६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

उपत्यकाको फरक फागु

काठमाडौं- फागुपूर्णिमाका दिन मनाइने फागू पर्वको काठमाडौं उपत्यकामा भने फरक प्रचलन रहेको छ। राजधानीमा फागुन शुक्ल अष्टमीकै दिनदेखि एक सातासम्म फागु पर्व मनाइन्छ। गत आइतबार काठमाडौंको वसन्तपुरमा चीर ठड्याएर फागुपर्व  मनाउन सुरु गरियो। रंगिचंगी कपडाका टुक्रा झुन्ड्याएको ३० फिट अग्लो चीर ठड्याएपछि फागु सुरु भएको मानिन्छ। छत्रे चीरमा झुन्ड्याइने कपडाले विभिन्न जातजातिको भेषभूषाको प्रतिनिधित्व गर्ने संस्कृति अन्वेषक पदम श्रेष्ठले बताए।

वसन्तपुरमा चीर ठड्याएर मनाइने होली लिच्छवीकालीन इतिहाससँग जोडिएको छ। उपत्यकामा प्रचलित कथनअनुसार ठमेलका व्यापारी सिंह सार्थवाहसहित सात सय व्यापारी तिब्बतमा व्यापार गर्न गएका थिए। व्यापारीलाई बाटामा सुन्दर युवतीको रुपमा प्रकट भएका राक्षेसनीले मारिदिन्थे। सिंह सार्थवाह मात्र बाँचेर काठमाडौं आइपुगेका थिए। उनको साथमा एक सुन्दर राक्षेसनी पनि आएकी थिई। सुन्दर युवती देखेपछि त्यतिबेलाका विशालनगरका राजाले विवाह गर्न चाहे। व्यापारी सिंह सार्थवाहले सचेत गराएपछि राजाले विवाह नगर्ने निर्णय गरे। त्यही रिसमा युवतीले दरबारमा वितण्डा गर्न लागी। पछि तान्त्रिक जालमा पारी सिंह सार्थवाहले तिनलाई मारिदिए। तिनै राक्षेसनीको प्रतीकको रुपमा चीर उठाएर फागु मनाउने प्रचलन सुरु भएको अन्वेषक पदम श्रेष्ठको 'नेपाल जात्रा संस्कृति' नामक पुस्तकमा उल्लेख छ।

वसन्तपुरको कुमारी घरको दाहिनेपट्टि ठड्याइएको चीर फागुन शुक्ल पूर्णिमाको दिन टुँडिखेलमा लगेर दहन गर्ने चलन  छ। 'चीरमा झुन्ड्याएका कपडाका टुक्रा रुन्चेरोग लागेका बच्चालाई लगाइदिँदा रोग निको हुने विश्वास काठमाडौंका नेवार समुदायमा रहेको छ,' श्रेष्ठले भने।

फागुपूर्णिमाकै बिहान इटुम्बहालबाट सिंगै राँगाको मासु र एक मुरी चामलको भात गुरुमापालाई चढाउने चलन छ।

त्यस्तै, भक्तपुरमा पनि फागुको फरक संस्कृति प्रचलनमा रहेको छ। भक्तपुरमा भीमसेनको लिंगको पूजा गरी फागु मनाइन्छ। फागुन कृष्ण अष्टमीका दिन दत्तात्रेयको तचपालमा रहेको भीमसेन मन्दिरमा काठको लिंग झुन्ड्याएर फागु पर्व सुरु गरिन्छ। यस दिन लिंगलाई भक्तपुरको विभिन्न टोलमा घुमाइन्छ।

संंस्कृतिविद् ओम धौभडेलका अनुसार लिंग घुमाइने भएकाले यसलाई 'लिंग स्वायेगु' भनिन्छ। 'भीमसेनकोे लिंगको रुपमा काठको लिंग र द्रौपदीको योनीको रुपमा रातो कपडालाई सँगै झुन्ड्याइने भएकाले यसलाई यौनको पर्व पनि भन्ने गरिएको छ,' उनले भने। भीमसेन व्यापारको देवता समेत भएकाले विशेष गरी व्यापारमा लागेका नेवारले लिंगको पूजा गर्ने चलन रहेको उनले बताए। भीमसेन मन्दिरको पाटीमा फागुभरि विभिन्न यौनभाव अभिव्यक्त गर्ने नेवारी भाषाका भजनसमेत गाउने चलन छ।

प्रकाशित: २७ फाल्गुन २०७३ ०३:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App