५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

तटबन्ध भत्किएपछि ४८ परिवार विस्थापित

रौतहटको बागमती र लालबकैया नदीमा आएको बाढीले व्यापक क्षति पुर्‍याएको छ।लगातार परेको पानीले लालबकैया नदीमा बाढी आउँदा राजपुर नगरपालिकाको बैरियामा तटबन्ध भत्किएको छ। तटबन्ध भत्केर गाउँमा बाढी पसेपछि एकै गाउँका ४८ परिवार विस्थापित भएका छन।

विस्थापित परिवारलाई नजिकै विभिन्न ठाउँमा अस्थायी बसोबासको व्यवस्था गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार झाले जानकारी गराएका छन्।

विस्थापितहरूले बसोबास व्यवस्थापनको लागि त्रिपालको माग गरेकोमा जिल्ला विपद् व्यवस्थापन समितिको तर्फबाट तत्काल १२५ त्रिपाल उपलब्ध गराइएको छ।विस्थापितहरूलाई राजपुर नगरपालिकाको तर्फबाट मेस चलाएर सामूहिक भोजनको व्यवस्था गरिएको छ।

वर्षा र बाढीबाट जिल्लामा २०० घर परिवार प्रभावित भएको खबर आएको प्रजिअ झाको दाबी छ । जिल्लाको झिटकैया, वसन्तपुर, बडहर्वा, चन्डिया, पथरा लगायतका गाउँमा वर्षा र बाढीले सयौँ घर प्रभावित भएको हो।प्रभावित घरपरिवारलाई  खाद्यान्न, झुल र अन्य मानवीय सहयोग उपलब्ध गराइएको छ।

सुरक्षा निकायको तथ्याङ्कमा करिब दुई सय घरपरिवार बाढी तथा वर्षाबाट प्रभावित भएको बताइए पनि जिल्लामा पाँच सयभन्दा बढी घर परिवार प्रभावित भएको बुझिएको छ।प्रभावित परिवारलाई स्थानीय पालिकाका साथै विभिन्न सङ्घसंस्थाले सहयोग गरिरहेका छन्।

बाढीले तटबन्ध भत्किएर अत्याधिक प्रभावित भएको राजपुर नगरपालिकाको बैरियामा भत्किएको तटबन्धलाई लालबकैया तथा बागमती नदी नियन्त्रण परियोजनाले तत्काल नियन्त्रण गर्ने भएको छ।

बाढीले क्षतिग्रस्त भइसकेको तथा क्षतिग्रस्त हुन थालेको राजदेवी नगरपालिकाको ब्रह्मपुरीमा बागमती नदीको तटबन्धका साथै दुर्गा भगवती र गढीमाई नगरपालिकामा रहेको कमजोर तटबन्धलाई मर्मत गर्ने काम सुरु गरिसकिएको प्रजिअ झाले जानकारी गराएका छन् । यसै गरी बकैया किनारको फतुवा,भसेढवा, कटहरिया, मौलापुरमा तटबन्ध मर्मतको लागि प्राविधिक खटिइसकेका छन्।

बाढीबाट अत्यधिक प्रभावित क्षेत्र तथा गुनासो आएको ठाउँमा नदीहरूको तटबन्धको जिल्लाकोसुरक्षा निकायले स्थलगत निरीक्षण अनुगमन गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएको छ।

प्रकाशित: २४ श्रावण २०८० १४:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App