६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

कटारी न्यायिक समिति मेलमिलापमा जोड दिँदै

कटारी नगर उपप्रमुख गीता खड्का । तस्विरः महेश्वर

कटारी नगर उपप्रमुख गीता खड्का न्यायिक समितिमा परेका मुद्धाहरु सकेसम्म मेलमिलाप गराउने पक्षमा लाग्दै आएकी छिन् । नगर न्यायिक समितिमा परेका मुद्धाहरु सकेसम्म मेलमिलाप गराउने प्रयासमा लाग्ने गरेको बताउने उनी दुवै पक्षलाई ‘जीत–जीत’ को अवस्थामा पुर्‍याएर पठाउने गरेको बताउँछिन् । 

०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह चुनावमा एमालेबाट उपप्रमुख विजयी खड्का जेठ १६ गते सपथ लिएयता स्थानीय सरकार सञ्चालन ऐन अनुसार न्यायिक समिति संयोजकको समेत जिम्मेवारीमा छिन् । बितेको १ वर्षको अवधिमा न्यायिक समितिमा परेका मुद्दामध्ये सकेसम्म मेलमिलाप गराउँदै दुवै पक्षलाई सन्तुष्ट पारेर पठाउने गरेको उनी बताउँछिन् । वर्ष दिन अवधिमा ५७ वटा उजुरीमाथि उनले न्यायिक विश्लेषण गर्दै मुद्धा किनारा लगाएको, जसमध्ये धेरैजसो मेलमिलापमा टुङ्ग्याएको अनुभव सुनाइन् । 

उपमेयर खड्काले आफ्नो कार्यकालको वर्ष दिनमा ५७ वटा परेका उजुरीमध्ये ७ वटाबाहेक सबै मिलाउने प्रयास गरेको बताईन् । उनका अनुसार जटिल खालका ७ वटा मुद्धा भने अदालततर्फ रिफर गरिएको छ । १५ वटा आफ्नै इजलासमा मिलाएको र २९ वटा उजुरीलाई मिलापत्रका लागि सम्बन्धित वडामै फिर्ता पठाइएको उनले बताईन् । अधिकतर उजुरी घरेलु हिंसा, जग्गा जमितिको साँध सँधियार किचलो, लैङ्गिक भेदभाव, लेनदेन, पारिवारिक झैझगडाका मुद्धाहरु आउने गरेको उनले बताईन्। 

‘न्यायिक समितिमा आउने मुद्धाहरु खास गरी यस्तै यस्तै प्रकृतिका छन्, धेरैजसो छिमेक र परिवारमा हुने किचलोसँग सम्बन्धित’ उपमेयर खड्काले भनिन् ‘तर, अधिकतर मुद्दालाई सकेसम्म दुवैतर्फ जीत महसुस हुने गरी मेलमिलाप गराउँदै आएको र मिल्दै नमिल्ने मुद्धाहरुलाई मात्र माथिल्लो निकायसमक्ष रिफर गर्ने गरिएको छ ।’ सकेसम्म न्याय सम्पादन गर्दा कसैले अन्याय महसुस नगरोस् र न्याय पाउनेले पनि आत्मसम्मान भएको महसुस गर्ने गरी फैसला गर्न चाहेको उनको भनाई छ । 

उपमेयर खड्काले न्याय सम्पादन कार्य वडा वडामै होस् भन्ने उद्देश्यले पछिल्लो समय वडा वडामा मेलमिलाप समिति गठन गरिएको बताईन् । जस अनुसार नगरपालिकाका १४ वटै वडामा मेलमिलापकर्ता नियुक्त गरेर स्थानीय स्तरमै न्याय सम्पादन गर्ने कामको सुरुवात भइसकेको छ । स्थानीयहरूबिच हुने असमझदारी, झैझगडा र किचलोलाई स्थानीय स्तरमै छलफल र बहस गरी त्यहीँ समाधान गर्ने उदेश्य अनुसार वडा वडामा मेलमिलापकर्ता नियुक्त गरिएको हो । वडामा नियुक्त मेलमिलापकर्ताहरूले दुवै पक्षलाई सँगै राखेर छलफल गराई वडामै मेलमिलाप गर्ने गराउने गरेका छन् भने त्यहाँ नमिलेका मुद्धाहरु मात्र नगर न्यायिक समितिसमक्ष रिफर भएर आउने गरेको छ। 

नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले न्यायिक समितिलाई सहज बनाउन तथा स्थानीय स्तरमै झैझगडा मिलाउने उद्देश्यले नगरपालिकाले चालु वर्षको सुरुवातमै मेलमिलापकर्ता नियुक्त गरेर वडा वडामा मिलापत्र गराउन थालेको बताए । वडामा खट्ने मेलमिलापकर्तालाई न्याय सम्पादन सम्बन्धी आवश्यक तालिमसमेत दिएर परिचालन गरिएको पनि उनले बताए । उपमेयर न्यायिक समिति संयोजकसँगै नगर अनुगमन समिति तथा राजश्व परामर्श समिति संयोजक समेतको जिम्मेवारी निर्वाह गर्नुपर्ने भएकाले वडागत रूपमै न्याय सम्पादन गर्दा सहज हुने भएकाले त्यसो गरिएको मेयर श्रेष्ठले बताए । भौगोलिक रुपमा ठूलो र अधिकतर भूभाग पहाडी भेग रहेकाले नगरपालिका धाउन समय र आर्थिक बोझ कम गर्न पनि वडामै न्याय सम्पादन गर्दा जनता र जनप्रतिनिधिलाई सहयोग पुग्ने उनको बुझाई छ। 

प्रकाशित: २७ जेष्ठ २०८० ११:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App