१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

प्रहरीको संरक्षणमा जुवातास

धनगढी- दसैंको मुखमा कैलालीको धनगढी, अत्तरिया, वलिया, चिसापानी लगायत बिभिन्न ठाउँमा प्रहरीको संरक्षणमा जुवातास खेलाइएको खुलासा भएको छ।

प्रहरीले प्रत्येक जुवाघरबाट लाखौ रकम लिएर खेल्न छुट दिएको खुलासा भएको हो। दसैंको चहलपहल सँगै लाखौंका जुवा लाख चल्न थालेका छन्। जुवातास खेलाइने एक ठाउँवाट प्रहरीले १ लाख देखि ४ लाख रुपैयाँ सम्म लिएको छ। प्रहरीले जुवातासवाट मात्र २०, ३० लाख रुपैयाँ भन्दा बढी संकलन गर्ने गरेको श्रोतले बताएको छ । बाह्यै महिना जुवातास हुने बलियाको एक होटलवाट दसैंमा जुवा खेल्न छुट दिन जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुखले १ लाख र क्षेत्रीय प्रहरी कार्यालयका प्रमुखले डेढ लाख रकम लिएको प्रहरी श्रोतले बताएको छ। ‘एसपी र एआईजीका घुमुवा प्रहरीले चार दिन अघि उक्त रकम लिएर आएका हुन’ स्रोतले भन्यो। यसैगरी धनगढीको हसनपुरमा बाह्रै महिना जुवातास हुने जुवाघरवाट जिल्लाका प्रहरी प्रमुख र क्षेत्रीय प्रमुखलाई १ , १ लाखका दरले दसैंमा जुवातास खेलाउन पैसा दिएको छ। ‘धनगढीका २ जुवाअड्डावाट प्रहरीले २, २ लाख लगेको छ,’स्थानीय एक युवकले भने। कैलालीको अत्तरियामा पनि एक समूहले ठूलो जुवा खेलाउने गरेको छ। बिभिन्न स्थान बदलेर यहाँ जुवा खेलाउने गरिएको छ । जंगलमा समेत लगेर जुवा खेलाइने गरेको बुझिएको छ । यसैगरी चिसापानीको एक होटलमा पनि प्रहरीलाई लाखौं रुपैयाँ दिएर जुवा खेलाउन शुरु भएको एक प्रहरीले बताए । कैलालीका बिभिन्न ठाउँमा गरेर १ दर्जन भन्दा बढी स्थानमा जुवा हुने गरेको छ । प्रहरीले यी सवै ठाउँवाट लाखौं रकम लिने गरेको छ। प्रहरीको स्थानीय इकाई, जिल्ला प्रहरी कार्यालय र क्षेत्रिय प्रहरी कार्यालय तीन ठाउँमा जुवा खेलाउनेले पैसा बुझाउने गरेका छन।

‘कैलालीमा बिभिन्न ठाउँमा प्रहरीलाई लाखौं रुपैयाँ बुझाएर दशैका लागी लाखौंको जुवाको खेल शुरु भएको छ’उनले भने । प्रहरीले जुवातासमा कडा गरेको देखाउन दसैंमा रमाइलो गरीरहेकालाई समातेर मुद्दा चलाउने गरेको र करोडौंको जुवा खेल्न दिने गरेको स्थानीय बताउँछन।

 ‘सर्वसधारणले दसैं र तिहारमा रमाइलो गर्न कुनै ठाउँमा जुवा खेलेमा प्रहरीले समातेर सार्वजनिक मुद्दा लगाउँछ,' स्थानीय प्रमोद पाठक भन्छन,‘तर लाख, करोडौंका जुवा निर्वाद रुपमा खेलाउन दिन्छन।’ प्रहरीलाई मोटो रकम दिएर जुवातास खेल भइरहेको अनुसन्धान प्रहरीका एक पूर्व उच्च अधिकारीले बताए। ‘प्रहरीले दसैंमा ३५ लाख जती जुवातासबाट कैलालीमा उठाएको छ’उनले भने,‘जुवा खेलाउने व्यक्तीले खेलाउँदैन भनेपनि प्रहरीले खेलाउन दवाब दिने गर्छ यहाँ।’

'धेरैलाई घरवार बिहिन बनाएर जुवाको पैसाले प्रहरीका हाकिम र केही व्यक्ती मोटाउने गरेका छन्’ स्थानीय बुद्धीजिवी तीर्थ पाण्डेय भन्छन्। जुवा खेलाउनेहरुले पैसा दिएर चुन्द्रमुन्द्रे पाल्ने समेत गरेका छन्। कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख जनकराज पाण्डेयले आफु हिजो मात्र जिल्लाको प्रमुखको जिम्मेवारी सम्हालेको र कुनै जुवाघरवाट प्रहरीले पैसा लिएको जानकारी नभएको बताए। जिल्लाका बिभिन्न ठाउँमा भइरहेका जुवातास बन्द गराउने उनको भनाई छ । प्रदेश नम्वर ७ का प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक बिजय भट्टले जुवा अड्डावाट पैसा प्रहरीले उठाएको जानकारी नभएको बताए ।‘कसैले पैसा उठाएको भए, नाम पाउँ म कारवाही गर्छु’उनले भने । जिल्ला, अंचल, प्रदेश प्रहरी प्रमुखले छुट्टाछुट्टै व्यक्तीगत घुमुवा राखेका छन् । यी घुमुवाहरुले नै विभिन्न ठाउँवाट पैसा असुल गरेर ल्याउने गरेको श्रोतले बताएको छ।

 

प्रकाशित: १० आश्विन २०७४ ०९:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App