६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

ट्रकको ठक्करले मोटरसाइकल चालकको मृत्यु भएपछि रौतहटमा तनाव

ट्रकको ठक्करबाट रौतहटमा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ। रौतहटको फतुवा विजयपुर नगरपालिकाको सन्तपुर दोस्तिया चोकमा ना ५ ख ३४५१ नम्बरको ट्रकको ठक्करबाट मोटरसाइकल चालक फतुवा विजयपुर नगरपालिका १ का ३५ वर्षीय उमेश यादवको मृत्यु भएको हो।

तीव्र गतिमा रहेको ट्रकले ना ५१ प ४९४१ लाई ठक्कर दिँदा चालक यादवको घटनास्थलमै मृत्यु भएको हो। स्थानीयले मोसा चालक यादवलाई ट्रक ब्याक गरी किचेर जानी जानी हत्या गरेको आरोप लगाउँदै ट्रक चालक बाराको निजगढ नगरपालिका ६ का मुकुन्द पोखरेलमाथि आक्रमण गरेका छन्।

घटनास्थलमा प्रहरी र स्थानीयवासीबिच झडप भएको छ। ट्रक चालक पोखरेललाई प्रहरीले जोगाउन खोजेको आरोप लगाउँदै स्थानीयले प्रहरीमाथि पनि आक्रमण गर्न खोज्दा केही बेर दोहोरो झडपको स्थिति सिर्जना भएको प्रहरीको भनाइ छ। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले तिन राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

झडपमा प्रहरी र स्थानीयवासी दुवै पक्षमा केही घाइते भएको बताइएको छ। घटनास्थलमा व्यापक प्रहरी परिचालन गरिएको र पीडित पक्षसित वार्ता भइरहेको प्रहरीको भनाइ छ। स्थानीयको कुटाइबाट घाइते ट्रक चालक पोखरेललाई उपचारको लागि वीरगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।  

प्रकाशित: २९ भाद्र २०८० १४:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App