४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

पर्यटकको आकर्षण बन्दै रोला झरना

पोखरा महानगरपालिका-२८ स्थित माझठानाको रोला झरनामा यतिखेर आन्तरिक पर्यटकको आकर्षण बढेको छ। जंगलको बिच भागमा रहेको मनोरम झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल पनि बढेको छ।

पैसठ्ठी मिटर अग्लो झरनाको दृश्यावलोन गर्ने, दहमा पौडी खेल्दै रमाउने र शीतलको अनुभूति गर्ने पर्यटकको दैनिकजसो भीड लाग्ने गरेको स्थानीय सूर्यमोहन बास्तोलाले बताए। उनका अनुसार सुगमस्थान एवं प्रचुर सम्भावना रहेर पनि झरना पछि परेको अवस्था ध्यान दिंदै यसको संरक्षण र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीय पहल महत्वपूर्ण बनेको छ।

यसअघि २०७३ सालमा स्थानीयको पहलमा नेटाबाट झरनासम्म पुग्ने मोटरबाटो निर्माण गरिएसँगै रोला झरना प्रचारप्रसारमा आएको हो। उनले भने, ‘यतिखेर दैनिक पाँच सयदेखि एक हजार पाँच सय जनासम्म आन्तरिक पर्यटक आउने गरेका छन्। विशेष गरी प्रत्येक हप्ताको शनिबार झरनामा रमाउनेको बढी भीड लाग्ने गरेको छ।’

झरनासम्म पुग्न कच्ची मोटरबाटो निर्माण भएसँगै विगतका वर्षहरूमा ट्रिप लङ प्रालिले सहासिक खेल क्यानोनिङ सञ्चालन गर्दा थप आकर्षण बढेको उनको भनाइ छ। तर, दुई वर्ष यता क्यानोनिङ सञ्चालन भएको छैन। पर्यटक बढाउन झरनामा पर्यटकीय गतिविधि सञ्चालन गर्नु अपरिहार्य बनेको उनको भनाइ छ।

झरनामा रमाउन पुग्ने पर्यटकलाई तात्कालीन सुविधा पुर्‍याउने लक्ष्यका साथ पोखरा महानगरपालिका वडा नं. २८ ले दुई वर्षअघि चेन्जिङ रुम र शौचालय निर्माण गरेको थियो। लायन्स क्लब अफ पोखराको ६२ हजार  र नेपाल लायन्स फाउन्डेशनको ५० हजार रुपैयाँ गरी कूल एक लाख १२ हजार रुपैयाँको लागतमा रोला झरनामा ट्रष्ट प्रतीक्षालय निर्माण गरिएको लायन्स इन्टरनेशनल डिस्टिक ३२५ ‘के’ का जोन चियरपर्सन भोला ओझाले बताए।

झरनाको ५०/६० मिटरको फरकमा पूर्वउत्तरमा ढोडेली झरना छ भने सो पानी एकीकृत भएर केही तल्लो भागमा निलिरह जुम्ल्याहा झरना पनि छ।

कास्की निर्वाचन क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङसहितको एक टोलीले उक्त झरनाको स्थलगत अध्ययन अवलोकन गरी प्राकृतिक स्रोतको भरपूर उपयोग गरी स्थानीय बासिन्दाको आयआर्जनमा सहयोग पुग्नेमा जोड दिएको छ।

सांसद् गुरुङले पर्यटकीय नगरी पोखराको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न गुरुयोजना निर्माण गरेर आवश्यक भौतिक संरचना निर्माणमा तीनै तहका सरकार जिम्मेवार भएर लाग्नुपर्ने आवश्यकता रहेको बताए।

झरनासम्म बाटाको सुविधा, पानी पर्दा ओत बस्ने ठाउँ लगायतका विभिन्न अत्यावश्यक भौतिक संरचना तयार गरेर आन्तरिक एवं बाह्य पर्यटकलाई सुविधा पुर्‍याउनु तत्काल पहल गरिने उनको प्रतिबद्धता थियो।

स्थानीय हरिप्रसाद बास्तोलाका अनुसार बेगनास तालको जलाधार क्षेत्रका रूपमा रहेको स्याङखुदीदेखि चण्डीखोलाको निलिरहका झरनासम्म मोटरबाटो निर्माण गरी त्यसभन्दा झन्डै एक सय मिटरमा अवस्थित रोला र ढोडेली झरनासम्म पैदलमार्ग निर्माण गर्ने हो भने एक दिनको प्याकेज बनाउने सकिन्छ। यसले पर्यटकको बसाइँ लम्व्याउन सहयोग पुग्ने उनको विश्वास छ।

पृथ्वीराजमार्गको तालचोकदेखि बेगनासताल खण्डको शिशुवा तथा मोहोरीयाबाट बेगनासताल, खास्टेताल, मैदीताल, रुपाताललाई नियाल्दै लामास्वारा, स्याङखुदीबाट बाँस्तोला गाउँको नेटा हुँदै उक्त झरनासम्म पुग्न सकिन्छ।

प्रकाशित: ५ भाद्र २०८० १२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App