौंलगायत देशभर मनसुनको प्रभाव पर्नेछ । ‘काठमाडौंलगायत देशभर बिहीबार हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । तर बिहीबार काठमाडौंमा बुधबारजस्तो दिनभरि वर्षा हुँदैन, हल्का वर्षा हुनेछ,’ उनले भने ।  

मौसमविद्हरूले भारतबाट मनसुन बाहिरिए पनि नेपालमा भने कायमै रहेको जनाएका छन् । मौसमविद्का अनुसार अफ्रिकाको मदागस्कर टापुनजिकैबाट उत्पत्ति हुने जलवाष्पयुक्त वायु नेपालमा सक्रिय हुने गरेको छ । उनीहरूका अनुसार मदागस्करबाट उत्पत्ति भएको जलवाष्पयुक्त वायु हरेक वर्ष नेपालसम्म आइपुग्छ । मदागस्करनजिकै टापुमा उच्चचापीय प्रणाली विकसित भई मनसुनी वायु उत्पत्ति हुने मौसमविद्को भनाइ छ । त्यहाँ उत्पन्न भएको वायु सोमालियाबाट मोडिएर बंगालको खाडी हुँदै नेपाल आइपुग्छ ।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । देशभरका १६ वटा स्टेसनबाट आएका सूचना र स्याटेलाइट इमेजका आधारमा मौसमको पूर्वानुमान गरिन्छ । यसैगरी विविध नमुना अध्ययनबाट पनि मौसम पूर्वानुमान गरिन्छ ।  

नेपालबाट मनसुन बाहिरिने समय सामान्यतया अक्टुबर २ तारिख हो । अहिले त्योभन्दा दुई दिन पर सरिसकेको छ । तर अझै बाहिरिने छाँटकाँट छैन ।  

पछिल्लो समय नेपालबाट मनसुन बाहिरिने समय ढिलो हुँदै गएको छ । नेपालमा यस वर्ष मनसुन सुरु पनि ढिलो भएको थियो । यस वर्ष जुन १४ बाट मात्र मनसुन सुरु भएको मैसमविद्ले बताएका छन् । नेपालमा मनसुन सामान्यतया जुन १ बाट सुरु हुन्छ र सेप्टेम्बर अन्तिमसम्म जारी रहन्छ । । तर केही वर्षयता मनसुन लम्बिँदै गएको छ ।  

महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा छ । नेपालमा अहिले भारतको झारखण्ड आसपास क्षेत्रमा रहेको न्यूनचापीय वायुको समेत प्रभाव परेको छ, जसका कारण देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा देशभर आंशिकदेखि सामान्य बदली भएको छ । गण्डकी, लुम्बिनी, कोसी र वाग्मती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहीबार कोसी, वाग्मती, गण्डकी र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ ।

प्रकाशित: १८ आश्विन २०८० ०३:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App