५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

ईः र मेयर बालेनबीच भनाभन: लडाइँ मुद्दाको कि ‘अहम्’को ?

एउटा भनाइ छ, अहम्मा रहेकाले केही देख्दैन । तर तपाईंको अहम्मा अरूले धेरै कुरा देख्छन् । चुनावका बेला गरिबको पक्षमा गीत गाएर मेयर जितेका बालेन साह र यतिबेला गरिबका पक्षमा उभिएरै आन्दोलन गरिरहेका अभियान्ता ईःबीच प्रतिष्ठाको लडाइँ सोमबार सामाजिक सञ्जालमा छताछुल्ल पोखिएको छ ।

सहरका गरिबलाई गरिखान दिनुपर्नेलगायतका माग राखेर विगत सात दिनदेखि काठमाडौं महानगरअगाडि उभिएका अभियन्ता ईः र महानगरका पिता मानिने मेयर बालेन साहको सोमबारको स्टेटसमा अहम्ताको झल्को प्रष्टै देखिन्थ्यो ।

मेयर बालेनले ईःलगायत अभियन्तालाई वार्ताका लागि बोलाएको तर छलफलमा नआएको सामाजिक सञ्जालमा लेखेका छन् । ‘विगत केही दिनदेखि केही अभियानकर्ताहरू आन्दोलनमा हुनुहुन्थ्यो,’ बालेनले समाजिक सञ्जालमा लेखेका छन्, ‘कुरा सुन्न उहाँहरू उभिइरहेको ठाउँमा म आफैं गएर वार्ता गरौं, यहाँहरूको कुरा र समस्या सुनौं भन्दा पनि संवादमा आउन खोज्नुभएन ।’

मेयर साहले लोकतान्त्रिक अभ्यासमा सबै कुराको समाधान संवादबाट नै हुनुपर्छ भन्नेमा जोड दिँदै वार्तामा नआएकोमा गुनासो पोखेका छन् । ‘उहाँहरू नआउनु भएको कुरा हामीले बुझेको छौं, सायद कुनै राजनीतिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला,’ साहले लेखेका छन्, ‘के वार्ता हामीले उहाँहरूको नेतासँग गर्नुपर्ने ?’

 ‘पहिलाको साथी हो, एक सातादेखि उभिएरै बसेको छ, गएर भेटेको भए के जान्थ्यो ?,’ सामाजिक सञ्जालमा प्रवेश फुयाँल लेख्छन्, ‘सामाजिक सञ्जालमा लामो स्टाटस लेखेर पन्छिन खोज्नु मेयरमा साहमा देखिएको अहम्ता हो ।’ 

साहको स्टेटसको जवाफमा अभियान्ता ईःले आफूहरूलाई भेट्न मेयर बालेन साह नभई एकजना नगर प्रहरी मात्र आएको उल्लेख गरेका छन् । ‘मेयर यहाँ आउनुभएको होइन । नगर प्रहरी आएका हुन्, अन्य साथीहरू साक्षी छन्,’ उनले लेखेका छन्, ‘हामीले कानुनविज्ञ, सहरी व्यवस्थापन विशेषज्ञ र सडक व्यवसाय प्रतिनिधि साथीहरूलाई बोलाउन ३० मिनेट समय माग्यौं । नगर प्रहरीले रिसाएर जवाफ दिए– त्यसो भए मेयरले भेट्दैन ।’

उनीहरूको सञ्जालको जुहारीमा हजारौं प्रतिक्रिया आएका छन् । कतिपयले मेयर साहमा बढी अहम्ता रहेको आंैल्याएका छन् भने कतिपयले अभियान्ता ईःले भाउ खोजेको उल्लेख गरेका छन् । ‘पहिलाको साथी हो, एक सातादेखि उभिएरै बसेको छ, गएर भेटेको भए के जान्थ्यो ?,’ सामाजिक सञ्जालमा प्रवेश फुयाँल लेख्छन्, ‘सामाजिक सञ्जालमा लामो स्टाटस लेखेर पन्छिन खोज्नु मेयरमा साहमा देखिएको अहम्ता हो ।’ कतिपयले त सरकारले बोलाएको फोहोर व्यवस्थापनको वार्तामा नजाने मेयरले अरू वार्तामा आएन भनेर के गुनासो गरेको भनेर व्यंग्यसमेत गरेका छन् ।

त्यस्तै, कतिपयले अभियन्ता ईःले बढी नै भाउ खोजेको बताएका छन् । ‘नगरप्रहरी पनि त महानगरकै एक अंग हो नि !,’ सामाजिक सञ्जालमा प्रकाश आचार्यले लेख्छन्, ‘गएर आफ्ना कुरा राख्नु पथ्र्याे । धेरै ‘भाउ’ खोज्नु पनि ठिक होइन ।’  

आन्दोलनमा धेरैले ऐक्यबद्धता जनाए पनि लामो समयसम्म उभिदा अभियन्ता ईःको दुवै गोडा नराम्ररी सुन्निएको छ ।

सामाजिक सञ्जालमा प्रतिक्रिया हेर्दा दुईबीच ‘इगो’ले समस्यामा समाधानमा निकै ठूलो बाधा उत्पन्न गरेको छ । उनीहरूबीचको इगो देखेरै होला कतिपयले त यो विषयलाई इगो नबनाउन आग्रह गरेका छन् । ‘यो इगो का लडाइँ होइन भन्ने कुरा दुवैतर्फले बुझ्नु पर्यो,’ सामाजिक सञ्जालमा अमृता लम्सालले लेखेकी छिन् ।

फुटपाथ व्यवसाय र व्यवसायीलाई व्यवस्थित बनाउनुपर्ने, गरिखान दिनुपर्नेगायतका माग राखेर सात दिनदेखि उभिएरै काठमाडौं महानगरअगाडि ईःलगायत अभियन्ताहरूले आन्दोलन गरिरहेका छन् । आन्दोलनमा धेरैले ऐक्यबद्धता जनाए पनि लामो समयसम्म उभिदा अभियन्ता ईःको दुवै गोडा नराम्ररी सुन्निएको छ ।

को हुन् ईः?

आफ्नो पूरा नामसमेत नखुलाउने इशान अधिकारी आफूलाई ईः भनेर चिनाउँछन् । संविधान मेरो होइन भनेर सिंहदरबारमा केही वर्षअघि रातो पोतेर चर्चामा आएका थिए उनी । संविधान जारी भएपछि ‘यो मेरो संविधान होइन’ भन्ने अभियानका क्रममा उनले सिंहदरबारको पर्खालमा रातो पोतेका थिए । कोरोनाको समयमा ईंले सरकारविरुद्ध ‘इनफ इज इनफ’ अभियान सञ्चालन गरेका थिए । कोभिड महामारीको बेला सरकारविरुद्ध उनी २३ दिन ‘अनसन’ बसेका थिए ।

प्रकाशित: ९ आश्विन २०८० ०३:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App