६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

टीकापुरमा टिक्दैनन् नयाँ डिएसपी

कार्यकक्षमा डिएसपी अधिकारी। तस्बिर: योगेश रावल

नेपाल प्रहरी सङ्गठन भित्र दवङ्ग छवि बनाएका डिएसपी उद्धब भाट इलाका प्रहरी कार्यालय टीकापुरको इञ्चार्जबाट चार महिनामै सरुवा भए। टीकापुर घटनाको मुख्य योजनाकारका रुपमा जेल जीवन बिताईरहेका पूर्व सांसद रेशमलाल चौधरी आम माफी पाएर रिहा भएपछि स्वागत गर्न पुगेका डिएसपी भाटको प्रस्तुती विवादमा तानियो। उनी बर्दिया र कैलाली जोड्ने सत्तीघाट पुलमा चौधरीको स्वागत गर्न पुगेका थिए। उनले गाडीबाट झर्दै गरेका चौधरीलाई फूलको गुच्छा दिँदै स्वागत गरे। उनले स्वागत गरिरहेको कसैले भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरिदियो। त्यो भिडियोमा डिएसपी भाटको हाउभाउ निकै हल्का भन्दै चर्को आलोचना भयो। उनको भिडियो सामाजिक सञ्जालमा निकै भाईरल बन्यो।

२०७२ भदौ ७ गते एक नाबालकसहित आठ प्रहरीको ज्यान जाने गरी टीकापुरमा भएको घटनाका मुख्य योजनाकारलाई स्वागत गरेको भन्दै डिएसपी भाट प्रति तीव्र आलोचना भयो। उनलाई प्रहरी सङ्गठनकै बदनाम गरेको भन्दै कैयौंले गाली बेइज्जती समेत गरे।

दवङ्ग छवि भएका भाटलाई सोही भिडियोका कारण सामाजिक सञ्जालमा जिरो बनाईयो। उनले भिडियो खिचेको भन्दै थारु भाषाको अख्वारी साप्ताहिकका पत्रकार जीवन डगौरालाई प्रहरी कार्यालयमा बोलाए। डगौरालाई उनले आफ्नो कार्यकक्षमै गाली गरेको अर्को भिडियो सावर्जनिक भयो। उनले सो भिडियोमा डगौरालाई मारे पनि आफ्नो रिस कमन हुने जस्ता वाक्य बोलेको पाईयो।

चौधरीलाई स्वागत गरेको भिडियोको चर्चा केही कम भइरहेको बेला पुनःअर्को भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो। डिएसपीले कार्यकक्षमै बोलाएर पत्रकारलाई ज्यान मार्ने धम्की दिएको भन्दै चर्को आलोचना भयो। धेरै सङ्घसंस्थाले घटनाका बारेमा चाँसो राखे। पत्रकार डगौराले एक विज्ञप्ती प्रकाशित गरेर दाजुभाईबीचको कुराकानी भनेर घटनालाई साम्य बनाए।

घटना साम्य भएपनि डिएसपी भाटका बारेमा प्रहरी सङ्गठनको नेतृत्वमा रिपोर्टिङ भइसकेको थियो। उनका राम्रा पक्षलाई ओझेल पारेर कमीकमजोरीका बारेमा रिपोर्टिङ गरियो। जसका कारण उनी ४ महिनामै टीकापुरबाट लखेटिए। २०७९ माघ २५ गते हाजिर भएका भाट २०८० जेठ २५ मा सरुवा भए।  

स्थानीयका अनुसार उनको टीकापुर इन्ट्री चर्चा गर्न लायक नै थियो। छोटो समय बसे पनि भाटले टीकापुरमा आफ्नो छाप छोडेर गएको अनुभूति हुने गरेको स्थानीय बताउँछन्। उनले मुख्य गरी गुण्डागर्दी र लागुपदार्थ दुर्व्यसन नियन्त्रणलाई टार्गेट गरेका थिए। उनको पालामा यी दुई कुरामा केही हदसम्म नियन्त्रण देखिन्थ्यो।

भाटको ठाउँमा डिएसपी तुलसी अर्याल आए। उनी २०८० जेठ २५ गते नै हाजिर भए। भाटको कमिलाई अर्यालले महशुस हुने गरी प्रस्तुती दिन सकेनन्। उनी आएकै दिनबाट विवादमा तानिए। केही विवादित व्यक्तिहरूसँग जोडेर उनलाई सामाजिक सञ्जाल लगायतमा लखेटियो। उनी तीन महिना पुग्न तीन दिन बाँकी रहँदै सरुवा भए।

अर्यालको प्रस्तुती कमजोर रहेको सङ्गठन भित्रै रिपोर्टिङ भएको स्रोतको दावी छ। उनले व्यापक मात्रामा प्रहरी परिचालन गर्न सकेनन्। उनको पालामा केही घटना समेत भए। ती घटना समाजमा त्रसित पार्ने खालका थिए। तैपनि उनले आम नागरिकलाई सुरक्षित महशुस हुने माहौल सिर्जना गर्न सकेनन्। स्थानीयका अनुसार उनी आफै कहीकतै गस्तीमा देखिएनन्। कतिपयले उनलाई देख्न र भेट्न समेत पाएनन्।

लगातार दुई डिएसपी छोटो समयमै सरुवा भएपछि टीकापुरमा डिएसपी टिक्दैनन् भन्ने चर्चाले व्यापकता पाएको छ। त्यसअघिका दुईजना डिएसपी समेत एक वर्ष नपुग्दै सरुवा भएका थिए। भाटभन्दा अघिका हेमबहादुर शाही १० महिना र त्यसअघिका प्रकाश सापकोटा नौ महिनामा सरुवा भएका थिए। प्रहरी सङ्गठनमा कुनैपनि इञ्चार्ज कम्तिमा एकवर्ष बस्नुलाई सफल र त्यसअघि सरुवा हुनुलाई असफल भएको मानिन्छ।  

कुनैपनि प्रहरी कार्यालयको इञ्चार्ज फेरिने कुरा नियमित प्रक्रिया हो। कोही छोटो समयमै फेरिन्छन् त कोही निर्धारित समय पूरा गरेर फेरिन्छन्। इलाका प्रहरी कार्यालय टीकापुरको जस्तै अवस्था अन्त पनि हुन्छ। तर, अन्त प्रहरी इञ्चार्ज फेरिदा त्यत्ति चर्चा हुँदैन। टीकापुरमा भने यसलाई निकै चर्चाको विषय बनाईन्छ। सरुवा भएको डिएसपी कार्यक्षेत्र नपुग्दै समाज पक्षविपक्षमा विभाजित भइसकेको हुन्छ। ती कुरा सामाजिक सञ्जालमा प्रष्टै देख्न सकिन्छ।  

टीकापुरमा डिएसपी टिक्दैनन् भन्ने चर्चा चलेकै बेला इलाका प्रहरी कार्यालय टीकापुरको कमाण्ड सम्हालेका छन्, डिएसपी विश्वराज अधिकारीले। १६ वर्ष अघि प्रहरी निरिक्षकबाट नेपाल प्रहरीमा प्रवेश गरेका अधिकारी काबिल प्रहरी अधिकृत मानिन्छन्। उनी सङ्गठन भित्र कडा र नरम दुवै रणनीति तयार पारेर अघि बढ्न सक्ने क्षमता राख्ने अधिकृतका रुपमा चिनिन्छन्।

६ दिन अघि इलाका प्रहरी कार्यालय टीकापुरको कमाण्ड सम्हालेका अधिकारीले गुण्डागर्दी र लागुऔषध नियन्त्रण आफ्नो प्राथमिकतामा रहेको बताए। मङ्गलवार सञ्चारकर्मीहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै डिएसपी अधिकारीले प्रहरी गुण्डागर्दीप्रति क्रुर भएर प्रस्तुत हुने बताए।

उनले समाजको शान्ति सुव्यवस्था स्थापनामा साथ दिन सञ्चारकर्मीहरूलाई आग्रह गरेका छन्। उनले सञ्चारकर्मी सूचनाको स्रोत भएकाले कुनैपनि गलत सूचना भए उपलब्ध गराउन अनुरोध गरे। उनले प्रहरी एक्लैले कुनैपनि काम सम्पन्न गर्न नसक्ने भएकाले सबैको साथ आवश्यक रहेको बताए।

सञ्चारकर्मीहरूले उनलाई छोटो समयमै डिएसपी सरुवाहुने घटनाले समाजमाप्रहरी प्रतिनकारात्मकधारणा स्थापितभएको र त्यसले शान्ति सुव्यवस्थामा गलत सन्देश प्रवाह भएकाले चनाखो भएर काम गर्न सुझाव दिएका छन्।

प्रकाशित: २ आश्विन २०८० ११:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App