१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कीर्तिपुर नगरमा नेपाल भाषामा काम

काठमाडौं- कीर्तिपुर नगरपालिकाले 'नेपाल भाषा' लाई कामकाजी भाषाको रुपमा प्रचलनमा ल्याउने भएको छ। कीर्तिपुर नगरपालिकाका नवनिर्वाचित मेयर रमेशमान महर्जनले सोमबार एक कार्यक्रमबीच नेपाल भाषा कामकाजी भाषाको रुपमा प्रचलनमा आएको घोषणा गर्नेछन्।

'संस्कृति तथा सम्पदा संरक्षण गर्ने योजना अनुसार नेपाल भाषालाई सोमबारदेखि यो नगरभित्र कामकाजी भाषाको रुपमा मान्यता प्रदान गरिनेछ,' नवनिर्वाचित मेयर महर्जनले नागरिकसँग भने, 'नेपाल भाषाको लिपि भने देवनागरी हुनेछ।'

मेयर महर्जनले कीर्तिपुरको पुरानो बस्तीबाहेकको विस्तारित नयाँ बस्तीलाई समेटेर 'एकीकृत बस्ती' निर्माण गर्ने उनले बताए। एकीकृत बस्ती सुविधा सम्पन्न हुने उनले जनाए। 'कमाउने नाममा दलालले ससाना टुक्रा जग्गा बनाई बेच्ने गर्दै आएका छन्। नमिलाई बेचिएका यस्ता जग्गामा ढल, खानेपानी, विद्युत्लगायतको व्यवस्थापनमा समस्या हुनेगरेको छ। अब यस्तो हुँदैन, नयाँ बस्तीलाई समेटेर एकीकृत बस्ती बनाई व्यवस्थित सहर निर्माण हुन्छ,' उनले स्पष्ट पारे।

कीर्तिपुर नगरमा रहेका खाली जग्गालाई समेटेर नगरपालिकाले अब बृहत्त योजना बनाउने नवनिर्वाचित मेयर महर्जनको भनाइ छ। खाली जग्गा अधिग्रहण गर्न कठिन हुने भएकाले एकीकरण गरी त्यसमा 'प्लान' गरेर सम्बन्धित धनीलाई जग्गा फिर्ता गर्ने योजना उनको छ। 'अधिग्रहण गर्न सकिँदैन, त्यसैले खाली जग्गा एकीकरण गर्ने हो। त्यसपछि प्लान गरेर फिर्ता गर्नुपर्छ। त्यसपछि मात्र नगरपालिकाले उपलब्ध गराउने सुविधा जनताले सहज रुपमा पाउन सक्नेछन्,' उनले भने।

प्रकाशित: ८ जेष्ठ २०७४ ०२:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App