६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

सुकुम्बासीलाई लालपुर्जा माग्दै मनहरीको टोली प्रधानमन्त्रीकोमा

प्रधानमन्त्री दाहाललाई भेटेर ज्ञापनपत्र बुझाउँदै गाउँपालिका अध्यक्षसहितको टोली।

वर्षौंदेखि भोगचलन गर्दै आएका तर लालपुर्जा पाउन नसकेका भूमिहीन सुकुम्बासीको समस्या समाधानको मागसहित मकवानपुरको मनहरी गाउँपालिकाको टोली प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न काठमाडौं पुगेको छ।

भूमिहीन तथा सुकुम्बासीलाई लालपुर्जा दिलाउन आवश्यक समन्वय एवम् सहजीकरण गर्नुपर्ने मागसहित गाउँपालिकाको टोलीले मंगलबार बिहान प्रधानमन्त्रीलाई भेटेको हो।

गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले भूमिहीन सुकुम्बासीलाई लालपूर्जा दिलाउने विषयमा राष्ट्रिय निकुञ्ज बाधक बनेको भन्दै आवश्यक सहजीकरणका लागि प्रधानमन्त्रीलाई अनुरोध गरे। प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उनले वर्षौंदेखि बसोबास गर्दै आएका मनहरीका धेरै विपन्न, आदिवासी जनजाति एवम् दलितहरु लालपुर्जाविहीन रहेको बताए। ‘एउटै टोलमा बस्ने कसैको पुर्जा छ, कसैको छैन’, उनले भने, ‘हामी भूमिहीन सुकुम्बासीलाई लालपुर्जा दिलाउन लागिपरेका छौं तर पर्सा राष्ट्रिय निकुञ्ज यसको बाधक भएको छ।’ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा सर्वसाधारणले घरायसी प्रयोगको लागि ढुङ्गा, गिटी, वालुवा ल्याउँदा समेत अनेक दुःख भोग्नु परेको उनले सुनाए। गाउँपालिका अध्यक्ष कालाखेतीले भूमिहीन सुकुम्बासीका लागि लालपुर्जा वितरण गर्ने विषयमा आवश्यक सहयोग एवम् सहजीकरणका लागि प्रधानमन्त्रीलाई अनुरोध गरे।

मकवानपुरको क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’बाट निर्वाचित प्रदेश सांसद् ईन्द्रबहादुर बानियाँले गाउँपालिकाले उठान गरेको विषयमा सहजीकरण गरी यथासक्य छिटो लालपुर्जा वितरण गर्ने वातावरण बनाउन प्रधानमन्त्रीलाई अनुरोध गरे। वर्षौंदेखी भोगचलन गर्दै आएको जग्गा नापी गरेर पुर्जा वितरण गर्नुपर्ने उनको माग थियो। यस्तै नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गगन थापाले निकुञ्जका कारण नेपालमा धेरै सर्वसाधारण पीडित हुनुपरेको स्मरण गराउँदै यो समस्या दीर्घकालीन रुपमा समाधान हुनुपर्ने धारणा राखे। ‘जल, जमिन, जंगल र जनावरको आवश्यक संरक्षण जरुरी छ। तर त्यसो भन्दैमा आरक्ष वा निकुञ्जकै कारण सर्वसाधारणले दुःख भोग्न बाध्य हुनु गम्भीर विषय हो’, उनले भने, ‘मनहरी गाउँपालिकासहित देशैभरबाट आवाज उठिरहेको यस विषयमा एउटा निर्णयमा पुग्न जरुरी छ।’

मनहरी गाउँपालिका अगाडी धर्ना दिँदै भूमिहीन सुकुम्बासीहरु।

गाउँपालिकाको टोलीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले ऐन संशोधन गर्नुपर्ने अवस्था रहेको जानकारी दिँदै त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाउने प्रतिवद्धता व्यक्त गरे। ‘मेरो निर्वाचन क्षेत्र चितवनमा पनि यो खालको समस्या छ। सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवहरुसँग समन्वय गरेर आवश्यक प्रक्रिया अघि बढाउनेछु’, उनले भने, ‘यो समस्या समाधान गर्दै भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने वातावरण बनाउनेछु।’ भूमिहीन, सुकुम्बासीको समस्या लिएर मनहरी गाउँपालिका अध्यक्ष कालाखेतीसहित उपाध्यक्ष सीता पुलामी मगर रेखा तथा ९ वटै वडाका अध्यक्षहरु प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन्। सोही क्रममा छिमेकी जिल्ला चितवनका विभिन्न पालिकाका प्रमुख, उपप्रमुख एवम् वडा अध्यक्षहरु समेत यही विषयलाई लिएर काठमाडौं पुगेका थिए।  

सरोकार समितिको पालिकामा धर्ना

भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्नुपर्ने माग गर्दै मनहरी गाउँपालिकाको कार्यालयमा धर्ना दिइएको छ। भूमिहीन सुकुम्बासीको पक्षमा गठित सरोकार समितिले मंगलबार दिउँसो गाउँपालिकाको कार्यालय रजैयामा धर्ना दिएको हो। उनीहरुले भूमिहीन सुकुम्बासीलाई यथासक्य छिटो लालपुर्जा वितरण गर्नुपर्ने, यसका लागि गाउँपालिकाले आवश्यक सहजीकरण गर्नुपर्ने लगायतका माग उठान गरेका थिए।

करिब तीनसय जनाको हारामारीमा उपस्थित भएका भूमिहीन सुकुम्बासीले गाउँपालिकाको विरुद्धमा नाराबाजी समेत लगाएका थिए। प्रधानमन्त्रीलाई भेट्न जाने क्रममा सरोकार समितिका प्रतिनिधिसँग समन्वय नगरेको भन्दै उनीहरुले दुखेसो समेत गरेका थिए। सरोकार समितिले गाउँपालिकामा धर्नासहित नाराबासी गरिरहँदा गाउँपालिकाको सिंगो टिम भने काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर समस्या समाधानमा सहजीकरण गर्न अनुरोध गरिरहेको थियो।

प्रकाशित: ५ भाद्र २०८० १३:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App