६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

आदिवासी जनजाती भन्छन्ः गुरुङ, मगर र थारु भाषालाई कामकाजको भाषा बनाइदेउ

आदिवासी जनजातीले गुरुङ, मगर र थारु भाषालाई कामकाजको भाषा बनाउन माग गरेका छन्। आदिवासी जनजाति संघर्ष समिति गण्डकीले पोखरामा पत्रकार सम्मेलन गरेर गुरुङ, मगर र थारु भाषालाई कामकाजको भाषा घोषणा गर्न सरकारसँग माग गरेको हो।

 गणेश ठाकुरको संयोजकत्वमा गठित भाषा आयोगले गण्डकी प्रदेशमा गुरुङ र मगर तथा देशको दक्षिणी भेगमा थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन सिफारिस गरेकाले सोही अनुसार आवश्यक ऐन, कानुन बनाई कामकाजको भाषा घोषणा गर्न समितिको माग छ।

समितिले नेपालको संविधानको धारा ३१ को उपधारा ५ ले प्रत्येक नेपालीलाई आफ्नो मातृभाषामा शिक्षा पाउने हकको ग्यारेन्टी गरेकाले सो अनुसार मातृभाषामा पठनपाठनको व्यवस्था गर्न पनि माग गरेको छ। त्यसैगरी प्रदेशस्तरमा भाषा आयोगको शाखा स्थापना गर्न समितिको माग छ। उसले थातथलो, गाउँबस्तीको नाम पुनः मातृभाषामा नामांकृत गर्न पनि समितिले माग गरेको छ।

समितिले मातृभाषा, साहित्य, कला, संस्कृति संरक्षण, सम्बद्र्धन, खोजअनुसन्धान र विकासका लागि पालिका स्तरमा प्रज्ञाप्रतिष्ठान गठन गर्नपनि माग गरेको छ। समितिले संविधानको धारा ५५ को ५ मा सामाजिक, सांस्कृतिक संरक्षण वा आर्थिक विकासका लागि विशेष, संरक्षित वा स्वायत्त क्षेत्र कायम गर्न सकिने व्यवस्था भएको भन्दै सो अनुसार तत्काल विशेष संरक्षित वा स्वायत्त क्षेत्र निर्धारण गर्नपनि माग गरेको छ। समितिले सामाजिक सद्भाव भड्काउने अभिव्यक्ति दिएको भन्दै शितल पाण्डे भनिने भगवती पाण्डेलाई कारवाही गर्न माग पनि गरेको छ।

समितिले पोखराको पृथ्वीचोकमा रहेको प्रथम सहिद लखन थापाको सालिक हटाउने वा थापा माथि अपमानित हुने खालको गतिविधि भए प्रतिकार गर्ने चेतावनी दिएको छ। सो चोकमा थापाको शालिक हटाएर पृथ्वीनारायण शाहको शालिक राख्ने प्रयास विभिन्न समूहले गर्न थालेपछि आदिवासी जनजाति संघर्ष समितिले यस्तो चेतावनी दिएको हो। 

उसो त पोखरा महानगरपालिकाले पृथ्वीचोकको सालिक पोखरा–१८ स्थित विभूतीपार्कमा स्थानान्तरण गर्ने तयारी समेत गरिरहेको छ। यसैलाई मध्यनजर गर्दै संघर्ष समितिका सहसंयोजक हुमबहादुर तमुले पुरानो शालिक यथावत राखेर बाँकी सालिकलाई मात्रै विभूतीपार्कमा राख्नुपर्ने बताए। उनले भने, ‘प्रतिगमनतर्फ धकेल्न खोज्नेले चलखेल गरेको छ कि भन्ने हामीलाई शंका छ। परिवर्तनसँग जोडिएको, आन्दोलन र अधिकारसँग जोडिएको, ईतिहाससँग जोडिएको विषयमा केटाकेटी खेले झैं ख्यालख्याल गर्न हुँदैन। थापाको सालिक साविकमै राखेर अन्यलाई विभुती पार्कमा राखेर निकास खोज्नुपर्छ।’

संघर्ष समितिका संयोजक धर्मबहादुर तमुले माग पूरा नभए आन्दोलन चर्काउने चेतावनी दिए। ‘हामी शान्तिपूर्ण रुपमा माग राखिरहेका छौं,’ उनले भने, ‘संविधानले नै दिएका कुरा सरकारले पूरा गर्नुपर्छ। अन्यथा माग पूरा गर्न हामी आन्दोलनमा जानुको विकल्प छैन।’

प्रकाशित: ६ भाद्र २०८० ०८:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App