१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

काँग्रेस कार्यकर्ताको हत्या, झडपमा तीन प्रहरी घाइते

रामपुर (पाल्पा)—रामपुरमा प्रहरी र स्थानीयवीच झडप हुँदा तीन जना प्रहरी घाइते भएका छन्। रामपुर नगरपालिका–१ चनौली बस्ने २८ वर्षीय ओमबहादुर खाँणको हत्याको विरोधमा उत्रिएका आक्रोशित स्थानीयको भिडलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो।

स्थानीयको ढुङ्गा हानाहानबाट तीनजना प्रहरी जवान र केही व्यक्ति घाइते भएको इलाका प्रहरी कार्यालय, रामपुरले जनाएको छ। प्रहरीका अनुसार झडपमा के कति व्यक्ति घाइते भए भन्ने एकिन विवरण नआएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रहरी निरीक्षक रमेशराज पण्डितसहितको टोलीले हत्या भएको घटनाको अनुसन्धान गरेको छ। हत्या भएको स्थान गंगी थापाको घरको गल्लीमा रगतको आहाल देखिएको छ।

हत्यामा संलग्न कपिलवस्तु हथौसा–२ मैरि बस्ने २९ वर्षीय कृष्णकमल चौधरीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै विरोधमा उत्रेका स्थानीय बासिन्दाले हत्यारा चौधरीको मोटरसाइकल इलाका प्रहरी कार्यालय, रामपुरको परिसरमा जलाइदिएका छन्।

नेपाली काँग्रेस रामपुर नगरपालिका साविक २ नं वडाका पूर्व वडासचिव ओमबहादुर खाँणलाई शनिवार साँझ खाना खाएर घरको गल्लीमा बसेको बेला एक्कासी धारिलो हतियारले आक्रमण गरी घाइते बनाइएको थियो। धारिलो हतियारबाट घाइते भएका खाँणको उपचारका क्रममा रामपुर अस्पताल ल्याउने क्रममा शनिबार नै बाटोमा मृत्यु भएको हो।

धारिलो हतियार प्रयोग गरी हत्या गरेर फरार रहेका चौधरीलाई आज बिहान १० बजे रम्भा गाउँपालिका–१ हुँगी असेर्दीमा स्थानीयले फेला पारेपछि हुँगी प्रहरी चौकीलाई बुझाएका हुन्।

जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रहरी निरीक्षक रमेशराज पण्डितसहितको टोलीले हत्या भएको घटनाको अनुसन्धान गरेको छ। हत्या भएको स्थान गंगी थापाको घरको गल्लीमा रगतको आहाल देखिएको छ। घटनास्थलमा घरेलु हतियार गैँती र कुटो फेला परेपनि हत्याका क्रममा प्रयोगमा आएजस्तो देखिँदैन।

हत्याको आशंकामा घरबेटी गंगी थापा, उनकी बहिनी गुनकेशरी दर्लामी र हत्याका आरोपी कृष्णकमल चौधरीकी श्रीमतीलाई इलाका प्रहरी कार्यालय, रामपुरले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

हत्या के कसरी भयो भन्ने बारेमा अहिलेसम्म पूरा विवरण नआएको र यसको अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख राजु शर्माले जानकारी दिए।

स्थानीय ज्ञानबहादुर दर्जीका अनुसार गएराति करिब ९ बजेर २० मिनेटको समयमा आफूले एक्कासी छिमेकीको घरमा हल्ला सुनेपछि तत्काल पुग्दा घटना घटिसकेको बताउँछन्। उनले प्रहरीलाई खबर गरी घटनाबारे जानकारी गराएको बताए।

यसैगरी, ओमबहादुर खाँणको निर्ममतापूर्वक भएको हत्याको बिरोध गर्दै बेझाड बजार ब्यवस्थापन समिति, रामपुरले आज दिनभर बेझाड बजारका पसल, व्यापार व्यवसाय बन्द गराएको छ।

खाँणको हत्याको बिरोधमा रामपुरका विभिन्न संघसंस्थाले प्रेस विज्ञप्ति निकालेर घटनाको सत्यतथ्य विवरणसहित छिटोभन्दा छिटो दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।

नेपाली काँग्रेसका कार्यकर्ता तथा हाल ग्रामीण विकास बचत तथा ऋण सहकारी संस्था, रामपुरमा कार्यरत खाँणको हत्या धारिलो हतियार प्रयोगबाट भएकोमा हत्याको घोर भत्र्सना गर्दै नेपाल विद्यार्थी संघ, तरुण दल र पूर्वी पाल्पा मजदुर व्यवस्थापन समिति, रामपुर पाल्पाले एक प्रेस विज्ञप्तिमार्फत दोषीमाथि कडा कानूनी कारबाहीको माग गरेका छन्। रासस

प्रकाशित: १९ भाद्र २०७४ ०७:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App