१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुल्न केही दिन लाग्ने (अपडेट)

बाग्लुङ- मध्यपहाडी लोकमार्ग अन्तर्गत जिल्लाको रिघा—७ मनेवामा पहाड  खस्दा अवरुद्ध भएको सडक सुचारु गर्न केही दिन लाग्ने भएको छ। पहिरोका कारण बाग्लुङ बुर्तिबाङ यातायात सम्पर्क विच्छेद भएको छ। आईतबार दिनभर सुख्खा पहिरो निरन्तर खसेका कारण सडक खुलाउने काम सुरु गर्न नसकिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गल्कोटका प्रहरी निरीक्षक अर्जुनध्वज अधिकारीका अनुसार आईतबार दिनभर पनि पहिरो खसेको छ। ‘आईतबार दिनभर नै पहिरो खसिरहेको छ,’ अधिकारीले भने,‘पहिरो खस्ने क्रम नरोकिएसम्म काम सुरु गर्ने अवस्था नै छैन।’पहाड नै पहिरोको रुपमा झरेको उनले बताए।

‘म अहिले पनि पहिरो नजिक छु, पहिरो झर्ने क्रम रोकिएको छैन,’ आईतबार बेलुकी उनले भने,‘दुई सय मिटर वरपर ओगट्नेगरी पहाड नै खसेका कारण पन्छाउन दुई तीन दिन लाग्ने देखिन्छ।’ आईतबार बिहान करिब ५:३० बजेको समयबाट खस्न शुरु गरेको पहिरोले दरमखोला समेत थुनेपछि त्यसको तलपट्टी खर्बाङ बजार र हाँडीखोला क्षेत्रका स्थानीय त्रसित भएका थिए। दरमखोला बिस्तारै ओभर फ्लो भएर बग्न शुरु गरेपछि अहिले खासै समस्या नभएको प्रहरीले जनाएको छ।

‘दुई सय मिटर वरपर ओगट्नेगरी पहाड नै खसेका कारण पन्छाउन दुई तीन दिन लाग्ने देखिन्छ।’

 ‘थुनिएको खोलाको पानी ओभर फ्लो भएर बग्न सुरु गरेको छ, त्यसैले त्यस्तो ठूलो खतरा छैन त्यै पनि सतर्कता अपनाउन भनेका छौं,’ अधिकारीले भने। पहिरोका कारण दुई घर जोखिममा परेका छन्। ‘स्थानीय मिनाकुमारी शाही र मनकुमारी शाहीको घर जोखिममा छ। उनीहरुलाई सुरक्षीत स्थानमा सारेका छौं,’ उनले भने। सडक भन्दा १ सय ५० फिट माथीबाट खसेको पहिरोले थुनिएको दरमखोलामा २०० मिटर लामो १५ मिटर गहिरो ताल बनेको छ।

दरमखोला हाईड्रो इनर्जी लिमिटेडले विद्युत उत्पादनका लागि पानी लैजान पाईप बिच्छ्याउने गरी लोकमार्गको कुनापट्टी खनेको र त्यही ठाउँबाट सुख्खा पहिरो खसेको मध्येपहाडी लोकमार्ग बाग्लुङ खण्डका डिभीजन इन्जीनियर बद्री शर्माले बताए । ‘पाईप बिच्छ्याउनका लागि अनुममति मागेका थिए, छेउमा भिर भएकाले कुनाबाट भित्ता खोपेर पाईप बिच्छ्याउन भनेका थियौं,’ ईन्जीनियर शर्माले भने,‘त्यही ठाउँबाट चट्टान सहितको पहिरो खसेपछि लोकमार्ग अवरुद्ध भएको हो ।’चट्टान सहितको पहिरो भएकाले सडक सुचारु गर्न केही दिन लाग्ने उनले बताए ।‘मैले त्यहाँ काम गरिरहेको निर्माण कम्पनी र हाईड्रो पावरलाई पनि सोधेको छु,’ उनले भने,‘पहिरो हटाउनलाई ५—७ दिन लाग्न सक्छ भन्ने आएको छ।’

प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले पहिरो रोकिना साथ सडक सुचारु गर्न डोजर तैयारी अवस्थामा राखिएको बताए । ‘पहिरो पन्छाउन डोजर तयारी अवस्थामा छ, तर पहिरो नरोकिँदा काम शुरु हुन सकेको छैन,’ प्रजिअ पाण्डेयले भने,‘पहिरो रोकिएपछि पनि तीन चार दिन लाग्न सक्छ।’ दरमखोला थुनिएपछि घोडाबाँधेबाट गएको नेपाली सेनाको टोली फर्किएको उनले बताए । ‘थुनिएको खोला आफै बग्न थालेपछि सेना फर्किएको छ, प्रहरीले त्यही बसेर अरु कुनै क्षति नहोस् भन्नेबारे सजगता अपनाएको छ,’ उनले भने।

करेन्ट लागेर एक महिलाको मृत्यु

पहिरोले विद्युतको पोल ढलेपछि करेन्ट लाग्दा एक महिलाको मृत्यु भएको छ। पहिरोबाट ढलेको विद्युत पोलबाट घरमा जोडिएको कालो तारमा आगो लागेपछि पानी हालेर निभाउने क्रममा करेन्ट लाग्दा अन्दाजी ५०—५५ वर्षीय मनकुमारी नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ। ‘पहिरोले विजुलीको पोल ढालेपछि कालो तारमा आगलागि भएको रहेछ,’ जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अनिलकुमार खड्काले भने,‘ आगोमा पानी हालेर निभाउने क्रममा करेन्ट लाग्न पुगेछ।’ करेन्ट लागेर घाईते भएकी नेपालीको उपचारको क्रममा इमरजेन्सी मेडिकल हलमा मृत्यु भएको उनले बताए। पहिरोले सात वटा बिजुलीको पोल ढलेपछि त्यस क्षेत्रमा विद्युत आपुर्ति समेत रोकिएको छ। 

 

प्रकाशित: २२ फाल्गुन २०७३ १२:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App