१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सामाजिक सञ्जालमा गाली बेइज्जती गर्ने विरुद्ध उजुरी

बाजुरा- सामाजिक सञ्जाल मार्फत पत्रकारहरुलाई गाली बेइज्जती गर्ने आठ जना विरुद्ध नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले प्रहरीमा उजुरी दिएको छ। फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालको प्रयोग गरी मानमर्दन तथा पेशाको खिल्ली उडाउने गरी अभिव्यक्ति दिने विरुद्ध महासंघले कारवाहीको माग सहीत उजुरी दिएको हो।

महासंघले बडिमालिका नगरपालिका ७ ढम्कनेका फेसबुकमा रोयल जेनीत नाम उल्लेख गरिएका गणेश धामी, जनपथ प्रहरीमा कार्यरत सञ्जीव कुमार रोकाया, बुढीगंगा नगरपालिका ४ बस्ने राजेन्द्र शाह बिपी, बडिमालिका नगरपालिका ९ का गोरख बहादुर विष्ट, छेडेदह गाउँपालिका ६ का हरिनारायण उपाध्याय, बुढीगंगा नगरपालिका ५ का केपी रेग्मी, गौमुल गाउँपालिकाका टेकबहादुर धामी र विजय गिरी डाइमण्ड विरुद्ध उजुरी दिएको छ।

सामाजिक प्रतिष्ठा कमाएका, शिक्षा आर्जन गर्दै गरेका र सम्मानीत पेशामा बसेकै व्यक्तिबाट आफ्नै हैसियत भुलेर गरिएको अपमान र बेइज्जतीको विरुद्ध महासंघले उजुरी दिएको महासंघ सचिव प्रेम विकले जानकारी दिए।

महासंघले सार्वजनिक अपराध र सजाय ऐन, गाली र बेइज्जती ऐन तथा साईबर क्राईम ऐन अन्तर्गत कारवाहीका लागि निवेदन दिएको हो। लोकतन्त्र, विधिको शासन र प्रेस स्वतन्त्रताको खुलेआम धज्जी उडाउँदै प्रेस जगतको सार्वजनिक बद्नामी र संस्था तथा व्यक्तिको चरित्र हत्या गर्ने नियतका साथ गरिएका क्रियाकलाप र आरोप प्रत्यारोपका विरुद्ध संलग्न भएको प्रमाण सहीत उजुरी दिएको छ।

उजुरी बुझ्दै प्रहरी नायव उपरीक्षक दलबहादुर बोगटीले तत्काल खोजि गर्ने बताए। उनले पत्रकार माथिको बद्नामीका विरुद्ध राज्य गम्भीर रहेकोले खोजि गरेर आवश्यक कारवाही प्रक्रिया अघि बढाउने बोगटीले बताए। 

प्रकाशित: २ श्रावण २०७४ १४:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App