५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

भरतपुरका २९ वटै वडामा स्वास्थ्य संस्था

भरतपुर महानगरपालिकाले सबै वडामा स्वास्थ्य संस्था पु¥याएको छ। जनप्रतिनिधि आएपछि भरतपुरका २० वटा वडामा स्वास्थ्य कार्यालय थपिएका हुन्।

‘हामी निर्वाचित भएर आउँदा २० वटा वडामा स्वास्थ्य कार्यालय नै थिएनन्। एक वडा एक स्वास्थ्य कार्यालयको नीति नै बनाएर सबै वडामा कार्यालय स्थापना गरेर सेवा सुरु गरेका छौँ,’ भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भनिन्, ‘एक, दुई वर्षमा स्वास्थ्य संस्थाका भवन समेत निर्माण हुन्छन्।’

सामान्य प्राथमिक उपचारका लागि पनि भरतपुर आउनुपर्ने बाध्यता थियो। अहिले प्रयोगशाला समेत थप गर्दै लगिएको उनले बताइन्।

भरतपुर महानगरपालिकामा २९ वटा वडा छन्। स्वास्थ्य कार्यालयहरु वडा वडामा आउँदा जनतालाई धेरै सुविधा भएको भरतपुर २४का वडाध्यक्ष राम कुमार गोदार बताउँछन्। ‘भरतपुर महानगरपालिका २४का जनता आधारभूत स्वास्थ्य सेवा लिन १२ किलोमिटर टाढा जानुपद्थ्यो। यो बाध्यता हटेको छ,’ अध्यक्ष गोदारले भने, ‘यहाँका जनता प्राथमिक उपचार लिन पार्वतिपूर पुग्नुपर्दथ्यो।’ मगर संघको कार्यालयबाट स्वास्थ्य सेवा सञ्चालन गरेको वडा नम्बर २४ले मंगलबार आफ्नै कार्यालयबाट सेवा सञ्चालन गरेको छ।

महानगरपालिका भित्र ४० वटा स्वास्थ्य संस्था छन्। त्यसमध्ये आठ वटा स्वास्थ्य संस्थाको आफ्नो भवन छैन। आफूहरु आएपछि १० वटामा स्वास्थ्य संस्थाको भवन निर्माण गरेको दाहालले बताइन्। जनप्रतिनिधि आएपछि भरतपुर ४, ११, १५, २१, २२, २३, २४, २५, २८ र २९ नम्बरमा भवन निर्माण भएको छ। त्यस्तै ४ वटा वडामा कार्यालय निर्माणको चरणमा छ। जसमा भरतपुर ७, ५, २० र १३ नम्बर वडामा भवन बनिरहेका छन्। भरतपुर २, ३, १० नम्बर वडामा अझै आफ्नै भवन छैन। यहाँ वडा कार्यालय, आश्रम र भाडाका घरबाट स्वास्थ्य सेवा प्रभाह भएको छ। यस वडामा भवन बनाउनका लागि जग्गा खोज्ने काम भइरहेको स्वास्थ्य शाखाका प्रमुख दिपक सुवेदीले जानकारी दिए। ‘सबै वडामा आफ्नै भवन छैनन्। तीन वटा वडामा जग्गा खोजिरहेका छौँ,’ उनले भने, ‘अर्को वर्षसम्म प्रकृयामा जाला।’

भरतपुरमा चिकित्सक सहितको प्राथमिक स्वास्थ्य केन्द्र एक वटा रहेको छ। शिवनगरमा रहेको यस केन्द्रमा प्रयोगशाला समेत छ। स्वास्थ्य चौकी १३, आधारभूत स्वास्थ्य केन्द्र १४, स्वास्थ्य केन्द्र तीन वटा (५, १५ र २३ नम्बर वडा), आयूर्वेद अस्पताल छ (१, ४, १८, २२ २७ र २९ नम्बर वडा), स्वास्थ्य क्लिनिक दुई वटा र सामुदायीक स्वास्थ्य इकाई एक वटा रहेका छन्। सामुदायीक स्वास्थ्य इकाई भरतपुर २९ को चौकीडाँडामा रहेको छ। १३ वटा स्वास्थ्य चौकी मध्ये नौ वटामा प्रयोगशाला समेत छ।

महानगरपालिकाको स्वास्थ्य संस्थामा दुई सय ३२ जना कर्मचारी छन्। एउटा स्वास्थ्य चौकीमा ७ जना कर्मचारीको दरबन्दी छ। त्यस्तै आधारभूत स्वास्थ्य केन्द्रमा ३ जनाको दरबन्दी हुने सुवेदीले बताए।  

प्रकाशित: ३० जेष्ठ २०८० १२:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App