४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

मोबाइलबाटै हाजिरी र घरमै तलब सुविधा

फाइल तस्वीर

काठमाडौंमा एउटा यस्तो सरकारी कार्यालय छ, जहाँ कर्मचारी कार्यालय जानुपर्दैन। उनीहरूले मोबाइलबाट हाजिरी (ल्याप्चे) गरे पुग्छ। अधिकार सम्पन्न एकीकृत वाग्मती विकास समितिले विगत तीन वर्षदेखि करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीका लागि मोबाइलबाटै हाजिरी गर्न सक्ने व्यवस्था मिलाएको छ।

समितिका तत्कालीन सदस्य सचिव एवं वाग्मती सुधार आयोजनाका आयोजना प्रमुख लीला ढकालको पहलमा २०७६ कात्तिकदेखि यस्तो व्यवस्था मिलाइएको हो। यसैकारण कार्यरत ५६ जना ज्यालादारी तथा १ सय १० जना करारका कर्मचारीलाई हाजिर गर्न दिनदिनै कार्यालयमा जानुपर्दैन। उनीहरूले आफू फिल्डमा गएको जानकारी मोबाइल एपबाट कार्यालयमा पठाएमा हाजिरी भएको मानिन्छ। त्यहाँ स्थायी कर्मचारीको दरबन्दी २८ छ। अधिकांश कर्मचारी ज्यालादारी र करारमा छन्। उनीहरूको तलबसुविधा पनि घरमै पुग्छ। अर्थात् तलबभत्ताका लागि पनि उनीहरू कार्यालय जानुपर्दैन। अधिकार सम्पन्न एकीकृत वाग्मती विकास समितिले उनीहरू सबैको तलब बैंकमा पठाइदिन्छ।

काठमाडौंमा एउटा यस्तो सरकारी कार्यालय छ, जहाँ कर्मचारी कार्यालय जानुपर्दैन। उनीहरूले मोबाइलबाट हाजिरी (ल्याप्चे) गरे पुग्छ।

समितिका आइटी प्रमुख रोहित कँडेलका अनुसार ज्यालादारी तथा करारमा कार्यरत सबै कर्मचारीको मोबाइलमा आरसिएमसी (रिभर क्लिनर मोनिटरिङ सिस्टम) नामक एप राखिएको छ।

अस्थायी तथा ज्यालादारी कर्मचारीले फिल्डमा गएका बेला सम्बन्धित ठाउँको फोटो र समयसमेत अपलोड गरी मोबाइलमा पठाएमा हाजिरी गरेको मानिने कँडेलले बताए। उपत्यकाका २८ वटा नदी–खोला ती कर्मचारीका फिल्ड हुन्। उपत्यकाका सबै नदीखोला हेर्ने अधिकार सम्पन्न एकीकृत वाग्मती विकास समितिलाई दिइएको छ।

‘ज्यालादारी तथा करारमा कार्यरत कर्मचारीहरू उपत्यकाका २८ वटा नदीखोलामध्ये कुनै एउटामा गई फोटो खिचाए हाजिरी पुग्छ,’ स्रोतले भन्यो, ‘कुनै कर्मचारी हेटाैडा गएको बेलासमेत हाजिरी गरेको देखियो।’ तर आइटी प्रमुख कँडेलका अनुसार  समितिकै काममा एक सवारीचालकले हेटौंडा पुगेका बेला हाजिरी गरेको देखिएको हो। उनले कुनै कर्मचारीले बदमासी नगरून् भनेर नियमित अनुगमन भइरहेको बताए।

समितिका आइटी प्रमुख रोहित कँडेलका अनुसार ज्यालादारी तथा करारमा कार्यरत सबै कर्मचारीको मोबाइलमा आरसिएमसी (रिभर क्लिनर मोनिटरिङ सिस्टम) नामक एप राखिएको छ।

समितिका सदस्य सचिव तथा वाग्मती सुधार आयोजनाका आयोजना प्रमुख रवीन्द्र बोहराले भने कुनै कर्मचारीले असम्बन्धित ठाउँबाट हाजिरी गरेको देखिएमा तत्काल कारबाही हुने बताए। ‘पहिलोपटक गल्ती गर्दा सचेत गराउँछौं। दोस्रोपटक पनि यस्तै गल्ती गरे कारबाही गर्छौ’, उनले भने। मोबाइलबाट हाजिरी गर्ने व्यवस्थाको दुरुपयोग नहोस् भनेर प्रभावकारी रूपमा अनुगमन गरिरहेको उनले बताए। ‘कसैले बेइमानी नगरोस् भनेर हामीले सुपरभाइजरसमेत पठाएका हुन्छौं’, उनले भने।

२०७९ असोजदेखि पुससम्म समितिका सदस्य सचिव तथा वाग्मती सुधार आयोजनाका आयोजना प्रमुख रहेका सुवास बस्नेतले भने आफ्नो कार्यकालमा मोबाइलबाट हाजिरी गर्ने प्रणाली खारेज गर्न लागेको बताए।

‘यो प्रणाली शुद्ध छैन भन्ने ठानेर नै यसलाई खारेज गर्न खोजेको थिएँ। यसलाई खारेज गर्न प्रक्रिया अघि बढाउन लागेका बेला मेरो सरुवा भयो’, उनले भने।  

मोबाइलबाटै हाजिरी गर्ने सुविधा भएपछि ज्यालादारी तथा करारमा कार्यरत अधिकतर कर्मचारी कार्यालय नजाने गरेको, केहीले फिल्डमा नगईकन घरबाटै फिल्डमा भनेर हाजिरी गरेको, केही कर्मचारीले काठमाडौं बाहिर गएका बेला पनि फिल्डमा गएको भनेर हाजिरी गरेको जस्ता उजुरी सहरी विकासमन्त्री सीता गुरुङको सचिवालयमा परेका छन्।

एक उच्च कर्मचारीका अनुसार कुनै बेला मन्त्री, सचिव र आयोजना प्रमुखले समितिलाई नातागोता भर्र्ना केन्द्र बनाउँदा विकृति बढेको हो। हरेक मन्त्री र सचिवले समिति र आयोजनामा करार तथा ज्यालादारीमा आफ्ना मान्छे भर्ना गरेका छन्। ‘कसैलाई हटाउन मिल्दैन,’ ती कर्मचारीले भने, ‘१ सय ७० जना कर्मचारी कार्यालयमा आएर के गर्ने? कमसेकम फिल्डमै गएको त देखाएका छन्।’

समिति र आयोजनामा अस्थायी, ज्यालादारी तथा करारमा कर्मचारी भर्ना गर्दा सधैं विवाद हुने गरेको छ।

२०७९ असोजदेखि पुससम्म समितिका सदस्य सचिव तथा वाग्मती सुधार आयोजनाका आयोजना प्रमुख रहेका सुवास बस्नेतले भने आफ्नो कार्यकालमा मोबाइलबाट हाजिरी गर्ने प्रणाली खारेज गर्न लागेको बताए।

सहरी विकासमन्त्रीको सचिवालयमा कार्यरत एक कर्मचारी भन्छन्, ‘अधिकार सम्पन्न एकीकृत वाग्मती विकास समिति तथा वाग्मती सुधार आयोजनामा अस्थायी, ज्यालादारी र करारका कर्मचारी भर्ना विषयले हामीसमेत हैरान भइसक्यौं। हरेक दिन उजुरी आउँछन।कति हेर्ने ?’

समितिका अनुसार वाग्मती सुधार आयोजनामा नदी सहायक, इन्जिनियर, समाजशास्त्री, सुपरभाइजर, सहायक सुपरभाइजर, सामाजिक परिचालक, ढल सहायक, सहायक सामाजिक परिचालकलगायतका पद छन्। जसमध्ये नदी सहायकको काम वाग्मती र उपत्यकाका अन्य नदी सफा गर्नु हो।  

प्रकाशित: ४ असार २०८० ०१:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App