१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जुजुभाइले यसपालि जिब्रो नछेड्ने

भक्तपुर- आठ वर्षदेखि निरन्तर जिब्रो छेड्दै आएका मध्यपुरथिमिका जुजुभाइ बासं श्रेष्ठले यसपालि जिब्रो नछेड्ने भएका छन्। २८ वर्षमा पहिलोपटक २०६६ सालमा जिब्रो छेडेका उनले यसपटक जिब्रो नछेड्ने नागरिकलाई बताएका हुन्। 'यसपटक मैले जिब्रो छेड्ने कामलाई निरन्तरता दिन नसक्ने भएँं,' बिहीबार उनले भने, 'विशेष कारण मैले निरन्तर गर्दै आएको जिब्रो छेड्ने कामलाई यो वर्ष निरन्तरता दिन नसक्ने भएँं।'

३६ वर्षका चित्रकलाका शिक्षक जुजुभाइले जात्रालाई जीवन्तता दिन गत वर्षसम्म निरन्तर जिब्रो छेड्दै आएका थिए। उनले जिब्रो छेड्ने कामलाई निरन्तरता दिन छाड्ने घोषणासँंगै मध्यपुरथिमिमा चिन्ता छाएको छ। जिब्रो छेडाउने व्यक्तिको अभावमा जात्रा नै नचल्ने चिन्ता स्थानीयमा छाएको हो। यसअघिसम्म एक वर्ष जिब्रो छेडाएको व्यक्तिबाट वर्षैपिच्छे जिब्रो छेडाएर जात्रा चल्दै आएको थियो। यसअघि उनका बाजेले २२ पटकसम्म जिब्रो छेडेका थिए।

प्रत्येक वर्ष बिस्केट जात्राका क्रममा वैशाख २ गते भक्तपुरको मध्यपुरथिमि बोडेमा जिब्रो छेड्ने जात्रा हुन्छ। बिस्केट जात्राको क्रममा भक्तपुरको मध्यपुरथिमिमा विभिन्न जात्रा हुन्छन्। तीमध्ये जिब्रो छेड्ने जात्रा सबैभन्दा लोकप्रिय जात्रा हो। जात्रा अवलोकन गर्न मध्यपुरथिमिको बोडेमा हजारौंको भिड लाग्छ। जात्रा हेर्न मध्यपुरथिमिका विभिन्न टोलका मात्रै नभई भक्तपुर अनि काठमाडौं उपत्यकाका विभिन्न ठाउँंका जात्राप्रेमी आउने गरेका गर्छन्।

जात्राको दिन दिनभर बोडेमा जात्रालुको भीड लाग्छ। शरीरको संवेदनशील अंग जिब्रो छेडेर मनाइने जात्राका कारण यो अन्तर्राष्ट्रिय रुपमै चचित। बोडेको जिब्रो छेडाउने जात्रा लिच्छविकालदेखि चलिआएको मान्यता छ। किंवदन्तीअनुसार प्राचिनकालमा बोडेको निलबाराही दायाँबायाँं बस्ने भूतपिचासले बोडेवासीलाई दुःख दिन्थे। जनतालाई दुःख दिन नछाडेपछि तन्त्रमन्त्रले ती पिचासलाई आफ्नो बसमा पारे। त्यसपछि जनताले कसैले कपाल काटिदिए त कसैले जिब्रोमा सियो घुसाइदिए। अनेक दुःखपछि वेदना सहन नसकेर पिचासले कष्टबाट मुक्त गरे आफूले जुनसुकै काम गरिदिने वचन दिए। त्यसपछि सात वर्षसम्म जिब्रो छेड्नुपर्ने, कुनै पनि महामारी, अनिष्ट, अनिकाल, अनावृष्टि, अतिवृष्टि हुन नदिन वाचा गराइएको किंवदन्ती रहेको स्थानीय सञ्चारकर्मी रामकृष्ण शंखदेवले बताए। वाचाअनुसार सात वर्षसम्म पिचासले जिब्रो छेडे। पछि, जात्रालाई निरन्तरता दिन बोडेकै कोही व्यक्तिको जिब्रो छेड्न लगाइयो र हालसम्म यो परम्परा चालू छ।

यसक्रममा हालसम्म धेरैले जिब्रो छेडाइसकेका छन् तर हालसम्म १३ जनाको नामावली मात्रै छ। जिब्रो छेडाउने नामावली भएका १३ जनामध्ये तीन जना मात्रै जीवित छन्। गत वर्ष जिब्रो छेड्ने बासं श्रेष्ठसहित कृष्णचन्द्र बाग श्रेष्ठ र बुद्धचन्द्र बाग श्रेष्ठ मात्रै जीवित छन्।

जिब्रो छेड्ने क्रममा रगत बग्दैन। कुनै अशुभ भए मात्रै रगत बग्ने जनविश्वास रहिआएको छ।

प्रकाशित: ११ चैत्र २०७३ ०३:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App