४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

क्यानोनिङको क्रममा लडेकी युवती एकसय मिटर माथिबाट खसेकी थिइन्

कास्कीको ल्वाङघलेलस्थित छहरामा क्यानोनिङ गरिदै। फाइल तस्बिरः नागरिक

कास्कीको माछापुच्छ्रेमा क्यानोनिङ गर्ने क्रममा लडेर एक युवतीको मृत्यु भएको छ। माछापुच्छ्रे गाउँपालिका–९ घलेलस्थित पोखरा क्यानोनिङमा क्यानोनिङ गर्ने क्रममा चिप्लिएर लड्दा पोखरा महानगरपालिका–२६ बुढीबजार निवासी २२ वर्षिया अञ्जिता भण्डारीको ज्यान गएको हो।

भण्डारी क्यानोनिङ गर्न बुधबार घलेल पुगेकी थिईन्। बुधबार चारबजेतिर क्यानोनिङ गर्ने क्रममा अचानक चिप्लिएर लडेकी उनी करिब एकसय मिटर माथिबाट खसेर पानीमा बजारिएकी थिइन्। उनलाई तत्काल उद्धार गरेर मणिपाल शिक्षण अस्पताल ल्याइए पनि चिकित्सकले पाँचबजेतिर मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

क्यानोनिङसाहसिक खेल हो। जसलाई जोखिमयुक्त खेल पनि भनिन्छ। मनोरञ्जनात्मक खेलका रुपमा लिईने क्यानोनिङ मा करिब एकसय मिटर माथिबाट डोरीको सहायतामा पहराबाट झर्दै झरनाको आनन्द लिने गरिन्छ। डोरी बाँध्नुअघि नै लडेमा वा बीचमा डोरीको तालमेल मिलाउन नजानेमा पनि यो जोखिमपूर्ण हुने पोखरा क्यानोनिङका सञ्चालक राम गुरुङ बताउँछन्।

बुधबारको घटनामा पनि डोरी बाँध्नु अघि नै युवती अचानक चिप्लिएर लडेकाले मानवीय क्षती हुन पुगेको सञ्चालक गुरुङको भनाई छ। ‘घटना हुने समयमा घटनास्थलमा म थिईन, तर घटना हेर्दा युवती डोरी बाँध्नुअघि नै अचानक चिप्लिएर लडेको देखिन्छ। त्यहि भएर मानवीय क्षती हुन पुग्यो,’ उनले भने। डोरी बाँध्नुअघि नै लडेकाले उद्धारमा कठिनाई भएको उनको दाबी छ। उनले भने, ‘डोरीबाट गएको भए उद्धार गर्न सम्भव हुन्थ्यो। चिप्लिएर लड्नुमा मानवीय कमजोरी हुनसक्छ तर अनुसन्धान भईरहेकाले यसबारे थप भन्न सक्दिन।’

कास्की प्रहरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) श्रवणकुमार विकले घटनाको अनुसन्धान भईरहेको बताए। ‘करिब ४५ मिटर उचाईबाट खसेको भनिएको छ,’ उनले भने, ‘हामी अनुसन्धान गरिरहेका छौं। अनुसन्धानले नै बाँकी कुरा प्रष्ट पार्ला।’

प्रकाशित: ११ श्रावण २०८० ०८:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App