१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

मकवानपुर पहिरो: एकको मृत्यु, ५ बेपत्ता, एकको उद्धार (अपडेट)

पहिरो आएको अक्कलबहादुरको घर भएको स्थान। तस्बिर: सामाजिक सञ्जालबाट।

मकवानपुरको बागमती गाउँपालिकामा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ। यस्तै एक जनाको उद्धार गरिएको छ भने ५ जना बेपत्ता भएका छन्। हराइरहेका मध्ये पासाङ घिसिङलाई जीवितै उद्धार गरिएको हो।

काभ्रेको खानीखोला र मकवानपुरको बागमती गाउँपालिकाको सिमानामा पर्ने सिक्रे खोलामा पहिरोले एउटा घर बगाउँदा हराएका ७ मध्ये एक जना मृत फेला पर्दा एक जनाको करिब १५ घण्टापछि जीवितै उद्धार गरिएको हो। ५ जना भने मंगलबार साँझसम्म बेपत्ता रहेका छन्।

अविरल वर्षाका कारण मंगलबार बिहान करिब ४ बजेको समयमा बागमती गाउँपालिकाको ५ नम्बर वडास्थित सिक्रे दोभानमा भलसहितको पहिरोले स्थानीय अक्कलबहादुर स्याङ्तानको घर बगाएको थियो।

पहिरोमा उनको श्रीमती ५५ वर्षीय सन्तमाया स्याङ्तानको मृत्यु भएको छ। उद्धार गरी नजिकैको मेडिकलमा उपचार गराउने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

पहिरोमा ६० वर्षीय अक्कलबहादुर, उनको २२ वर्षीय छोरी शिला पहरी, २५ वर्षका ज्वाई जीवन पहरी, ४ वर्षका नाति मिलन पहरी र डेढ वर्षीय नातिनी दिव्या पहरी हराइरहेका छन्। उनीहरुको खोजी कार्य भइरहेको मकवानपुर प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए।

‘प्रहरीसहित स्थानीयको सहयोगमा बिहानैदेखि खोजी कार्य भइरहेको छ’, कार्कीले भने, ‘एउटा घर बगाउँदा ७ जना बेपत्ता भएकोमा दुई जनाको उद्धार भएको छ। जसमध्ये एक जनाको मृत्यु भएको छ। बाँकी ५ जनाको खोजी कार्य भइरहेको छ।’

प्रकाशित: २३ श्रावण २०८० १३:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App