६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

‘प्रदूषण रोकथाम र न्यूनीकरणका लागि बजेट अपुग’

वातावरण तथा ऊर्जा क्षेत्रमा कार्यरत ९ संस्थाले सरकारले हालै सार्वजनिक गरेको बजेटमा वातावरणको विषयलाई प्राथमिकताको रूपमा चर्चा गरे पनि स्वच्छ हावा प्रवद्र्धन तथा वायु प्रदूषण रोकथाम र न्यूनीकरणका लागि बजेट अपुग रहेको प्रतिक्रिया दिएका छन्।  

वातावरणीय न्याय साथै स्वच्छ हावा अधिकारका लागि सन् २००४ देखि कार्यरत क्लिन एयर नेटवर्क नेपाल एवं नागरिक समाजका अन्य ८ संघ–संस्थाले बजेटका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सरकारले वन डडेलोको जोखिम न्यूनीकरण लागि प्रदेशसँगको सहकार्यमा सामग्री खरिद र तालिम कार्यक्रम सञ्चालन गर्ने गरेको सन्दर्भमा प्रत्येक प्रदेशमा १-१ वटा अग्नि नियन्त्रण हेलिकोप्टरको व्यवस्था गर्न र त्यसको उचित प्रयोगको आवश्कतामा यी संघसस्थाले जोड दिएका छन्।

यसैगरी, सरकारले इलाम, मुस्ताङ, दाङ, र अछाममा वायु गुणस्तर मापन केन्द्र विस्तार गर्ने योजना सार्वजनिक गरेको छ। यद्यपि, हाल देशका विभिन्न भागमा राखिएका वायु गुणस्तर अनुगमन स्टेसनहरू बिग्रिएकाले यी उपकरणको उचित व्यवस्थापन भएपश्चात मात्र यसतर्फ ध्यान दिन एवं सस्तो दरका सेन्सर प्रवद्र्धन गर्न र संकलित तथ्यांकको पनि उचित प्रयोग गर्न आग्रह गरेका छन्।  

सरकारले पेट्रोलियम पदार्थको भण्डारण क्षमता वृद्धि गर्ने दोहोरो नीति सार्वजनिक गरेकोमा आपत्ती जनाउँदै भण्डारण क्षमता वृद्धि गर्नुको सट्टामा पैदल यात्रु, साइकल तथा विद्युतीय सवारीलाइै प्रवद्र्धन गर्न नमुना सहरी गतिशीलता गुरुयोजना बनाउन र कार्यान्वयन गर्न यस सञ्जालले अनुरोध गरेकोछ।  

‘विद्युतीय सवारीसाधनको प्रयोगलाई बढाउने गरी निजी क्षेत्रसमेतको लगानीमा चाजिङ स्टेसनको विस्तार गर्ने भनिए पनि सार्वजानिक यातायातसम्बन्धी स्पष्ट प्रतिबद्धता र कार्यक्रम आउन सकेको छैन,’सञ्जालले आफ्नो वक्तव्यमा भनेको छ। विद्युतीय सवारीमा लगाइएको अव्यावहारिक करको दायरालाई फराकिलो बनाई सबै विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्न, न्यूनतम कर मात्र लगाउने व्यवस्था गर्न पनि सञ्जालले अनुरोध गरेको छ।  

वायु गुणस्तरका दृष्टिले नेपाल विश्वकै तेस्रो सबैभन्दा प्रदूषित मुलुक रहेको चर्चा गर्द सञ्जालले वायु प्रदूषण जोखिमको तथ्यांकलाई पनि बहुप्रकोपीय पूर्वचेतावनी राष्ट्रिय प्रणालीमा समावेश गरी यस्तो जोखिमका बेला अनिवार्य सतर्कता अपनाउन भनेको छ। सञ्जालले ‘डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागि प्रयोग गरिने किटनाशक विषादीले वायु प्रदुषणमा प्रभाव पार्ने भएकाले यस्ता अभियान सञ्चालन गर्दा वायु प्रदूषण नगराइकन सञ्चालन गर्न तथा वायु प्रदूषण शून्य गरी प्रयोग गर्न मिल्ने प्रविधिको मात्र प्रयोग गरीयोस्,’ सञ्जाले भनेको छ। यसैगरी प्लास्टिक झोला प्रतिबन्धमा कडाइ गर्न पनि सञ्जालले अनुरोध गरेको छ।  

संयुक्त वक्तव्य प्रकाशिन गर्ने सञ्जाल सदस्यमा स्वच्छ ऊर्जा नेपाल, वातावरण र जनस्वास्थ्य संस्था, राष्ट्रिय जनवकालत मञ्च नेपाल, युवा वकालत मञ्च नेपाल, जलवायुका लागि नेपाली युवा, चाँगुनारायण नगरस्तरीय स्वच्छ हावा सञ्जाल, नगरस्तरीय स्वच्छ वातावरण नागरिक समाज ललितपुर, चन्द्रागिरी नगरस्तरीय स्वच्छ वातावरण प्रर्वधन नागरिक सञ्जाल र काठमाडौं वायु गुणस्तर व्यवस्थापन नागरिक समाज सञ्जाल रहेका छन् ।

प्रकाशित: २९ जेष्ठ २०८० ०१:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App