७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

घरभाडा आधा घटाउन घरधनीलाई अपिल

नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति भाडा घटाउन अनुरोध गर्दै। तस्बिरः सन्देश÷नागरिक

नेपाल राष्ट्रिय घर भाडा सरोकार समिति कास्कीले घर भाडा ५० प्रतिशतसम्म घटाउन आह्वान गरेको छ। घर भाडा दिने र लिने अर्थात् घरधनी र घर बहालमा बस्ने दुवैको साझा संस्थाका रुपमा रहेको नेपाल घर भाडा सरोकार समितिको कास्की शाखाले घरधनीलाई घर भाडा २५ देखि ५० प्रतिशतसम्म घटाउन आह्वान गरेको हो।

आर्थिक मन्दी र बैंकको चर्को ब्याजदरका कारण अर्थतन्त्र चलायमान नहुँदा त्यसको असर व्यापार, व्यवसायमा पर्दा आर्थिक कारोबार घटेकाले अहिलेको घर भाडा तिर्न सक्ने स्थिति नरहेको समितिको भनाई छ।  

‘आर्थिक मन्दी र चर्को ब्याजदरले व्यापार व्यवसाय चौपट भएको छ,’ समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘यही कारण व्यवसायी व्यवसाय छाडेर पलायन समेत भएका छन्। कतिपय व्यापारीले त आत्मदाहसम्म गरेका छन्।’ समितिले पोखरामा हाल २५ देखि ३० प्रतिशत व्यवसायी पलायन भइसकेको बताएको छ। व्यवसायी पलायन हुनुको कारण घर भाडा तिर्न नसक्नु नै भएको समितिको ठहर छ। घर भाडा नघटे पलायन हुनेको प्रतिशत बढेर ५० प्रतिशत पुग्न सक्ने समितिका अध्यक्ष कमलप्रसाद न्यौपाने बताउँछन्।

समितिले यस्तो भयावह स्थितिमा पनि केही घरधनीले घर भाडा वृद्धि गरेको भन्दै सो निर्णय फिर्ता लिन अपिल गरेको छ। ‘विषम परिस्थितिमा सम्झौता अनुसार नै घर भाडा वृद्धि गर्नुपर्ने भए पनि अहिले वृद्धि नगर्न, वृद्धि गरिसकेको भए फिर्ता लिन हामी अपिल गर्दैछौं,’ विज्ञप्तिमा भनिएको छ।

समितिले घर भाडा नघटाए त्यसको परिणाम राम्रो नहुने चेतावनी दिएको छ। व्यवसाय नचलेका कारण घर भाडा तिर्न नसकिरहेको अवस्थामा घर भाडा नघटाउने हो भने व्यवसायी पलायन हुने र सोही कारण सहरका धेरै सटरहरु खाली हुने स्थिति आउने समितिको चेतावनी छ। ‘त्यसैले त्यस्तो अवस्था आउन नदिनका लागि घरधनीहरुले राहतको प्याकेजका रुपमा घर भाडा ५० प्रतिशतसम्म घटाउने निर्णय गर्नुपर्ने जरुरी देखिन्छ। व्यवसायी पलायन हुन नदिन पनि भाडा घटाउनुपर्ने समितिको भनाई छ।  

समितिका अध्यक्ष न्यौपानेले संकटबाट निस्कन घरधनी र घर बहालमा बस्ने सबै एकजुट हुनुपर्ने बताए। ‘जसरी हामी भूकम्प र कोरोनाका समयमा एकजुट भएर संकट विरुद्ध लड्यौँ, आज फेरी त्यसरी नै एकजुट भएर अघि बढ्नुपर्नेछ,’ उनले भने।

अध्यक्ष न्यौपानेले घर भाडा समयमै नतिरेको भए पनि अहिलेको परिस्थितिलाई बुझेर व्यवसायीलाई घर खाली गर्नका लागि बाध्य नपार्न घरधनीलाई आग्रह गरे। उनले भने,‘परिस्थिति सहज नभएसम्म बाचौँ र बचाऔँ भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै सबैको हित हुने गरी विकल्प खोजौँ।’

समितिका निवर्तमान अध्यक्ष तथा राष्ट्रिय घर भाडा सरोकार समितिका केन्द्रीय उपाध्यक्ष यमनाथ पौडेलले घर भाडा तिर्न नसकेर व्यवसायी विस्थापित हुने अवस्था आउन नहुने बताए। ‘घर भाडा थोरै घटाऔँ, बहालमा बस्नेले पनि सहजै तिरौँ’  उनले भने।समितिका उपाध्यक्ष उमपती ढकाल र महासचिव कृष्णप्रसाद चापागाईंले घरधनी र बहालमा बस्नेबीच सुमधुर सम्बन्ध हुनुपर्ने र समस्यामा पर्दा आपसमा मिलेर संकट टार्नुपर्नेमा जोड दिए।

प्रकाशित: ३१ जेष्ठ २०८० ०८:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App