५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

हत्याका आरोपीलाई अभद्र व्यवहार मुद्दा

हत्याको आरोपमा भारतबाट पक्राउ गरी ल्याएको अपराधीलाई प्रहरीले अभद्र मुद्दा चलाएको पाइएको छ। मुद्दालाई कमजोर बनाउन तथा आरोपीलाई उन्मुक्ति दिने नियतले प्रहरीले हत्या आरोपीलाई अभद्र मुद्दा चलाएको आशंका गरिएको छ।

गत जेठ ११ मा रौतहटको देवाही गोनाही नगरपालिका १ करुनियाका ७० वर्षीय शेख तैयबको हत्याका आरोपी देवाही गोनाही नगरपालिका १ करुनियाका शेख सेराज तथा भारत घोडासहनका कुख्यात अपराधी राकेश कुशवाहालाई भारतबाट पक्राउ गरेर ल्याइएको छ। पक्राउ परेका दुवै जनालाई रौतहट प्रहरीले अभद्र व्यवहार मुद्दामा अनुसन्धान अगाडि बढाएको हो। पक्राउ परेको एक हप्तापछि प्रहरीले गत साउन ८ गते जिल्ला प्रशासन कार्यालय रौतहटमा अभद्र व्यवहार मुद्दामा म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको स्रोतबाट बुझिएको छ।

यसपछि पनि प्रहरीले अभद्र व्यवहार मुद्दामा सेराज र कुशवाहालाई साउन १३ गते दोस्रो पटक ७ दिनको र साउन २० गते १० दिनको म्याद थप गराई अनुसन्धान गरिरहेको स्रोतको दाबी छ।

करुनियाका ७० वर्षीय शेख तैयबको हत्या भएको करिब तिन महिना हुन थालेको छ। हत्याको आरोपमा प्रहरीले भारतबाट दुई जनालाई नियन्त्रणमा लिएको भए पनि मुख्य अभियुक्त देवाही गोनाही नगरपालिका १ का पूर्व वडाध्यक्ष शेख नुरुल्लाहका साथै शेख सद्दाम लगायतका आरोपीहरू अझै फरार रहेको देखिएको छ।

२०७७ भदौ ३ गते माधव नारायण नगरपालिका २ खेसरहियामा हनुमान मन्दिरका पुजारी श्रीराम साहलाई खाना खाँदै गरेको अवस्थामा टाउकोमा गोली हानी हत्या भएको थियो। पुजारीको हत्याको आरोप पनि पूर्व वडाध्यक्ष नुरुल्लाहमाथि नै लागेको छ। नुरुल्लाह उक्त घटनामा फरार रही प्रहरीको मिलेमतोमा गुपचुप अदालतमा हाजिर भई दुई लाख धरौटीमा रिहा भएका थिए। वडाध्यक्ष नुरुल्लाह रिहा भएपछि आफू जोगिन र आफ्ना विरोधीहरूलाई फसाउन ७० वर्षीय शेख तैयबको हत्या गरेको अनुसन्धानबाट देखिएको स्रोतको दाबी छ।

तैयबको हत्या सम्बन्धमा रौतहट प्रहरीले अनुसन्धान नगरेपछि सिआइबिले घटनाको अनुसन्धान गरेको थियो। डिएसपी बरुणबहादुर सिंहको नेतृत्वमा सिआइबिको टोलीले दुई हप्ताभन्दा लामो समयसम्म गरेको अनुसन्धानबाट देवाही गोनाही नगरपालिका १ का पूर्व वडाध्यक्ष शेख नुरुल्लाहको योजनामा शेख सेराज, शेख सद्दाम तथा भारत घोडासहनका कुख्यात अपराधी राकेश कुशवाहासहितकाले ७० वर्षीय शेख तैयबको हत्या गरेको देखिएको स्रोतको दाबी छ।

घोडासहनका कुशवाहाको नाउँमा भारतमै हत्याको दर्जनौँ मुद्दा चलिरहेको छ। कुशवाहाका काका लालबाबु कुशवाहा पनि हतियार ओसारपसारको क्रममा बारा प्रहरीले पक्राउ गरी पर्साको जेलमा कैदी जीवन बिताइरहेका छन्।

७० वर्षीय शेख तैयब हत्याका मुख्य योजनाकार शेख नुरुल्लाह र घटनामा संलग्न शेख सद्दाम फरार रहेका छन्। घटनामा संलग्न कुशवाहा र सेराजलाई प्रहरीले भारतबाट पक्राउ गरेर ल्याउँदासम्म मुख्य आरोपी शेख नुरुल्लाह आफ्नै घरमा रहेका थिए।

७० वर्षीय तैयबको हत्या भएको राति सबै योजना बनाएर शेख नुरुल्लाह एम्बुलेन्स चढेर काठमाडौँ गएका थिए। घटनापछि घर फर्केका नुरुल्लाहलाई प्रहरीले अनुसन्धानको दायरामा ल्याउन सकेको थिएन। सिआइबिको टोलीले मुख्य योजनाकार नुरुल्लाह नै रहेको किटान गरेपछि प्रहरीकै सहयोगमा नुरुल्लाह फरार भएका थिए।

घटनामा संलग्न रहेका कुशवाहा र सेराजलाई पक्राउ गरेको करिब एक महिना बितिसकेको भए पनि अहिलेसम्म सार्वजनिक गरेको छैन। गत साउन ११ मा जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरेर वार्षिक प्रतिवेदन सार्वजनिक गरेको थियो तर कुशवाहा र सेराजको बारेमा औपचारिक रुपमा एक शब्द पनि बोलेको थिएन।

पुजारी र तैयब गरी दुई हत्याकाण्डका अभियुक्त पक्राउ पर्दा पनि प्रहरीले सार्वजनिक प्रतिक्रिया नदिँदा सर्वत्र शंका उठेको छ। प्रहरीले घटनालाई मिडियामा आउन नदिन ठूलो रकमी चलखेल गरेको आशंका गरिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी वीरबहादुर बुढामगरले कुशवाहा र सेराजलाई पक्राउ गरेको पुष्टि गर्दै निजहरूको बारेमा अनुसन्धान पूरा नभएकोले अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको र अन्य आरोपीलाई पक्राउ गर्नको लागि दुवै जनाको बारेमा सार्वजनिक प्रतिक्रिया नदिएको बताएका छन्।

प्रकाशित: २४ श्रावण २०८० १४:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App